अमरराज नहर्की
तनहुँ, भदौ २४ गते । पृथ्वीराजमार्गमा पर्ने तनहुँको बन्दीपुर गाउँपालिका–४ सानो डुम्रेमा मङ्गलबार बिहान ५ः३० बस र म्याजिक जिप ठोक्किँदा दुई जना घाइते भएका छन् ।
डुम्रे बजारबाट नारायणगढ जाँदै गरेको ना.८ख ८४१३ नम्बरको बसले सोही दिशा हुँदै गएको ना.१ज ८३२८ नम्बरको म्याजिक जिपलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार दुर्घटनामा म्याजिक जिप चालकसहित चार जना सवारमध्ये तनहुँ बन्दीपुर गाउँपालिका–१ बस्ने ४५ वर्षीया रिता पोख्रेल गम्भीर घाइते हुनु भएको छ ।
उहाँको टाउकोमा चोट लागेकाले उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा रिफर गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी, गोरखा नगरपालिका–७ बस्ने ३२ वर्षीय सुवास कुमाल घाइते हुनु भएको छ । उहाँलाई पनि चितवन मेडिकल कलेजमा रिफर गरिएको छ ।
बस चालक सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–३ का ३२ वर्षीय राजु गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । म्याजिक जिप र त्यसका चालक पनि प्रहरी नियन्त्रणमा रहेका छन् ।