श्राद्धकर्मको उत्पत्ति मृत्युबाट हुन्छ । श्राद्धको मौसम बाह्रैमास भए पनि हिजोआज सोह्रश्राद्धको मौसम चलेको छ । यो आलेखले श्राद्ध–संस्कार वा यसको शास्त्रीय विधिविधानबारे केही पनि बोल्दैन, मात्र एउटा लासको वरिपरि घुमेर बाँचेका जीवनलाई देखाउन खोजेको छ । ‘गीता’ को उत्पत्ति मृत्युबिचबाटै भएको हो । माधव घिमिरेको ‘गौरी’ समवेदना प्रकट गर्ने शोककाव्य हो । यस्ता घटनाले मृतकप्रति श्राद्ध गरिने मात्र होइन श्रद्धापूर्ण संस्कृति र सभ्यताको विकास गर्न एवं अन्यको जीवन बाँच्नलाई सहयोग पु¥याएकै छन् ।
अमेरिकाका न्युरोसर्जन डा. पौल कलानिथि स्वयम् क्यान्सर–पीडित थिए । उनले जिन्दगीका प्रत्येक पलपलमा क्यान्सर रोगले डस्दै गर्दाको मृत्युपूर्वको अनुभूतिलाई मार्मिक तथा दर्शनयुक्त शीर्षक दिएर किताब पनि लेख्दै गए जसको नाम हो– ‘जब प्राण, वायुमा परिणत हुन्छ (ह्वेन ब्रेथ बिकम्स एयर, २०१६, ¥यान्डम हाउस र बोड्लीहेड)’ । विश्वमा सर्वाधिक बिक्रीमा पर्नेमध्येको पौलको मृत्यु गाथा समेटिएको यस पुस्तकले सायद उसका परिवारलाई बाँच्न भरथेग गरेकै होला । यो त एउटा उदाहरण मात्रै हो । यसरी संसारमा कसैको मृत्युका कारण करोडौँ जीवन बाँचिरहेको देखिन्छ ।
आर्यघाटमा शव
जीव जब अस्तित्वविहीन हुन्छ अनि बल्ल त्यहाँ पशुपतिको आर्यघाट वा कुनै पनि मसानघाटको अस्तित्व पैदा हुन्छ । मृत्युको पर्यावरणलाई सजीव बनाउने यी घाट लास देख्नासाथ उत्तिकै जीवन्त बनी बसेका हुन्छन् । घाटेवैद्यको प्रयासले आफन्तलाई आशावादी बनाए पनि अन्तिम–क्षणमा नपुगेसम्म रोगी त्यहाँ नपुग्ने हुँदा लगभग उसको पारमार्थिक चलान भइसकेको हुन्छ ।
शववाहनले गन्तव्यमा लास पु¥याउँछ । कात्रो, बाँस र फूलमालाको संयोगसँगै ब्रह्मनालको ओरालोमा पनि लासहरू लाम लागेका हुन्छन् । चिताको सजिसजाउ कला हेर्नलायक हुन्छ । घाटमा स्वजनको रोदन–व्रmन्दन हुन्छ । मलामीहरू केही समय गम्भीर हुन्छन्, मसान वैराग्य जाग्छ । एकैछिन पछि अर्थात् शवदहनका क्षणमा नै मलामीहरूका आफ्नै जीवन–लयका कथा कुथुङ्गीहरू चल्न थाल्छन् । यसरी सबैलाई लासले जागृत बनाइरहेको हुन्छ । त्यहाँ लास पोल्ने, आगो ठोस्नेको आफ्नै कहानी छ । उपस्थितको हाजिर छुट्ला कि भनेर मलामीमध्येकै एक दुई जनाले त्यसको मनिटर गरिरहेका हुन्छन् ।
हेर्दाहेर्दै तीन महिनापछि भए पनि बाकसमा घर फर्केका प्राणविहीन विप्रेषक र उनका शोकमग्न परिवारको ताँतीले वातावरणलाई उदास बनाइदिन्छ । मसिन चलाउने प्राविधिक सामान्य फूलमाला र अबिरको कर्म पछि लासलाई विद्युत्–रसेटोमा घचेटन व्यस्त हुन्छन् । पार्थिव शरीरलाई बिसाउने क्रममा आफूलाई निर्जीव बनाएर एउटा शव मसानघाट पुग्न पर्छ नै । लास पोलेर बाँकी बचेका र नदीमा फालिएका मुढा÷दाउरा समात्ने भष्मे डनहरू पनि त्यहाँ हुन्छन् । यी सबैलाई त्यहाँ आउने लासले नै पालन–पोषण गरेको हुन्छ ।
