• ३० भदौ २०८२, सोमबार

जेनजी प्रदर्शन : राजविराज नगरपालिका कार्यालयमा ३० करोड क्षति

blog

राजविराज नगरपालिकामा आगलागीबाट क्षति भएको बारुणयन्त्रसहितका सवारी साधन । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ ३० गते ।
जेनजीको प्रदर्शनका क्रममा सप्तरीमा भएको क्षति विवरण सङ्कलन सुरु भएको छ । जिल्लामा भएको आगजनी र तोडफोडबाट सबैभन्दा बढी क्षतिग्रस राजविराज नगरपालिकामा विवरण सङ्कलनको काम सुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले कर्फ्यु हटाएपछि आइतबार नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको बैठकले क्षतिको यकिन विवरण सङ्कलन गर्ने काम सुरु गर्ने निर्णय गरेको थियो ।  निर्णय भएसँगै क्षतिको रकम यकिन गर्ने काम पनि प्राविधिकहरु मार्फत सुरु गरिएको छ ।

मङ्गलबार जिल्लामा भएको आगजनी तथा तोडफोडबाट सबैभन्दा बढी राजविराज नगरपालिका कार्यालयलाई क्षति पुगेको कार्यवाहक नगरप्रमुख इसरत परविनले बताउनुभयो ।

उहाँले जनताको करबाट बनेको संरचना र नगर स्थापना कालदेखि नै सुरक्षित राखिएका महत्त्वपूर्ण दस्तावेजहरु जलेर खरानी बनेको जानकारी दिनुभयो ।

यस्तो घटनाले आफूलाई निकै मर्माहत पारेको भन्दै उहाँले अब पुनर्निर्माणमा जुट्ने र बन्द हुन पुगेको सेवाहरु छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

नगरपालिकाको राजश्व फाँटका कर्मचारी शितल दासका अनुसार आन्दोलनको निहुँमा प्रदर्शनकारीहरुले गरेको तोडफोड र आगजनीबाट राजस्व फाँटमा विभिन्न दस्तुरबापत सेवाग्रहीहरुबाट प्राप्त करिब ११ लाख रुपियाँ नगद जलेर नष्ट भएको छ ।

नगरपालिकाका योजना अधिकृत मनोज यादवले ५ वटा ट्याक्टर, ३ वटा टिप्पर, २ वटा बारुणयन्त्र, एक–एक वटा जेसिबी, सेन्सन मेशिन जडान भएको गाडी, एम्बुलेन्स, कार, स्कारपियो र १५ वटा मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको जानकारी दिनुभयो । यस्तै विभिन्न फाँटमा राखिएका दर्जनौं ल्यापटप र कम्प्युटरहरु पनि जलेर खरानी भएको उहाँको भनाइ छ ।

अहिलेसम्म पूर्ण क्षति विवरण यकिन हुन नसके पनि नगरपालिकामा भएको ती सबै क्षतिको पूर्ति गर्न र पुर्ननिर्माण गर्न झण्डै ३० करोडभन्दा बढी रुपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

नगर स्थापना कालदेखि नै राखिएका रेकर्ड, फायल र प्रमाणहरु जस्ता महत्त्वपूर्ण कागजातहरु पनि जलेर खरानी भएको नक्सा फाँटका प्रमुख ओमप्रकाश साहले जानकारी दिनुभयो ।

आगजनीबाट कार्यालयको दुई तल्ले भवनको कोठाहरु मध्ये १८ वटा कोठा भवन पनि जलेर जीर्ण अवस्थामा पुगेको तथा कुनै बेला पनि भत्किने अवस्थामा पुगेको छ ।

जेनजी आन्दोलनका क्रममा राजविराज नगरपालिकासहित सघन सहरी, पूर्वाधार विकास, डिभिजन वन, जिल्ला अदालत, उच्च अदालत, हुलाक, नापी, निर्वाचन, यातायात सेवा कार्यालय लगायत नेकपा एमाले, नेपाली कांग्रेस, जनमत, जसपा नेपाल लगायतको पार्टी कार्यालय समेतमा तोडफोड र आगजनी भएको थियो ।  

जिल्लास्थित कार्यालयहरुको क्षति विवरण सङ्कलन गर्ने काम भइरहेको र केही दिन भित्रै विवरण आउने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।