• २५ भदौ २०८२, बुधबार

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

blog

१. सुडानको डार्फरमा एक हजार जनाभन्दा बढी मानिसको ज्यान जाने गरी भीषण पहिरो कहिले गएको हो ?

सन् २०२५ अगस्त ३१

२. नेपालमा पहिलो पटक एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण कहिले गरियो ?

विसं २०८२ भदौ ९ 

सामान्यतः एउटा व्यक्तिमा तीन पटकसम्म मिर्गौला प्रत्यारोपण गर्नु जटिल र चुनौतीपूर्ण मानिए पनि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले दुर्लभ मानिने प्रत्यारोपण सफलतापूर्वक गरेको । 

सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री लक्ष्मणकिशाोर चौधरीको तेस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको । 

सामान्यतः मिर्गौला प्रत्यारोपण एक पटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्ने गर्छ तर इम्युनोलोजिकल अस्वीकार, सङ्क्रमण, क्रोनिक अलोग्राफ्ट नेफ्रोप्याथीलगायतका समस्याले पहिले प्रत्यारोपण गरिएको मिर्गौला असफल हुन सक्ने सम्भावना रहेको हुन्छ । यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ तर तेस्रो पटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ मानिन्छ । 

 ३. जलवायु परिवर्तन र यसको प्रभावसम्बन्धी विश्व सम्मेलन (सिसिआई–२०२५) कहिले र कहाँ सम्पन्न भएको हो ?

विसं २०८२ भदौ २१–२३, काठमाडौँ

सम्मेलनमा विश्वभरबाट २१ देशका विज्ञ, वैज्ञानिक र प्राज्ञिक व्यक्तित्व गरी दुई सय प्रतिनिधिको सहभागिता रहेको ।

सम्मेलनमा नौ प्रमुख विषयवस्तु र ७० भन्दा बढी उपविषयमा छलफल केन्द्रित भएको । जसमा जलवायु विज्ञान, स्मार्ट कृषि, जैविक विविधता, विश्व तापक्रम वृद्धि, कार्बन उत्सर्जन, सामाजिक आर्थिक सहनशीलता, एआई उपकरणद्वारा जलवायु पूर्वानुमान, प्राकृतिक स्रोत व्यवस्थापन, विपत् जोखिम न्यूनीकरण तथा नीतिगत संरचना समेटिएका । 

४. आणविक हतियारमा प्रतिबन्ध लगाउनेसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सन्धि औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयनमा आएको हो ?

सन् २०२१ जनवरी २२

संयुक्त राष्ट्रसङ्घद्वारा यो सन्धि सन् २०१७ मा अनुमोदन गरिएको ।

नेपालका तर्फबाट सन् २०१७ मा आणविक हतियारलाई प्रतिबन्ध लगाउने सन्धिउपर समर्थन जनाउँदै हस्ताक्षर भएको ।

५. आइयुसियनद्वारा रातो सूचीमा राखिएको तारे कछुवा (इन्डियन स्टार टर्ट्वाइज) नेपालमा पहिलो पटिक कहिले फेला परेको हो ?

विसं २०८२ भदौ ३

कैलालीको जानकी गाउँपालिका–६ स्थित कर्णाली तटीय क्षेत्रमा रहेको वनक्षेत्रमा सो कछुवा फेला परेको । 

संवेदनशील अवस्थाको तारे कछुवालाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसियन) ले सन् २०१६ देखि रातो सूचीमा राखेको । 

यो कछुवा नेपालका लागि नयाँ प्रजाति रहेको । 

६. अफगानिस्तानमा आठ सयभन्दा बढी मानिसको ज्यान जाने गरी शक्तिशाली भूकम्प कहिले गएको हो ?

सन् २०२५ अगस्त ३१

सो भूकम्पमा परी २५ सयभन्दा बढी मानिस घाइते भएका । 

भूकम्पको केन्द्रविन्दु देशको पाँचौँ ठुलो सहर जलालाबादबाट २७ किलोमिटर टाढा र जमिनभन्दा आठ किलोमिटर तल रहेको । 

यस अघि सन् २०२२ मा अफगानिस्तानमा गएको भूकम्पमा एक हजार मानिसको ज्यान गएको थियो । 

७. सरकारले एक दशकपश्चात् पर्वतारोहणमा नयाँ शुल्कको व्यवस्था कहिलेदेखि गरेको हो ?