किरिया कर्म र व्यापार
सहरमा मसानघाटको वरपर नै काजकिरिया थलो हुन्छ, किरियापुत्री हुन्छन् । ज्वाइँ–भान्जा र बन्धुले थलो कुल्चनै पर्छ भनिन्छ । कर्म गराउने ब्राह्मण/पुरेत हुन्छन् । बिहानैदेखि किरियाथलो सक्रिय हुन्छ । १३ दिनसम्मको मृत्यु–संस्कारले वातावारणलाई जीवन्त बनाउँछ । किरियापुत्रीलाई चाहिने कपडा, ओढ्ने–ओछ्याउने र दानधर्मलाई चाहिने प्रेत शय्या, विष्णु शय्याको व्यापार चलेकै हुन्छ । गरुड पुराण भन्ने पण्डितले किरियापुत्रीलाई हुनसम्म डर देखाएर सातो लिएका हुन्छन् । निद्राले जुलुम भएका किरियापुत्री र आगन्तुकहरू दुई घण्टा मुस्किलले बिताउँछन् । जाँच दिनु नपर्ने पाँच दिनको यो श्रवण–कोर्समा केवल सहभागिता भए हुन्छ । यो सम्पूर्ण वातावारणको सर्जक लास नै हो ।
त्यहाँ मोटो रकम लिएर आफ्नो रोजगारी चलाएका पेसेवार भाडाका किरियापुत्री पनि भेटिन्छन् । विचार/भेटी पु¥याउनेले फलफूल, चामल, घिउ, खिच्रीमिच्रीको व्यापार राम्रै चलाइदिन्छन् । थलो कुल्चनु पर्छ भनेर बन्धुबान्धव, ज्वाइँ–भानिज फाल हाल्दै पुगेका हुन्छन् । यसैबिच बडेमानको साँढे पनि ‘म मरेको छैन’ भनेर आफ्नो अस्तित्व देखाउन ढलक ढलक गर्दै मलामी र दहन–सामग्रीलाई घचेट्दै बेपरबाह हिँडेको देखिन्छ । हनुमान बनेर दर्शनाभिलाषीबाट दक्षिणा हत्याउने काममा पनि कुनै अवतारी तल्लीन भइरहन्छ । पानी बेचेर जीविका गर्नेहरू, मन परे पनि नपरे पनि उठी उठी टीका धस्काइदिने भेन्डर–बाजेहरूलाई पनि काम पुगेकै हुन्छ । माला, फूलप्रसाद, ध्वजा, रुद्राक्ष, चन्दन, अबिर, अक्षता, बेलपत्र, धार्मिक किताब, जेरीपुरी र ज्योतिषका ग्राहक पनि उत्तिकै हुन्छन् । यो सबै लासकै कमाल हो ।
हिन्दुइतर मसानस्थलको अनुभव
केही वर्षअघि राष्ट्रसङ्घीय मिसन अन्तर्गत अफगानिस्तान पुगेको म घुम्ने क्रममा गाउँघरसँगै टाँसिएर बसेको एउटा चिहान परिसरमा पुगेँ । त्यहाँ भेडाबाख्रा चराउने केटाकेटीसँग रम्दै घुम्दै गएँ । इस्लाम तथा अन्य धर्मका अनुसार आफ्नो मृतव्यक्तिको चिहानमा पुगी सम्झना गर्दा आत्मशान्ति प्राप्त हुने विश्वास गरिन्छ । मलाई युरोप, अफ्रिका र अफगानिस्तानको चिहान परिसर अवलोकनपछि तर्साउने भूतप्रेत आदिको भय केवल मान्छेको मनभित्रको कुरा रहेछ जस्तो लाग्छ । उही वस्तु र अवस्थाले कतै कसैलाई भयभीत पार्ने र कतै त्यही नै सुखमय र शान्तिको विषय हुने यस्तो कसरी हुन्छ ? साँच्चै भन्ने हो भने मरेकासँग केको डर ? डर त जिउदासँग पो हुनुपर्ने हो, जो खुलेआम काटमार गर्दै हिँड्छ । एउटै सत्यमाथि दुई विपरीत तथ्य–विश्वास गरौँ कसरी, नगरौँ कसरी ?
