भैरहवा समाचारदाता
भैरहवा, भदौ २४ गते । रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा उपचुनावमा प्रमुख राजनीतिक दलले अझै उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । आगामी कात्तिक १७ गते निर्वाचन हुने तयारीका बिच नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी तथा अन्य दलमा आकाङ्क्षी धेरै देखिनुले उम्मेदवार छनोटमा ढिलाइ भएको हो ।
गत चैत २५ गते यस क्षेत्रका प्रतिनिधि सभा सदस्य एवं राप्रपा नेता दीपक बोहोराको निधन भएपछि उपचुनाव हुन लागेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. लेखजङ्ग थापालाई उम्मेदवार बनाइसकेको छ भने जनमत पार्टीले धनीराम चौधरीलाई अघि सारिसकेको छ । स्वतन्त्र उम्मेदवार अजयकुमार गुप्ता र लेखनाथ गैरे पनि चुनावी तयारीमा हुनुहुन्छ । एमालेमा पाँच जना
आकाङ्क्षी रहेको बताइएको छ । पूर्वसांसद खिमलाल भट्टराई, पूर्वनगरप्रमुख हरि अधिकारी, स्थानीय व्यवसायी शशि पौडेल, अमृता गुरुङ र यज्ञजित शाह एमालेबाट उम्मेदवारका आकाङ्क्षी हुनुहुन्छ । लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले पार्टी विधान महाधिवेशन सकिएकाले अब छिटै नै उम्मेदवार घोषणा हुने बताउनुभयो ।
नेपाली कांग्रेसले पनि उम्मेदवार टुङ्गो लगाउन सकेको छैन । नेकपा (माओवादी केन्द्र) का चार आकाङ्क्षी सोनिया यादव, फौज अहमद खाँ, मनिषकुमार जोशी र तीरबहादुर रोकाबिच टिकट कसले पाउने भन्ने अझै टुङ्गो लागेको छैन । नेकपा (एकीकृत समाजवादी) पनि उम्मेदवार टुङ्गो नगरी चुनावी रणनीति बनाइरहेको छ । सो पार्टीबाट पार्टीका महासचिव घनश्याम भुसालले २०७४ मा तत्कालीन एमालेबाट चुनाव जित्नुभएको थियो । गत निर्वाचनमा रुपन्देही–३ मा कांग्रेसले समानुपातिक २० हजार २७८ मत पाएको थियो । एमाले १६ हजार ९८६, रास्वपा १४ हजार १५४ र राप्रपा नौ हजार १८३ मतमा सीमित थियो । यस निर्वाचन क्षेत्रमा मतदाता सङ्ख्या एक लाख ३९ हजार ७६४ रहेको छ ।