यदुप्रसाद भट्ट
मनाङ, भदौ २२ गते । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै मनाङका अशक्त, वृद्धवृद्धा र ज्येष्ठ नागरिकलाई सहज तरिकाले सेवा दिन जिल्ला प्रशासन कार्यालय मनाङले घुम्ती सेवा सञ्चालन गरेको छ । जिल्लाका दुर्गम बस्तीका नागरिकलाई सदरमुकामसम्म आउन कठिनाइ हुने अवस्थालाई दृष्टिगत गर्दै प्रशासनले यस किसिमको पहल अघि सारेको जनाएको छ ।
शनिबार बिदाकै दिनमा भएपनि मनाङ ङिस्याङ गाउँपालिकामा एकदिने घुम्ती सेवा शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले बताउनुभयो । प्रजिअ पौड्यालको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी, शाखागत कर्मचारी तथा प्राविधिक कर्मचारीसहितको टोली खटिएको थियो । पालिकाका अशक्त, वृद्धवृद्धा र ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिइएको शिविरमा ६३ स्थानीय नागरिकले सेवा प्राप्त गरेका छन् ।
जिल्ला प्रशासनको टोली आउने सूचना पाएलगत्तै गाउँ कार्यपालिकाले अग्रिम सूचना जारी गर्दै पालिकाभित्रका सबै ९ वडामा बसोबास गर्ने अशक्त, वृद्धवृद्धा र ज्येष्ठ नागरिकलाई परिचयपत्र बनाउन सहजीकरण गरेको थियो । गाउँपालिकाको सक्रियताले शिविर प्रभावकारी बनेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने उपकरण एक सेट मात्र र प्राविधिक कर्मचारी पनि एक जना मात्र भएकाले नियमित सेवा प्रवाहमा कठिनाइ हुने गरेको प्रजिअ पौड्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यही कठिनाइलाई दृष्टिगत गरी सार्वजनिक बिदाको दिनसमेत घुम्ती शिविर सञ्चालन गरिएको हो ।’’ उहाँले नियमित रुपमा यस्ता शिविर सञ्चालन गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग निरन्तर छलफल पनि भइरहेको जानकारी दिनुभयो ।
मनाङ ङिस्याङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवीन क्षेत्रीले अशक्त, वृद्धवृद्धा र ज्येष्ठ नागरिक गरी ६३ जनाले सेवा लिएको बताउनुभयो ।
डेढ हप्ताअघि मात्रै पदभार ग्रहण गर्नुभएका प्रजिअ पौड्यालले पदभार ग्रहण कार्यक्रममा नै ‘सम्भव भएसम्म जनताको घरदैलोमै पुगेर सेवा प्रवाह गर्ने’ प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले भन्नुभयो, ‘‘मनाङ ङिस्याङ गाउँपालिकामा सञ्चालन गरिएको यो घुम्ती शिविरलाई सो प्रतिबद्धताको प्रारम्भिक कार्यान्वयनका रुपमा लिएको छु ।’’
यसअघि नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिकाले काठमाडौंमा शिविर सञ्चालन गरेर नागरिकलाई सेवा दिएका थिए । ती दुई गाउँपालिकाले साउन अन्तिम साता काठमाडौंमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आफ्ना नागरिक बसोबास गरेकै ठाउँमा पुगेर शिविर चलाएका हुन् ।
हाल नार्पाभूमि, चामे र नासोँ गाउँपालिकामा कुनै समस्या नभएकाले मनाङ ङिस्याङमा मात्र शिविर सञ्चालन गरिएको बताइएको छ ।