• १३ साउन २०८१, आइतबार

जबज विश्वकै मार्गदर्शक सिद्धान्त बन्न सक्छ : महासचिव पोखरेल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार १३ गते ।  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको सिद्धान्त जनताको बहुुदलीय जनवाद  (जवज) विश्वकै मार्गदर्शक सिद्धान्त बन्न सक्ने बताउनुभएको छ । मदनको ७१ औं जयन्तीको अवसरमा प्रेस चौतारी नेपालद्वारा सोमबार यहाँ आयोजित जबज र अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरसंवाद कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो । 

“मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद, जनताको विश्वास जितेर जनताकै सेवा गर्ने विश्वकै नमुना सिद्धान्त हो, यदि यो कुनै विकसित देशमा प्रतिपादन भएको थियो भने विश्वकै मार्गदर्शन बन्न सक्थ्यो”, उहाँले भन्नुभयो ।

उहाँले विभाजित कम्युनिष्टलाई एकीकृत गर्दै विशाल कम्युनिष्ट पार्टी निर्माण गर्दै विश्वमा परिचित गराउने प्रभावशाली र प्रतिभावान नेताका रुपमा भण्डारी रहनुभएको बताउनुभयो । जबजका प्रतिपादक भण्डारी विश्वमा कम्युनिष्ट आन्दोलन कमजोर भइरहेकाबेला पूँजीवादीहरुले कम्युनिष्टलाई निरंकुश र क्रुर भनेर चिनाइरहँदा नेपालबाट शान्तिपूर्ण कम्युनिष्ट आन्दोलनको उज्यालो छरेर विश्वसामु नयाँ सिद्धान्त जबज प्रस्तुत गर्नु उहाँको दूरदृष्टि भएको महासचिव पोखरेलले बताउनुभयो ।  

उहाँले जबजको सिद्धान्त देशका अन्य दलहरुले पनि मार्गदर्शनको रुपमा पछ्याइरहेको दाबी समेत गर्नुभयो । हतियारबाट मात्र परिवर्तन सम्भव छ भन्ने तत्कालिन माओवादी अहिले शान्तिपूर्ण राजनीतिमा आउनुको प्रमुख कारण पनि भण्डारीकै राजनीतिक सिद्धान्त प्रमुख भएको उहाँले दाबी गर्नुभयो । मदन भण्डारीको सिद्धान्तकै कारण परम्परागत ढाँचाको आफ्नो संगठनलाई बदल्न माओवादी बाध्य भयो,’ उहाँले भन्नुभयो, “‘माओवादीको बहुपदीय ढाँचा त्यसैको कारण हो ।” 

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले विश्वबाटै कम्युनिष्ट व्यवस्था संकटको अस्थामा गुज्रिरहेकोबेला भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट अघि बढाएको चर्चा गर्नुभयो । मदन भण्डारीले ४१ वर्षको युवा उमेरमै धेरै कुरा सम्पन्न गरेर हामीबाट विदा हुनुभयो, उहाँले भन्नुभयो, “पार्टी नेतृत्वमा उहाँ जम्माजम्मी चार वर्ष मात्रै रहनुभयो । संसदीय राजनीतिमा उहाँ करिब दुई वर्ष मात्रै रहनुभयो । उहाँले छोटो समयमै नेपालको कम्युनिष्ट आन्दोलनलाई अन्तर्राष्ट्रियस्तरमा ध्यानाकर्षण गराउने काम गर्नुभयो ।” कर्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पनि सम्वोधन गर्नुभएको थियो ।