धर्बेन्द्र झा
जनकपुरधाम, भदौ २२ गते । मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवम भौतिक पुर्वाधार विकास मन्त्री सरोज कुमार यादवले जनता प्रति उतरदायी भएर सेवा प्रवाह गर्न निजामती कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार निजामती सेवा दिवस २०८२ को अवसरमा मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानून मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो, कर्मचारी र जनप्रतिनिधि एउटै रथमा सवार यात्री हौ । विकास र समृद्धिका लागि जनप्रतिनिधि जति जिम्मेवार हुन्छ त्यती नै कर्मचारी पनि जिम्मेवार हुनुपर्छ । कार्यवाहक मुख्यमन्त्री यादवले इमान्दारिता र निष्ठा पुर्वक काम गर्ने कर्मचारीलाई राज्यले सम्मान गर्ने भन्दै अगामी दिनमा उत्कृष्ट काम गर्ने कर्मचारीको फोटो नै कार्यालयमा झुण्डयाउने व्यवस्था लागु गर्नका लागि आग्रह गर्नुभयो ।
उहाँले कार्यालयहरुमा यस प्रकारको व्यवस्था भएमा अन्य कर्मचारीलाई पनि यस दिशा निर्देश गर्ने बताउनुभयो । उहाँले कर्मचारी र जनप्रतिनिधि दुवै इमान्दारिता र निष्ठा पुर्वक कामकाज गरेको खण्डमा देश समृद्धी तर्फ जानेमा वेर नलाग्ने बताउनुभयो ।
मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेलको अध्यक्षतामा भएको सो कार्यक्रममा गृह सञ्चार तथा कानून मन्त्रालयका सचिव विमल बराल , धनुषाका प्रमुख जिल्ला अधिकारी शंकर हरि आर्चाय,गृह सञ्चार तथा कानून मन्त्रालयका शाखा अधिकृत राधे शंकर पाल सहित विभिन्न ट्रेड युनियनका नेताहरुले आ आफनो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम अघि विहान व्यवसायिक र सिर्जनशील प्रशासनः विकास ,समृद्धि र सुशासन नारा लेखिएको व्यानर सहित प्रभातफेरी सहितको र्याली निकालिएको थियो । जिल्ला प्रशासन कार्यालय धनुषाको प्राङ्गनवाट आज विहान निकालिएको प्रभातफेरी सहितको र्यालीमा चारवटै सुरक्षा निकाय अधिकारी ,विभिन्न कार्यालयका कर्मचारी र मधेश प्रदेशका विभिन्न मन्त्रालयका उच्च ओहदाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।