• २२ भदौ २०८२, आइतबार

हाजिरी जवाफमा पाथीभरा याङ्वरक प्रथम

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २२ गते।  निजामती सेवा दिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा पाथीभरा याङ्वरक गाउँपालिका प्रथम भएको छ।  कर्मचारी मिलन केन्द्र ताप्लेजुङले आयोजना गरेको प्रतियोगितामा सहभागी टोलीमध्ये पाथीभरा याङ्वरक गाउँपालिका प्रथम भएको हो। 

कर्मचारी मिलन केन्द्रकी सचिव एवम् नापी कार्यालय ताप्लेजुङका प्रमुख रजिता श्रेष्ठका अनुसार अन्य आठ टोलीलाई पछि पार्दै हाजिरी जवाफमा पाथीभरा याङ्वरक प्रथम भएको हो।  यस्तै प्रतियोगितामा सिरिजङ्घा गाउँपालिकाको टोली दोस्रो र मालपोत कार्यालयको टोली तेस्रो भएको नापी कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो। 

कर्मचारी मिलन केन्द्रका अनुसार मनोरञ्जनात्मक हाँडी फुटाइ खेल पनि आयोजना गरिएको छ।  हाँडी फुटाइमा सहभागी १३ जनामध्ये विजय शाह विजेता बन्नुभएको कर्मचारी मिलन केन्द्रकी अध्यक्ष एवम् सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले जानकारी दिनुभयो।  हाजिरी जवाफ र हाँडी फुटाइ प्रतियोगिताका विजेतालाई नगद पुरस्कार साथै प्रमाणपत्र वितरण गरिएको सहायक प्रजिअ खड्काले बताउनुभयो। 

यस्तै दिवसकै अवसरमा जनप्रतिनिधि र कर्मचारीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता पनि सञ्चालन गरिएको छ।  मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधिको टोलीलाइ २-० गोलले पराजित गर्दै कर्मचारी टोली विजयी भएको छ।  

फुटबल प्रतियोगितामा जनप्रतिनिधिको टोलीमा जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङ्खिम, मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम, मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीलगायत सहभागी बन्नुभएको थियो।  त्यस्तै कर्मचारीतर्फ प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद पाठकलगायत सहभागी हुनुहुन्थ्यो। 

यता निजामति सेवा दिवसका अवसरमा आइतबार बिहान सदरमुकाम फुङ्लिङमा प्रभातफेरीसमेत गरिएको थियो।  हेलिप्याडदेखि सुरु गरिएको प्रभातफेरीले फुङ्लिङ बजार परिक्रमा गरी सामुदायिक भवन (सिटीहल) मा पुगेर औपचारिक कार्यक्रम गरिएको थियो।  कार्यक्रममा शुभकामना आदानप्रदान गर्नुका साथै विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।