• ३० भदौ २०८२, सोमबार

विन्ध्यवासिनी हल छ वर्षदेखि बन्द

blog

कास्की, भदौ ३० गते । पोखराको पुरानो चलचित्र घर ‘विन्ध्यवासिनी हल’ विगत छ वर्षदेखि बन्द रहेको छ । पछिल्लो क्रममा चलचित्रले घाटाको व्यापार गर्न थालेपछि हल बन्द गरेको हल सञ्चालक बताउँछन् । हल सञ्चालक उत्तम द्धावका अनुसार चलचित्रमा दर्शकको सङ्ख्या घट्नु र नयाँ नआउँदा हल बन्द गर्नु परेको हो । 

“चलचित्रको गुणस्तरसँगै दर्शक सङ्ख्या पनि खस्केका कारणले हललाई बन्द गराएको हो । चलचित्रको व्यापारले हल सञ्चालन खर्च पनि धान्न सकेन,” उहाँले भन्नुभयो । उहाँका अनुसार कोभिडअघि नै हल सञ्चालन बन्द गरिएको हो । “दर्शक नयाँ मोडलका हलमा आकर्षित हुन थाले । पुराना हल मन पर्न छाड्यो । लामो समयदेखि हल बन्द छ । यसलाई कसरी अगाडि लैजाने भन्नेबारे निर्णय भएको छैन्,” उहाँले भन्नुभयो । २०४३ सालमा सञ्चालनमा आएको विन्ध्यवासिनी हलमा कुनैबेला नेपाली चलचित्रको लर्को लाग्ने गथ्र्यो । हलमा चलचित्रले ५१ देखि एक सय दिनसम्म व्यापार गर्थे । 

यसअघि पोखरामा चलचित्र चल्न छोडेपछि थुप्रै हल पूर्ण रूपमा बन्द भइसकेका छन् । दीपज्योति चलचित्र भवन, अन्नपूर्ण चलचित्र भवन, महालक्ष्मी चलचित्र भवन, पूर्णिमा हल, कल्पना सिनेमा हल चलचित्र चल्न छाडेपछि बन्द भएका चलचित्र घरहरू हुन् ।