• ३० भदौ २०८२, सोमबार

अदालतका कामकाज आजदेखि पुनः सुचारु हुँदै

blog

जिल्ला अदालत स्याङ्जा

अर्जुन काफ्ले
स्याङ्जा, भदौ ३० गते ।
देशभर चलेको जेनजीको आन्दोलनका कारण रोकिएको जिल्ला अदालत स्याङ्जाको कामकाज सोमबारदेखि पुनः सुचारु हुने भएको छ । आन्दोलनका क्रममा सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणालीसहित सर्भरमा क्षति पुगेपछि ठप्प भएको थियो ।

सार्वजनिक यातायात समेत अवरुद्ध भएकाले भदौ २६ गतेबाट अदालतबाट दिइँदै आएका सेवाहरू मध्ये अन्तिम हदम्याद मात्र बाँकी रहेका अभियोग, फिरादपत्र वा प्रतिउत्तरपत्र दर्ता, पक्राउ पुर्जी जारी, जरूरी पक्राउ पुर्जी स्वीकृत, म्याद थप र बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदन सेवा बाहेकका सम्पूर्ण सेवा स्थगित गरेको थियो ।

निमित्त स्रेस्तेदार रामप्रसाद पन्थीले परिस्थिति सामान्य बन्दै गएपछि स्याङ्जा अदालतले आजदेखि सबै कामकाज पूर्ववत् रुपमा पूर्ण रुपले सञ्चालन हुने बताउनुभयो ।

अदालतले मुद्दा दर्तादेखि प्रतिउत्तरपत्र बुझाउने प्रक्रिया, नियमित सुनुवाइ र अन्य प्रशासनिक सेवा सबै पुनः सुचारु हुने भएकाले सरोकारवालाहरूलाई जानकारी गराएको छ ।