• १३ असोज २०८१, आइतबार

वर्तमान सरकार गठनपछि सरकारी सञ्चारमाध्यमको पहुँचमा वृद्धि : सञ्चारमन्त्री कार्की

blog

काठमाडौं, असार १३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार गठन भएपछि सरकारी सञ्चारमाध्यमहरुको पहुँच वृद्धि गर्न महत्वपूर्ण काम भएको बताउनुभएको छ ।

सोमबारको राष्ट्रियसभाको दोस्रो बैठकमा विनियोजन विधेयकअन्तर्गत विविध शीर्षकमा सांसदहरले उठाएका प्रश्नको जवाफ दिनुहुँदै सञ्चारमन्त्री कार्कीले बाँकेको कोहलपुरमा आफ्नै छापाखाना स्थापना गरी गोरखापत्र प्रशासन सुरु गरिएको जानकारी दिनुभयो ।

यसबाट कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका गरी ३५ जिल्लामा गोरखापत्रको नियमित प्रकाशन पुगेको जानकारी उहाँले दिनुभयो । 

गोरखापत्रको प्रशासन छपाइमा स्वदेशी उद्योगहरुबाट उत्पादित न्यूजप्रिन्टको प्रयोग गर्न सुरु गरिएको उहाँले बताउनुभयो ।

यसैगरी, रेडियो नेपालको पहुँच कुल जनसङ्ख्याको ९२ प्रतिशतसम्म पुगेको जानकारी दिनुहुँदै उहाँले ओटिटी प्रविधिको प्रयोग गरी रेडियो नेपालका कार्यक्रमहरुलाई अनलाइन रुपमा उपलब्ध गराउन सुरु गराइएको जानकारी दिनुभयो ।

त्यस्तै, देशभित्र र बाहिर कम लागतमा नेपाल टेलिभिजनको पहुच विस्तार गर्न सेटलाइट सेवा प्राप्त गर्ने प्रक्रिया अगाडि सारेकाे जानकारी उहाँले दिनुभयो ।

हुलाक सेवालाई समयानुकूल बनाइ कार्यक्षेत्रको विस्तार गर्न र यसको समग्र पुनः संरचना अध्ययन गर्न सुरु गरिएको छ । 

सडक पूर्वाधारको विकास र विस्तारको आधारमा विद्ययमान डाँक रेखा पुनरवलोकनको कार्य अन्तिम चरणमा पुगेको छ । यसको आधारमा हुलाक कार्यालयहरुको सङ्ख्या र आवश्यक जनशक्तिको पहिचान गरिने जानकारी उहाँले दिनुभयो ।