अन्त्य–संस्कारमा संलग्नता
लास बोक्न अल्ली बलियो पनि हुनुपर्ने, अंश खानेले किरियाकर्म गर्नुपर्ने र महिला रजस्वला वा सुत्केरी हुने जस्ता कारणले संस्कारका काममा महिलालाई प्रयोग नगरिएको हुन सक्छ । परम्परागत कार्य विभाजनले महिलालाई भित्री र पुरुषलाई बाहिरी कामको जिम्मा दिएको कुरा भर्तृहरिको वैराग्य शतकबाट बुझ्न सकिन्छ, ‘धन भूमिमा नै रहन्छ, पशुहरू गोठमा नै बस्छन् । पत्नी घर–परिसरभित्रै हुन्छिन् । बन्धुबान्धव मसानघाटसम्म पुग्छन् । शरीर चितामा जान्छ । धर्मप्रति अनुराग राख्ने परलोक (स्वर्ग) मार्ग प्रस्थान गर्छन् ।’
नेपालमा धेरै युवा वैदेशिक रोजगारमा जाने हुँदा घरको दैनिक कामका अतिरिक्त हलगोरु चलाउने र दाहसंस्कारको काम महिलाले नै गर्नुपर्ने बाध्यता छ । अंशको हकदार छोरी पनि हुने भएपछि मसानघाट पुग्ने र आफ्नो बाबुआमाको किरियाकर्म पनि छोरीले नै गर्ने प्रचलन बढेको छ । प्रचलनले संस्कार जन्माउने वा संस्कारले प्रचलन कायम गर्ने हो यस विषयमा बहस जरुरी होला ।
जन्म र मृत्युको केन्द्र अस्पताल
आजको युगमा धेरै जसो व्यक्तिको जन्म र मृत्यु अस्पतालमै हुन्छ । कतिपय बेला मरेको लासले पोस्टमार्टम खोज्छ । युद्ध र प्राकृतिक विपत्मा परी मृत्यु हुनेको खोजखबर गर्न व्यक्ति, संस्था र सरकारको ठुलो धनराशि खर्च भएको हुन्छ । भन्दा नमिठो लाग्न सक्छ, यस अपरिहार्य व्यावसायिक कर्ममा संलग्न चिकित्सक, नर्स र अन्य प्राविधिक तथा श्रमिकलाई पाल्न पनि ‘लास’ ले सहयोग गरेकै हुन्छ । सुनिन्छ, युरोप, अमेरिकामा आफू मर्नुभन्दा पहिले आफ्नो चिहान आफैँले किन्नु पर्छ र जसले किन्न सक्दैन ऊ ‘चिहान पनि किन्न सकिनँ’ भनेर धुरु धुरु रुन्छ रे । मृत्यु सबैका लागि निर्दयी त अवश्य हुन्छ नै तर मृत्यु व्यवस्थापनको सोच मृत्युपूर्व नै राख्नु बुद्धिमानी हुन जान्छ ।
अन्त्यमा
मैले कतै पढेको प्रसङ्ग यहाँ उद्धृत गरौँ । पथप्रदर्शकले पर्यटकलाई समाधिस्थलको सयर गराउँदै थियो । त्यहाँ एउटा बोर्ड देखियो जसमा लेखिएको थियो–‘यो उनै व्यक्तिहरूको चिहान हो, जो आफू कहिल्यै मर्दिन भनी ठान्थे ।’ बाँचुन्जेल पद, पैसा र पावरको अभिमानले आफू कहिल्यै मर्दिन भनी ठान्नेहरूका लागि यो भनाइ ठुलै मुक्का हो । मसानघाटका करिब करिब सबै जसो चिहानको कुरो यही हो ।
मसानघाट वरिपरिका जति पनि व्यावसायिक क्रियाकलाप छन् प्रायः तिनीहरू तथ्याङ्क गणनामा नआउने, दर्ता नहुने, श्रममुखी हुने र समष्टिगत आर्थिक बजारका निम्ति पहिचानविहीन भई लुकेका हुन्छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले केन्यामा गरेको एक अध्ययन अनुसार खुद्रे प्रकृतिका यीलगायतका अन्य अनौपचारिक व्यापार–गतिविधिले कहिलेकाहीँ औपचारिक अर्थतन्त्रलाई पनि चुनौती दिइरहेको हुन्छ । अन्यत्रको कुरा छाडौँ, हाम्रा आँखाले नै देखेको वस्तुसत्यलाई हेर्दा साँच्चै नै एउटा लास यति शक्तिशाली हुँदो रहेछ कि उसले लाखौँ जीवनलाई बचाएको हुँदो रहेछ ।