• १६ भदौ २०८१, आइतबार

नेप्से परिसूचक २३.८५ अङ्कले गिरावट

blog

काठमाडौं, असार १३ गते । साताको पहिलो दिन आइतबार ९४.९२ अङ्कले बढेको नेप्से परिसूचक सोमवार गिरावट आएको छ ।

लामो समय ओरालो लागिरहेको नेप्से आइतबार एक्कासी उच्च अङ्कले बढेको थियो । तर, सोमबार नेप्से परिसूचक २३.८५ अङ्क घटेर १९३३.१३ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.०२ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.९२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६४ अङ्कले घटेको छ ।

सोमबार कारोवारमा आएका २२९ कम्पनीको ५६ लाख ४१ हजार कित्ता शेयर २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपियाँ बराबरको खरिद बिक्री भएको छ । आइतबारको तुलनामा नेप्सेसँगै कारोवार रकममा समेत गिरावट आएको छ । आइतबार दुई अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.५१ प्रतिशत घटेको छ । 

नेप्से परिसूचक गिरावट आए पनि सोमवार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिवाईसी लघुवित्त र न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यता उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य १० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा १५ करोड ६५ लाख रुपियाँ बराबरको शेयर कारोबार गरेर नागरिक लगानी कोष शीर्षस्थानमा छ । हिमालयन डिष्टिलरीको नौ करोडभन्दा बढीको शेयर खरिद बिक्री भएको छ ।