• ३० भदौ २०८२, सोमबार

चोरी डकैतीको त्रास : रातभर स्थानीयको गस्ती

blog

गुलरियामा रात्रि गस्ती गर्दै स्थानीयवासी । तस्बिर : यज्ञप्रसाद सापकोटा

बुटवल/नेपालगन्ज/गुलरिया समाचारदाता

बुटवल, भदौ ३० गते  । जेनजी आन्दोलनपश्चात् प्रहरी प्रशासनको ध्यान आन्दोलन नियन्त्रणतर्फ केन्द्रित भएपछि तराईका विभिन्न जिल्लामा चोरी डकैतीका घटना बढेका छन् । रुपन्देही, बाँके र बर्दियाका ग्रामीण क्षेत्रदेखि सहरी टोलसम्म चोरीको त्रास फैलिएको छ । स्थानीय बासिन्दाले गाउँ गाउँमा गस्ती गर्ने, जाग्राम बस्ने र आफैँ सुरक्षा गर्ने अभियान थालेका छन् ।

चोर धपाए गाउँलेले

बुटवल समाचारदाता छवि पाण्डेका अनुसार रुपन्देहीका कञ्चन गाउँपालिका–१, लौसामा शनिबार राति १०/१२ जनाको अपरिचित समूह गाउँ पस्न खोज्दा गाउँका युवाले धपाएका छन् । स्थानीय टेकबहादुर थापाका अनुसार गाउँले युवा गस्तीमा रहेका बेला चोरको समूह गाउँमा पस्न लाग्दा तत्काल लखेटिएको थियो ।

त्यसै गरी जिल्लाको सियारी गाउँपालिका–५, दुर्गानगरमा मन्दिरभित्र चोरीको प्रयास भएको तर गाउँलेको सचेतताले चोरी गर्न आउने व्यक्ति भागेका छन् । सैनामैना नगरपालिकाका वडाध्यक्ष राजकुमार चौधरीले चाडबाड नजिकिँदै गर्दा चोरीका घटना बढेकाले सतर्क रहन आग्रह गर्नुभएको छ । इलाका प्रहरी कार्यालय सालझन्डीका प्रहरी निरीक्षक खगेन्द्र अधिकारीका अनुसार चोरी बढेको सूचनाका आधारमा रात्रि गस्ती बढाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले मातहतका कार्यालयलाई चोरी नियन्त्रणमा विशेष निर्देशन दिइएको बताउनुभयो ।

गाउँमा रात्रि गस्ती

गुलरिया समाचारदाता यज्ञप्रसाद सापकोटाका अनुसार बर्दियाको बढैयाताल गाउँपालिकामा स्थानीयले ‘आफ्नो सुरक्षा आफैँ’ भन्ने भावना अपनाउँदै रातभर गस्ती सुरु गरेका छन् । मैनापोखर बजारबाट सुरु भएको अभियान अहिले वडा नं. ३ र ६ मा फैलिएको छ । वडा नं. ६ का प्रेमराज त्रिपाठीका अनुसार सुरक्षाकर्मीको समन्वयमा आलोपालो गरेर रातभर गस्ती चलाइने गरिएको छ । गाउँमा भए, देखिएका घटनाको विवरण हरेक दिन प्रहरीलाई जानकारी दिने गरिएको छ । भारतसँगको सीमा र चाडबाडका कारण चोरी बढ्ने जोखिम देखिएपछि गाउँलेले यस्तो कदम चालेका हुन् । इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक राजेशकुमार साहुले स्थानीयको गस्तीले प्रहरीलाई झन् सहज भएको बताउनुभयो ।

जाग्राम र धम्कीपूर्ण पर्चा

नेपालगन्ज समाचारदाता सिराज खानका अनुसार नेपालगन्ज उपमहानगरका अधिकांश वडामा चोरीको त्रास बढेपछि स्थानीय रातभर जाग्राम बस्न थालेका छन् । वडाध्यक्ष समीरप्रताप सिंहका अनुसार चोरले खुला चुनौती दिँदै ‘चोरी गरेरै छाड्छौँ’ भन्ने धम्कीपूर्ण पर्चा टाँसेपछि सर्वसाधारण झन् त्रसित भएका छन् ।

उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष नन्दकिशोर कश्यपले वडावासी निकै डराएको जनाउँदै प्रहरी प्रशासनलाई सुरक्षा कडा बनाउन आग्रह गर्नुभएको छ । नेपालगन्ज–२१ मा मात्रै हालै छ घरमा चोरी भएको छ । सो घटनापछि यहाँका युवाले समूह बनाएर रातभर गस्ती गर्न थालेका छन् । नागरिक सरोकार समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले धम्कीपूर्ण पर्चा टाँस्नेलाई पक्राउ गरी सार्वजनिक गर्न माग गर्नुभएको छ भने उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले व्यवसायी त्रसित भएकाले प्रहरीले ठोस कदम चाल्नुपर्ने बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तीमगरले भने चोरीका केही छिटपुट घटना भए पनि हल्ला र अफवाह धेरै फैलिएको जनाउँदै सम्भावित क्षेत्र पहिचान गरेर राति थप सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो ।