• २४ भदौ २०८२, मङ्गलबार

विपतबाट छ सयभन्दा बढीको मृत्यु

blog

पुल नहुँदा जोखिम उठाएर वारपार गर्दै कर्णालीका स्थानीय । तस्बिर: प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता 

कालीकोट, भदौ २४ गते ।   पछिल्लो एक दशकमा विपत्का घटनामा परेर कर्णालीमा छ सयभन्दा बढीको मृत्यु भएको छ । कर्णाली प्रदेशमा पछिल्लो दशकमा विपत्का घटनामा परी ६१९ जनाको मृत्यु भएको छ भने ठुलो भौतिक तथा आर्थिक क्षति भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा २०७२ देखि २०८१ सम्मको अवधिमा ६१९ जना व्यक्तिको विपत्का घटनामा परी मृत्यु भएको सरकारी तथ्याङ्क छ । 

तथ्याङ्क अनुसार १० वर्षमा प्रदेशभर ६८ जना बेपत्ता भएका छन् भने एक हजार २६६ जना घाइते भएका छन् । यो अवधिमा सबैभन्दा बढी जाजरकोट जिल्लामा विपत्बाट १८४ जनाको मृत्यु भएको छ भने सबैभन्दा कम मुगुमा २६ जनाको मृत्यु भएको छ । घटनामा मृत्यु हुनेमध्ये कालीकोट जिल्ला तेस्रो स्थानमा छ । कालीकोटमा विपत्का घटनामा परी ८४ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । रुकुममा ९२, जुम्लामा ४७, हुम्लामा ४६, सल्यानमा ३९, दैलेखमा ३६, डोल्पामा ३५ र सुर्खेतमा ३० जनाको मृत्यु भएको उल्लेख छ । प्रदेश सरकारका विपत् सहजकर्ता उज्ज्वल अधिकारीले एक दशकको अवधिमा सबैभन्दा धेरै पहिरोबाट १८० जनाको मृत्यु भएको बताउनुभयो । भूकम्पका कारण १५४ जनाको मृत्यु हुँदा आगलागीबाट ६४ जनाको मृत्यु भएको अधिकारीको भनाइ छ । उहाँका अनुसार चट्याङबाट ४६, बाढीबाट ३९, महामारीबाट ३४, लेक लागेर २५, वनडढेलोमा परी १५, डुबेर १४ र भारी वर्षाका कारण १३ जनाको मृत्यु भएको छ । 

कर्णाली प्रदेशमा विशेष गरी भूकम्प, पहिरो, आगलागी, चट्याङ, बाढी र महामारी जस्ता प्रकोपका कारण अत्यधिक रूपमा क्षति भएको देखिन्छ । यसका साथै महामारी, लेक लाग्ने, नदी कटान, डुबान, भूक्षय, जनावर आक्रमण, रोगको प्रकोप, असिना, हुरीबतास जस्ता प्रकोपका कारण ठुलो जनधनको क्षति हुने गरेको छ । विभिन्न वैज्ञानिक अध्ययन अनुसार कर्णाली प्रदेश भूकम्पको उच्च जोखिममा छ । तथ्याङ्क अनुसार विपत्बाट १० वर्षमा झन्डै साढे तीन अर्बको क्षति भएको छ । सबैभन्दा धेरै क्षति भूकम्पबाट भएको छ । २०८० कात्तिक १७ मा जाजरकोटमा आएको भूकम्पले धेरै क्षति पु¥याएको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार भूकम्पबाट मात्रै दुई अर्ब ४७ करोडभन्दा धेरैको क्षति भएको छ । प्रदेश सरकारले सम्भावित विपत्का कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाएर काम गरिरहेको जनाएको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव उत्तम गौतमले मनसुनको बेला हुन सक्ने विपत् जोखिम कम गर्नसमेत मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ९ देखि १२ सम्म १३ हजार विद्यार्थीलाई विपत्बाट जोगिन सक्ने उपायबारेमा हातेपुस्तक वितरण गर्ने योजना बनाइएको भन्दै उहाँले यसले सचेतनामा सघाउ पुग्ने उल्लेख गर्नुभयो ।