• १३ असोज २०८१, आइतबार

सङ्घीय निजामती ऐन छिट्टै संसदमा दर्ता हुन्छ : सङ्घीय मामिला मन्त्री श्रेष्ठ

blog

काठमाडौं, असार १३ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले सङ्घीय निजामती ऐन छिट्टै संसदमा दर्ता गर्ने बताउनुभएको छ ।

सोमबारको राष्ट्रियसभा बैठकमा जारी विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री श्रेष्ठले प्रतिनिधिसभाको बैठक नियमित सञ्चालन भइरहेको भन्दै चाँडै संसदमा सङ्घीय निजामती ऐन दर्ता गर्ने बताउनुभयो ।

उहाँले अघिल्लो सरकारले ल्याएको सङ्घीय निजामती ऐन संसदबाट फिर्ता ल्याएकाले गठबन्धन दलहरुको महाधिवेशन तथा स्थानीय निर्वाचनको कारण रोकिएको बताउनुभयो । गठबन्धन दलहरुसँग समेत छलफल गरेर छिट्टै संसदमा ऐन दर्ता गराउने तयारी रहेको जानकारी मन्त्री श्रेष्ठले दिनुभयो ।

‘‘संघीय निजामती ऐन मन्त्री बन्नुभन्दा अगाडि संसद् अवरुद्ध भइरहेको अवस्था थियो । हतार भएकाले प्रतिनिधि सभाबाट फिर्ता लिने काम भएको थियो । जारी गर्ने प्रयत्न पनि भइरहेका थिए । तर राजनीतिक रुपमा त्यस्ता विषय वस्तुहरु अगाडि बढाउँदा सबै दलहरुको महाधिवेशन भएको थियो । त्यसपछि स्थानीय तहको निर्वाचन मिति तय भयो । त्यसपछि फेरि ल्याउन समस्या भयो ।,’’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘अहिले संसद सुचारु भइरहेको पस्थितिमा छिटोभन्दा छिटो संसदमा दर्ता गर्ने प्रक्रियामा जानेछौं । त्यसपछि सङ्घीय निजामती ऐनलाई ल्याउनेछौं  ।’’

मन्त्री श्रेष्ठले सङ्घीयतालाई बलियो बनाउनको लागि सङ्घीय मामिला प्रशिक्षण प्रतिष्ठान ऐन ड्राफ्ट भइरहेकाले केही दिनमा संसद्को दुई सदनमध्ये कुनै एकमा प्रस्तुत गर्ने तयारी भइरहेको बताउनुभयो ।