• २४ भदौ २०८२, मङ्गलबार

कांग्रेस कार्यालयमा आक्रमण

blog

भैरहवा समाचारदाता

भैरहवा, भदौ २४ गते । रुपन्देहीको भैरहवास्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा सोमबार अज्ञात समूहले आक्रमण गरी भवन र सवारीसाधनमा ठुलो क्षति पु¥याएको छ । आक्रमणकारीले कार्यालयपरिसरमा ढुङ्गामुढा गर्दै सिसा फोडेको र पार्किङ गरिएका गाडी तथा मोटरसाइकलसमेत तोडफोड गरेका छन् ।

घटनामा कांग्रेसका जिल्ला नेता तथा पदाधिकारी चढ्ने गाडीमा विशेष क्षति पुगेको छ । कांग्रेस जिल्ला कोषाध्यक्ष हरिप्रसाद अर्यालका अनुसार क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङको बा २० च ७९५२, जिल्ला कोषाध्यक्ष अर्यालको बा १७ च २२२७, जिल्ला सहसचिव विष्णु थापाको लुम्बिनी प्रदेश ००१ च ०८७२, ठाकुरप्रसाद गुरौको लु २ च ५४१८ नम्बरको सवारीसाधनमा क्षति भएको छ । त्यसै गरी लु ३३ प १७०७ नम्बरको स्कुटर र लु २२ प ५१६२ नम्बरको मोटरसाइकलमा पनि क्षति भएको नेपाली कांग्रेसले जनाएको छ ।

अर्यालका अनुसार बिपी जयन्ती अवसरमा आयोजना हुने म्याराथन कार्यक्रमबारे छलफल भइरहेको समयमा युवाको समूहले कार्यालयमा आक्रमण गरेको हो । अर्यालले भन्नुभयो, “ठुलो समूहमा आएका व्यक्तिबाट कार्यालय र परिसरमा तोडफोड सुरु भयो । सचिवालयदेखि हलसम्म ढुङ्गामुढा भएपछि हामी ज्यान जोगाउन कुनामा लुक्न बाध्य भयौँ ।” नेपाली कांग्रेस रुपन्देहीले यस घटनाप्रति गम्भीर आपत्ति जनाउँदै लोकतान्त्रिक मूल्यमान्यतामाथिको प्रत्यक्ष प्रहारका रूपमा व्याख्या गरेको छ ।