एउटा कुवा छ
सदियौँअघि
बाजे/बराजु/जिजु/च्याब्जुले बनाएको
वरिपरि लेउ छ
र म भ्यागुतो
कुवाभित्रै
बाँचेको छु
नाचेको छु
कुनै विद्रोह नगरी ।
ट्वार ट्वार कराएको छु कुवाभित्रै
कठै
मेरो भाषा कसले बुझिदिने ?
मेरो आवाज कसले सुनिदिने
सुन्नेहरू बैरा भएपछि
बुझ्नेहरू नकच्चरा भएपछि
मेरो ट्वार ट्वारको के अर्थ हुन्छ ?
म त भ्यागुतो न हुँ
प्रत्येक क्षण
सर्पहरूबाट बाँच्नुपर्ने
जिन्दगीका सपनाहरू चपाएर ।
यो पुरानो कुवा
मेरा पुर्खाहरू खेले
बढे र बिलाए
उनीहरूलाई त रमाइलै थियो
सायद पुरानो कुवा पर्याप्तै थियो
भ्यागुतो हुनुको पीडा नबुझेरै
अर्को कुवामा फुत्त फालहान्न सकेनन्
जीवनको जिजीविषा कोट्याएर ।
लेदोले पुरिसक्यो कुवा
म भ्यागुतो
कसरी बाँच्ने हो जुनकिरी ?
हिजो पनि
एउटा सर्प फणा उठाउँदै थियो
र म त्रस्त भएर
मेरो जिन्दगी बचाउँदै थिएँ
रात पर्छ
झ्याउँकिरी कराउँछन्
र मात्रै मेरो जीवनको इतिहास सुरु हुन्छ ।
कुवा छ, लेउ छ
लेदो छ, म छु
र कुवाभित्रको संसार छ
म त्रासले बाँचिरहेछु
सर्प आतङ्कबाट ।
म भ्यागुतो हुनुको अर्थ
उभयचर वर्गमा पारिएको छु
मलाई अचम्म लाग्दै छ
मान्छेहरूको संसार
मान्छे, मान्छे जस्ता छैनन्
नरपशुको व्यवहार देखाउँदै
कुवा अतिक्रमण गर्छन्
म कुवा रक्षार्थ तैनाथ छु
भ्यागुतो हुनुको नाता
कुवासँग मेरो साइनो पुस्तौँदेखि छ
जुनकिरी
मलाई उज्यालो देऊ
म अँध्यारोसँग लडी बस्छु
पुर्ख्याैली विरासतको विकल्पमा
पुरानो यात्राको पुनरवलोकन गर्दै ।