• २२ भदौ २०८२, आइतबार

महर्जन आर्म रेस्लिङ च्याम्पियन

blog

फडिन्द्र अधिकारी

लेखनाथ, भदौ  २१ गते।  पोखरामा आयोजित आर्म रेस्लिङमा काठमाडौँका रोमन महर्जन च्याम्पियन बन्नुभएको छ।  ओभर अल प्रतिस्पर्धामा समेत च्याम्पियन बन्दै उहाँले नगद एक लाख जित्नुभएको हो।  आफ्नो ८० केजी तौल समूहमा समेत प्रथम हुँदै उहाँले नगद ५० हजार पाउनुभयो। 

कास्की जिल्ला आर्म रेस्लिङ सङ्घको आयोजनामा भएको प्रतियोगिताको ६० केजी तौल मुनिको प्रतिस्पर्धामा भक्तपुरका सुमन नापित प्रथम, काठमाडौंका सिद्धार्थ श्रेष्ठ दोस्रो र काठमाडौंकै सुदीप तामाङ बन्दै क्रमशः ५०, २५ र १० हजारको हकदार बन्नुभयो। 

७० केजीमुनिको प्रतिस्पर्धामा तरुण विक प्रथम, ग्रेसविन प्रधान दोस्रो र काठमाडौंका एड्रिम राई तेस्रो हुँदा ८० केजी मुनिको तौल प्रतिस्पर्धामा काठमाडौंका रोमन महर्जन, काठमाडौंकै समिक प्रधान र बुुटवलका आर्यन विकले क्रमशः प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नुभयो। 

८० केजीमाथिको तौल समूहमा झापाका सौरभ प्रधानले प्रथम स्थान पाउँदा विराटनगरका राहुल यादव र झापाकै दीपेश मैनाली तेस्रो बन्नुभयो।  प्रतियोगितामा देशभरका झण्डै २ सय आर्म रेस्लर सहभागी थिए।  

युवा पुस्तामा आर्म रेस्लिङप्रति रुचि बढ्दै गएका बेला पोखरामा पहिलो पटक सङ्घ नै गठन गरी सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता गरिएको सङ्घ अध्यक्ष नवीन गुरुङले जानकारी दिनुभयो।  प्रत्येक तौल समूहका विजेतालाई नगद ५० हजार, दोस्रोलाई २५ हजार र तेस्रोलाई नगद १० हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ।  

गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा उद्घाटन गरेको प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य एवम् सङ्घका सल्लाहकार भेनिस थापाले पुरस्कार वितरण गर्नुभएको छ।