• ६ जेठ २०८१, आइतबार

अवैध उत्खनन रोक्न ध्यानाकर्षण

blog

जलेश्वर समाचारदाता 

जलेश्वर, असार १४ गते  । महोत्तरी जिल्ला भएर बग्ने नदी तटीय क्षेत्रमा भइरहेको अनियन्त्रित र अवैध उत्खनन रोक्न जिल्ला समन्वय समितिलाई महìवपूर्ण भूमिका खेल्न ध्यानाकर्षण गराइएको छ । नवनिर्वाचित जिससका प्रमुखलगायत पदाधिकारीको पदभार ग्रहण कार्यक्रममा सरिक भएका सरोकारवालाले अनियन्त्रित र अवैध खोला उत्खनन कार्यलाई नियन्त्रण गर्न भूमिका खेल्न आग्रह गरेका छन् ।  

जिससले जिल्लामा चुरेको भावर क्षेत्रबाट बग्ने रातु, मरहा, अङ्कुसी, भब्सी, गडन्ता, ढोलन र बाकेलगायतका नदी तथा खोलाबाट बालुवा गिट्टी ढुङ्गा लगायतका नदीजन्य पदार्थको अवैध तरिकाले उत्खनन हुँदै आएकाले सो कार्य तत्काल रोक्न सरोकारवालाले जिसस पदाधिकारीलाई आग्रह गरेका छन् ।  

नदी र खोलामा भइरहेको अनियन्त्रित उत्खनन रोक्न अनुगमन गर्ने अधिकार समन्वय समितिकै रहेकाले समितिले चाहेको खण्डमा चुरे विनाश रोक्न सक्ने तर्क सरोकारवालाको छ । नदीको पुलपुलेसा, जङ्गल क्षेत्र, ग्रामीण बस्ती नजिक, खेतीयोग्य जग्गा नजिकै र खोलाको मुख्य बहाव क्षेत्रबाटै बालुवा ढुङ्गा खन्ने कार्यले अहिले पनि निरन्तरता पाउँदै आएको छ । 

लोकतान्त्रिक समाजवादी (लोसपा) नेपालका नेता शरतसिंह भण्डारीले जिल्ला समन्वय समिति प्रमुख तथा अन्य पदाधिकारीको पद ज्यादै महìवपूर्ण रहेको बताउँदै जिसस नवनिर्वाचित पदाधिकारीको काँधमा अवैध उत्खनन रोक्ने महìवपूर्ण जिम्मेवारी आएको बताउनुभयो । 

“जिल्ला भएर बग्ने नदीमा भइरहेको अनियन्त्रित र अवैध उत्खननको अनुगमन गर्न सक्ने अधिकार प्राप्त जिल्ला समन्वय समितिले चाहेमा चुरे विनाश तथा अवैध उत्खनन तत्काल रोक्न सक्छ,” लोसपा नेता भण्डारीले भन्नुभयो, “हरेक योजनाको अनुगमन गर्ने अधिकार जिससमा छ, मातहतका पालिकासँग समन्वय गरी चुरे विनाश तथा अवैध उत्खननका बारेमा कडा कदम उठाउनुपर्ने अहिलेको प्रमुख आवश्यकता हो ।” 

तराई मरुभूमीकरण भइरहेकाले आउँदो पुस्ताका लागि खेती गर्न जग्गा नबच्ने र सबै मरुभूमिमा परिणत हुने खतरा उच्च रहेकाले नदीको दोहन रोक्नुको अर्को विकल्प नरहेको उहाँले बताउनुभयो । अवैध उत्खननका कारण नै नदीको सतह हरेक वर्ष बढ्दै गएको र त्यसकै परिणाम स्वरूप जिल्लाको दक्षिणवर्ती क्षेत्रका बासिन्दालाई बर्सेनि बाढीको समस्याले सताउने गरेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले माथिदेखि नदीलाई सही चौडाइ र गहिराइमा खन्दै नदीको आकारमा ढाल्दै लगे मात्र नदी आफ्नो पुरानो स्वरूपमा फर्किने र यसले बाढीको जोखिम कम हुने तर्क राख्नुभयो । उहाँले नदीलाई पुरानो स्वरूपमा फर्काएर दुई तिरको तटबन्धमा सम्बन्धित पालिकाले आ–आफ्नो क्षेत्रमा पर्ने स्थानमा वृक्षरोपण गरेर तटबन्ध बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । 

यसैगरी मटिहानी नगरपालिकाको प्रमुख हरिप्रसाद मण्डलले चुरे संरक्षण र अनियन्त्रित तथा अवैध नदी उत्खनन रोक्न माग गर्नुभयो । “अनियन्त्रित चुरे दोहनले हामी दक्षिणतर्फका बासिन्दाले बर्सेनि समस्या भोग्दै आएका छौँ । बर्सेनि आउने बाढीले धनजन क्षति हुने गरेको, गर्मीयाममा खानेपानीको समस्या भोग्नुपरेको र खेतीयोग्य जमिन कटानको समस्या तीव्र रूपमा बढ्दै छ,” प्रमुख मण्डलले भन्नुभयो, “चुरे क्षेत्र उत्खनन गर्ने एउटाले अनि समस्या भोग्ने हामी सबै हौँ । त्यही भएर तत्काल उत्खनन कार्य रोकिनु पर्छ । यसमा जिससले गम्भीर भएर अग्रसरता लिनुप-यो ।”  जिसस प्रमुख सुमनकुमार कर्णलगायतका सबै पदाधारिकारीले आइतबार जलेश्वरमा आयोजित कार्यक्रममा पदभार ग्रहण गर्नुभएको थियो ।