मकवानपुरगढी समाचारदाता
मकवानपुरगढी, भदौ ३१ गते । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनबाट बागमती प्रदेशको राजधानी हेटौँडामा रहेका एक दर्जनभन्दा बढी सरकारी संरचना ध्वस्त भएका छन् । आन्दोलनकारीले हेटौँडामा रहेका सरकारी संरचनामा खोजी खोजी आगजनी गरेका थिए । १४ वटा प्रदेश मन्त्रालय रहेकोमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालय मात्रै सुरक्षित छन् । वन तथा वातावरण मन्त्रालयमा आंशिक क्षति पुगेको छ ।
साउन २७ गतेबाट औपचारिक रूपमा सञ्चालनमा ल्याइएको बागमती प्रदेश सभाको नवनिर्मित भवन पूर्ण रूपमा जलेर खरानीमा परिणत भएको छ । १२ करोड २९ लाख रुपियाँमा निर्माण सम्पन्न भएको भवनमा तीन वटा मात्र बैठक सञ्चालन भएका थिए । आन्दोलनकारीले भवनमा आगजनी मात्र गरेनन्, प्रदेश सभामा रहेको एटिएम मेसिनसमेत फोडेका थिए ।
विभिन्न दलको कार्यालय रहेको प्रदेश सभामा कांग्रेस संसदीय दलको बाहेक अरू कुनै कार्यालय सुरक्षित छैनन् । प्रदेश सभा सुरक्षामा खटिएका प्रहरीका अनुसार नयाँ मात्र नभई प्रदेश सभाको पुरानो भवनमा पनि तोडफोड र आगजनी भएको छ । नवनिर्मित भवन पुनः सञ्चालन हुन सक्ने अवस्थामा छैन भने पुरानो भवनलाई मर्मत गरेर सञ्चालनमा ल्याउन सकिन्छ ।
दुई अर्बभन्दा बढीको क्षति
चितवन समाचारदाताका अनुसार आन्दोलनका व्रmममा भरतपुर महानगरपालिका कार्यालयमा करिब दुई अर्ब रुपियाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । महानगरपालिकाको मुख्य कार्यालयसहित २० वटा वडा कार्यालयमा प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका गर्दा सो क्षति भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले विवरण सङ्कलन गरिरहेका छौँ, प्रारम्भिक विवरणका आधारमा कम्तीमा दुई अर्ब रुपियाँ बराबरको क्षति भएको पाएका छौँ ।” भरतपुर महानगरपालिकाको कार्यालयमा आगलागीबाट पूर्ण रूपमा क्षति पुगेको छ । महानगरको स्वास्थ्य र कृषि कार्यालयमा सामान्य क्षति पुगेको छ । २९ वटा वडा कार्यालयमध्ये २० वटामा क्षति पुगेको छ भने केहीमा आंशिक क्षति भएको पौडेलले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत पौडेलले २६ वटा गाडी, पाँच वटा मोटरसाइकल र एउटा स्कुटर जलेर नष्ट भएको बताउनुभयो ।