विसं २०८२ भदौ १६ 

सगरमाथासहितका हिमाल आरोहण गर्न नयाँ शुल्क लागु भएको । 

सन् २०१५ जनवरी १ देखि कायम भएको हिमाल आरोहण अनुमति शुल्क एक दशकपछि परिवर्तन भएको । 

बढाइएको शुल्क अनुसार विदेशी पर्यटकले अब वसन्तयाममा सगरमाथाको नियमित मार्ग (दक्षिणपूर्व) बाट आरोहण गर्न १५ हजार डलर बुझाउनुपर्ने छ । त्यस्तै शरद ऋतुमा आरोहण गर्न सात हजार पाँच सय डलर र शिशिर तथा वर्षा ऋतुमा तीन हजार ७५० डलर बुझाउनुपर्ने छ । हाल शरद ऋतुमा पाँच हजार पाँच सय डलर र शिशिर तथा वर्षा ऋतुमा दुई हजार पाँच सय डलर लिने गरिएको थियो । 

त्यस्तै सगरमाथाको दक्षिणपूर्वी मार्गबाहेक अन्यतिरबाट आरोहण गर्न वसन्त ऋतुमा १० हजार डलर, शरद ऋतुमा पाँच हजार डलर र शिशिर तथा वर्षा ऋतुमा दुई हजार पाँच सय डलर बुझाउनुपर्ने छ । 

नेपाली आरोहीका लागि सगरमाथा आरोहण गर्न वसन्त ऋतुमा एक लाख ५० हजार रुपियाँ, शरद ऋतुमा ७५ हजार रुपियाँ र बाँकी याममा ३५ हजार रुपियाँ कायम गरिएको छ । 

सगरमाथाबाहेकका आठ हजार मिटरभन्दा माथिका हिमालमा विदेशीका लागि वसन्तकालीन, शरदकालीन र अन्य याममा क्रमशः तीन हजार, एक हजार पाँच सय र ७५० डलर शुल्क निर्धारण गरिएको । 

८. सङ्घीय निजामती सेवा विधेयक–२०८० राष्ट्रिय सभाबाट कहिले पारित भएको हो ?

विसं २०८२ भदौ १७ 

राष्ट्रिय सभाबाट पारित विधेयकमा अवकाशलगत्तैको नियुक्तिका लागि दुईबर्से विश्राम अवधि (कुलिङ पिरियड) कायम हुने गरी राष्ट्रिय सभाले प्रतिवेदन पास गरेको । 

अतिरिक्त सचिव (१३ औँ तह) राख्नेसम्बन्धी व्यवस्थालाई राष्ट्रिय सभाले हटाएको । 

नासु (सहायक पाँचौँ) र सहसचिव (राजपत्राङ्कित प्रथम श्रेणी) मा खुला र अन्तरतह प्रतियोगिताद्वारा १०/१० प्रतिशत पदपूर्ति हुने प्रबन्ध गरिएको । अब नासु र सहसचिवमा खुलाबाट १०, अन्तरतह प्रतियोगिताबाट १० र बढुवाबाट ८० प्रतिशत पदपूर्ति हुने गरी व्यवस्था राष्ट्रिय सभाको प्रतिवेदनमा गरिएको ।

९. सिन्धुपाल्चोककै सबैभन्दा ठुलो १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको परीक्षण उत्पादन कहिलेदेखि भएको हो ?

विसं २०८२ भदौ १६ 

आयोजनाले भदौ अन्तिम सातादेखि व्यावसायिक उत्पादन गर्ने उल्लेख गरेको । 

आयोजना निर्माण सुरु भएको १४ वर्षपछि उत्पादन हुन थालेको । 

१२ अर्ब ३३ करोड लागत अनुमान गरिएकोमा समयमा आयोजना सम्पन्न हुन नसक्दा २२ अर्ब लागत पुगेको आयोजनाले जनाएको । 

१०. ‘कल्प’ महाकाव्यका सर्जक को हुन् ?

डा. नवराज लम्साल (विसं २०८२ भाद्र २० मा विमोचित) 

११. मुस्ताङको कोरला नाका व्यावसायिक रूपमा पहिलो पटक कहिलेदेखि सञ्चालनमा आएको हो ?

विसं २०८२ भदौ २३

यसअघि सिजनल रूपमा मुस्ताङका स्थानीयवासीलाई लक्षित गर्दै उक्त नाका सञ्चालन हुने गरेको थियो ।  

१२. सगरमाथा वृक्षरोपण महाअभियान कहिलेदेखि सुरु भएको हो ?

