टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), भदौ ३० गते । गुल्मीको घमिरमा भिषण पहिरो गएको छ । मालिका गाउँपालिका–७ घमिरको टुनिपाटामा गएको पहिरोबाट १२ घर जोखिममा परेका छन् । टुनिपाटा घमिर र छापको सिमाना हो । भदौ २७ गतेदेखि सुरु भएको पहिरोको नजिक बस्ती छ ।
बस्तीको माथिबाट पहिरो गएको र निरन्तर वर्षा भएकाले चार घरलाई सारेर छिमेकीकोमा राखेको स्थानीय मालिका गाउँपालिका–७ घमिरका डेमबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोबाट अनबहादुर रोका मगर, थम्मनबहादुर विक, पूर्णबहादुर विक र टिकाबहादुर विकको परिवार विस्थापित भएको छ । चार घर परिवार सबैभन्दा बढि पहिरोको जोखिममा रहेकाले स्थानीयकोमा आश्रय दिइरहेको खत्रीले बताउनुभयो ।
पहिरोले इस्मा गाउँपालिकाका विभिन्न गाउँहरुमा पुग्ने निस्ति गुराँसे–इस्मा खानेपानीको पाइपलाइन बगाएको छ । चार दिनदेखि खानेपानी अवरुद्ध भए पनि बर्सात भइरहेकाले मर्मत गर्ने अवस्था नरहेको इस्मा खानेपानी बोर्डका अध्यक्ष कृष्णप्रसाद रिजालले जानकारी दिनुभयो । यो पहिरो निकै ठूलो रहेको छ । सुख्खा पहिरो दिउँसोको समयबाट सुरु भएकाले ठुलो मानवीय क्षति नभएको स्थानीयले बताए ।
अहिले तत्काल स्थानीयलाई मानवीय क्षति हुनबाट जोगाउन विस्थापित परिवारको व्यावस्थापनको काम मात्रै भएको मालिका गाउँपालिका–५ का वडाध्यक्ष रेखा कुमार जिसीले बताउनुभयो ।