• २२ भदौ २०८२, आइतबार

आउनै छोडे चिठीपत्र

blog

साँफेबगर समाचारदाता

अछाम, भदौ २२ गते । कुनै समय थियो, झोलामा चिठीपत्र बोकेर गाउँघरमा हुलाकी अर्थात् हल्कारा आउने गर्थे । प्रविधिको द्रुत गतिको विकासले महत्वपूर्ण खबर आदानप्रदान गर्न चिठीपत्र पठाउने चलन अब भने हराइसकेको छ । पहिले गाउँ गाउँमा हुलाक कार्यालय थिए । अहिले अछाम जिल्लामा १२ वटा इलाका हुलाक कार्यालय र ५९ वटा अतिरिक्त हुलाक कार्यालय छन् । जिल्ला सदरमुकाम मङ्गलसेनमा जिल्ला हुलाक कार्यालय र साँफेबगरमा एक हुलाक काउन्टर छ ।

व्यक्तिका चिठीपत्र आदानप्रदान हुन छाडे पनि डाँक सेवा जस्ता काममा अहिले जिल्ला हुलाक कार्यालय र इलाका हुलाक कार्यालयले काम गर्ने गरेका छन् । कहिलेकाहीँ सरकारी कार्यालयका चिठीपत्र मात्रै पठाउने गरेका छन् । पहिले डाँक सेवा अन्तर्गत अछामबाट पूर्वतर्फ हेटौँडा, काठमाडौँ, झापा, नेपालगन्ज, बर्दिया, चितवन, दाङ, कोहलपुर, भैरहवा, इटहरी, मोरङ, बिर्तामोड तथा पोखरासम्मको सेवा दिने गरेको थियो । यस्तै पश्चिमतर्फ कञ्चनपुर, महेन्द्रनगर, अत्तरिया तथा धनगढीसम्मको सेवा दिने गरेको भए पनि सरकारी कार्यालयका चिठीपत्र, अदालतका कागजात र विद्यालयका चिठीपत्र मात्रै हुने गरेको जिल्ला हुलाक कार्यालय अछामका कार्यालय प्रमुख रगुवीर रोक्काले बताउनुभयो । 

उहाँले व्यक्तिगत चिठीपत्र नआउने गरेको र सरकारी कार्यालयका चिठीपत्र मात्रै जाने गरेको जनाउनुभयो । विगतमा विभिन्न कागजात, सरसामान आउने र पठाउने गरेको भए पनि सञ्चार क्षेत्रको विकाससँगै चिठीपत्र पठाउन कम भएको बताउनुभयो । 

कार्यालय प्रमुख रोक्काले भन्नुभयो, “सादा र रजिस्ट्री गरेर मुस्किलले औसतमा दैनिक ५० वटा चिठी मात्रै आउने गरेका छन् र चिठीपत्र नआए पनि डाँक सेवा भने अनिवार्य पठाउनुपर्ने हुन्छ ।” 

जिल्ला हुलाक कार्यालय अछामका कर्मचारी हिजोआज रित्तो डाँक पठाउँदै आएका छन् । हुलाक कार्यालयमा सरकारीबाहेक चिठीपत्र कसैले नपठाउने गरेका कारण कर्मचारीले रित्तो भए पनि डाँक पठाउने गरेका हुन् । यहाँबाट सुदूरपश्चिम प्रदेशका सबै जिल्ला तथा केन्द्र अर्थात् काठमाडौँसमेत हुलाक डाँक जाने भए पनि चिठीपत्र कसैले नपठाउँदा प्रायः रित्तो भए पनि डाँक जाने गरेको रोक्काको भनाइ छ । 

उहाँले भन्नुभयो, “इमेल, इन्टरनेट, मोबाइल तथा विभिन्न सञ्चार सेवामा पहँुच बढ्दै जाँदा हुलाक सेवाको पहुँच घट्दै गएको र चिठीपत्र नहुँदा रित्तो डाँक भए पनि पठाउने गरेका छौँ ।” टेलिफोन, इन्टरनेट र फ्याक्सलगायत मोबाइल फोन सर्वसुलभ भएपछि हुलाकबाट आफन्तलाई चिठीपत्र पठाउने प्रचलन विगतको भन्दा धेरै मात्रामा हराउँदै गएको हो । 

पछिल्लो समय हुलाक कार्यालय टिकट बिक्री गर्न मात्र बढी प्रभावकारी देखिएका छन् । मोबाइल, इमेल, इन्टरनेटलगायतका विभिन्न प्रविधिको विकासका कारण पनि चिठीपत्र आदानप्रदानमा कमी आएको देखिन्छ । जिल्ला हुलाक कार्यालय अछाममा आर्थिक वर्ष २०८१/८२ मा छ हजार ४८६ रजिस्ट्रीपत्र आयात र निर्यात भएको कार्यालयको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।