• ३० भदौ २०८२, सोमबार

एक सय अठार कैदीबन्दी फर्किए

blog

धनगढी समाचारदाता

धनगढी, भदौ ३० गते । जेनजी पुस्ताको आन्दोलनका क्रममा कैलाली कारागारबाट फरार भएका ११८ कैदीबन्दी कारागारमा फर्किएका छन् । 

१५ महिलासहित ११८ कैदीबन्दी फर्किएको कारागार प्रशासनले जानकारी दिएको छ । भदौ २४ गते कारागारबाट ६६६ कैदीबन्दी फरार भएका थिए । उनीहरूमध्ये धेरै जसो आफैँ फर्केको र केहीलाई प्रहरीले पक्राउ गरेर ल्याएको जेलर चिरञ्जीवी सापकोटाले जानकारी दिनुभयो । 

कारागार प्रशासनले सार्वजनिक सूचना प्रकाशित गरेर फरार कैदीबन्दीलाई फर्कन आह्वान गरेको छ । यसै गरी प्रहरीले पनि फरार कैदीबन्दीको सूची तयार पारेर खोजी कार्य सुरु गरेको कारागार प्रशासनले जानकारी दिएको छ । 

“टीकापुरलगायतका क्षेत्रबाट प्रहरीले केही कैदीलाई पक्राउ गरेर बुझाएको छ,” सापकोटाले भन्नुभयो, “फरार अरूको पनि सूची तयार पारेर प्रहरीले खोजी कार्य गरिरहेको छ ।” कैलाली कारागारमा रहेका ६६७ मध्ये एक जनाबाहेक सबै कैदीबन्दी भागेका थिए । जसमध्ये केही भारतीय नागरिक पनि रहेका छन् । भागेको भोलिपल्ट नै केही कैदी फर्कने भन्दै कारागारको सम्पर्कमा आएका थिए । कैदीबन्दी फरार भएपछि कारागार सरसफाइ गर्नुका साथै पर्खाल मर्मतको कार्य गरिएको जनाइएको छ । साउन २३ गते राति ब्लक ‘ए’ का कैदीले पर्खाल भत्काएर ब्लक ‘बी’ मा रहेका कैदीमाथि आक्रमण गरेका थिए । विक्रम संवत् १९९७ मा बनेको कैलाली कारागारको अवस्था जीर्ण छ । विभिन्न अपराध गरेका कैदीबन्दी फरार भएपछि सर्वसाधारण त्रसित छन् ।