विसं २०८२ असार १४ (राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा)

महाअभियानका क्रममा हरेक वर्ष तीन करोड बिरुवा २० वर्षसम्म निरन्तर रोपण गरिने । 

सरकारले आगामी वर्षदेखि एकमहिने वृक्षरोपण अभियान चलाउने निर्णय गरेको ।

यस अभियानले कार्बन उत्सर्जन कम गर्ने, हिमालय र जैविक विविधताको संरक्षण गर्ने लक्ष्य राखेको । 

यस अभियानमा सङ्घ, प्रदेश र स्थानीय सरकारको सहभागिता रहने र यसलाई राष्ट्रिय पर्वका रूपमा मनाइने भएको । 

१३. संयुक्त राष्ट्रसङ्घद्वारा कुन वर्षलाई अन्तर्राष्ट्रिय धान वर्षका रूपमा मनाइएको हो ?

सन् २००४ 

१४. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान कति रहेको छ ?

२५.१६ प्रतिशत 

उद्योग क्षेत्रको योगदान : १२.८३ प्रतिशत

सेवा क्षेत्रको योगदान : ६२.०१ प्रतिशत 

१५. धिमाल युवा प्रतिभा पुरस्कार २०८२ कसलाई प्रदान गरियो ?

डा. सजना धिमाल 

उनी धिमाल समुदायबाट पहिलो चिकित्सक बन्न सफल भएकी । 

हरेक वर्ष असार २ गते सिरिजात पर्व समापनका अवसरमा यो पुुरस्कारबाट एक जना युवा प्रतिभालाई सम्मान गरिँदै आएको । 

१६. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालमा प्रतिव्यक्ति रुख सङ्ख्या कति रहेको छ ?

१११ (प्रतिव्यक्ति वनक्षेत्र : ०.२ हेक्टर)

१७. ३५ औँ नेटो सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

सन् २०२५ जुन २४–२५, नेदरल्यान्डको हेग 

३४ औँ सम्मेलन : सन् २०२४ जुलाई ९–११, अमेरिका

नेटोमा हाल ३२ सदस्य राष्ट्र रहेका । 

३२ औँ सदस्य राष्ट्र : स्विडेन (सन् २०२४ मार्च ७) 

१८. धनकुटा रत्न पुरस्कार २०८२ बाट सम्मानित हुने स्रष्टा को हुन् ?

झमककुमारी घिमिरे 

जीवन काँडा कि फूल, मान्छेभित्रका योद्धाहरू, सङ्कल्प, आफ्नै चिता अग्नि शिखातिरलगायत कृतिको स्रष्टा घिमिरे मदन पुरस्कारबाट समेत सम्मानित भएकी । 

१९. हाल नेपालमा चरा प्रजातिको सङ्ख्या कति रहेको छ ?

९०२ 

९०२ औँ चरा : साइबेरियाली राजपुत्रिका (साइबेरियन स्यान्ड प्लोभर)

९०१ औँ चरा : मालाबार ह्विसलिङ थ्रस

९०० औँ चरा : छोटो पुच्छ«े समुद्री (सर्ट टेल्ड सियरवाटर) 

२०. जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रको ३० औँ सम्मेलन (कोप–३०) कहिले र कहाँ हुने भएको छ ?

सन् २०२५ नोभेम्बर १०–२१, बेलेम, ब्राजिल

२१. कुन अवधिमा जन्मिएको पुस्तालाई जेनजी भनी चिनिन्छ ?  

सन् १९९७–२०१२ 

सन् १९९७ देखि २०१२ सम्मको अवधिमा जन्मिएका मानिसलाई ‘जेनरेसन जेड’ अर्थात्‌ ‘जेनजी’ भनेर चिनिने । 

यो डिजिटल युगको पुस्ता हो । सिकाइ, काम गर्ने तरिका र सोच्ने शैलीमा यिनीहरू स्वतन्त्र र प्रयोगशील देखिन्छन् । यो पुस्ताको व्यक्तिमा ग्लोबल दृष्टि र स्थानीय पहिचान दुवैलाई सँगै बोकेको पाइन्छ । 

२२. दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

विसं २०८२ भदौ २१, ललितपुर

‘एआई एन्ड डेभलपमेन्ट : ब्रिजिङ दी ग्याप, बिल्डिङ दी अपच्र्युनिटिज’ नाराका साथ सम्पन्न भएको हो । 

प्रस्तुतकर्ता : टङ्क केसी