• ७ जेठ २०८१, सोमबार

ढल्केबर चार्जिङ स्टेशनले सवारी चार्ज गर्नमा सहज

blog

धनुषाको ढल्केवरस्थित चार्जिङ सेन्टरमा चार्ज गरिँदै विद्युतीय सवारी । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, असार १३ गते । धनुषाको ढल्केवरमा चार्जिङ स्टेशन राखेपछि पूर्व–पश्चिम राजमार्गमा गुड्ने विद्युतीय सवारीसाधनलाई चार्ज गर्न सहज भएको छ । गत फागुन महिनामा एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले ढल्केबरमा पहिलो पटक चार्जिङ स्टेशन राखेको हो । 

यहाँस्थित कोमल होटलमा राखिएको सो चार्जर ३२ किलोवाट क्षमताको डिसी र सात किलोवाटको क्षमताको एसी चार्जर छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ढल्केबरदेखि पश्चिम दुईभन्दा बढी किलोमिटर टाढा चितवन र त्यति नै दूरीमा पूर्वको विराटनगरमा चार्जिङ स्टेशन राखिएको छ । 

ढल्केबरदेखि १० किलोमिटर पश्चिम महोत्तरीको बर्दिवासमा डिसी चार्जर राखिएको भए पनि अर्थिङ्गको समस्याका कारण बेला–बेला बिग्रिनेगरेको चालकहरुको भनाइ छ । यस्तै बर्दिवास–काठमाडौं बीपी राजमार्गको मुलकोटमा चार्जिङ स्टेशन राखिएको छ । बीचमा कतै पनि चार्जिङ स्टेशन राखिएको छैन ।

होटल सञ्चालक रामप्रमोद साहले यहाँस्थित चार्जिङ स्टेशनमा दैनिक २५ देखि ३० वटासम्म गाडी चार्ज हुनेगरेको बताउनुभयो । प्रति युनिट १५ रुपियाँको दरले चार्जिङ शुल्क लिने गरिएको बताउँनुहुँदै एक पटकमा दुई वटा गाडीसम्म चार्ज गर्न सक्ने क्षमताको स्टेशन रहेको जानकारी दिनुभयो । 

यहाँ लाइन जाँदा पनि विकल्पका रुपमा जेनेरेटर जडान गरिएको छ । देशकै सबैभन्दा ठूलो विद्युत् प्रसारण लाइन नजिकै रहेकाले नियमित तथा सन्तुलित विद्युत् प्रवाह भइरहन्छ । अरु ठाउँजस्तो यहाँ भोल्टेज कम बढी र छिन–छिनमै लाइन कट्ने समस्या नरहेको होटल सञ्चालक साहले बताउनुभयो ।  

पूर्व–पश्चिम राजमार्गमा निजी मोटरसाइक र कार गरी दैनिक हजारौंको सङ्ख्यामा विद्युतीय सवारी गुड्नेगरेका छन् । यहाँ विद्युतीय सवारी चार्ज गर्ने सुविधा उपलब्ध भएपछि धेरैलाई राहत भएको विद्युतीय सवारीका धनी मदन श्रेष्ठले बताउनुभयो । काठमाडौंबाट विराटनगर अथवा विराटनगरबाट काठमाडौं जानुपर्दा यसअघि जार्ज स्टेशन नहुँदा यात्रुलाई समस्या थियो । अहिले धेरैलाई सुविधा भएको उहाँको भनाइ छ ।