नेपालको प्रशासनिक इतिहासमा निजामती सेवा एउटा निरन्तर चलिरहने गैरसैनिक चरित्रको सरकारी सेवा हो । स्थायी सरकारका रूपमा सुपरिचित यो सेवा नागरिकहरूको आशा, भरोसा र विश्वासको केन्द्र पनि हो । विसं २०१३ सालबाट सुरु भएको यो सेवा समग्र सरकारी सेवाको मार्गदर्शक पनि हो । लामो पदसोपान, वृत्ति शृङ्खला, निर्वैयक्तिकता, योग्यता प्रणाली, अनुशासन, निरन्तरता, लिखित दस्ताबेज, समानतामा आधारित सेवा जस्ता सुन्दर विशेषताले निजामती सेवालाई नागरिकमाझ विश्वसनीय, भरपर्दो र व्यावसायिक सेवाका रूपमा उभ्याएको छ ।
समाज जस्तो हुन्छ, निजामती पनि त्यस्तै हुन्छ । त्यस अर्थमा हामी जस्तो छौँ, निजामती सेवा पनि त्यस्तै हुन्छ । किनकी हाम्रा अग्रज, हामी र हाम्रा सन्ततिहरूको सोच, संस्कार र आनीबानीको दर्पणछाया निजामती सेवामा परेको हुन्छ । यस सेवालाई मार्गदर्शन गर्ने ऐन कानुनहरूको निर्माण गर्ने जनप्रतिनिधि पनि हामीले नै चुनेका हुन्छौँ । त्यसैले यसलाई कस्तो सेवा बनाउने भन्ने हाम्रै हातमा रहको छ । हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाइन्छ । यो दिन मनाइने निजामती सेवा दिवस केवल एक औपचारिक दिन मात्र नभएर राष्ट्रसेवकको प्रतिबद्धता, इमानदारिता र निष्ठाको पुनस्र्मरण गर्ने सुनौलो दिन हो । निजामती सेवा दिवसको नारा विसं २०७८ सालदेखि एउटै रहेको छ । पाँच वर्षका लागि तय गरिएको यो नारा ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास समृद्धि र सुशासन’ रहेको छ जुन साँच्चिकै सान्दर्भिक छ । आधुनिक प्रशासन मूल्यबोधी र अभीष्टप्रति प्रतिबद्ध छ जुन नयाँ नयाँ अन्वेषण र आविष्कार गर्दै परिवर्तनप्रति क्रियाशील रहनसमेत अभ्यस्त छ । त्यसै गरी विकासात्मक गतिविधिमार्फत जनतालाई सुख, शान्ति र समृद्धिको मार्गमा डोराएर असल शासनको अनुभूति दिलाउनु पर्छ भन्ने सूचनामूलक, रचनामूलक र अभिप्रेरणामूलक सन्देश यस नाराले प्रवाह गर्न खोजेको छ । हाल राज्यको शासकीय दर्शनमा आएको अभुतपूर्व परिवर्तनले निजामती सेवालाई साँच्चिकै जनमैत्री, प्रभावकारी र प्रतिस्पर्धी बनाउने जमर्को गरेको छ । त्यसै गरी समयक्रमसँगै प्रविधि र परिवर्तनलाई आत्मसात् गर्न सक्ने औसत होइन उत्कृष्ट जनशक्ति बनाउने, ज्येष्ठतालाई होइन श्रेष्ठतालाई स्थान दिने अभ्यास पनि सँगसँगै गरिएको छ ।
निजामती सेवाप्रति नागरिकको पहिलो अपेक्षा नै सुशासन हो । सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता, वैधानिकता र निष्पक्षताबाट सुशासन सम्भव हुन्छ । नागरिकलाई अपमानित होइन सम्मानित गर्ने सेवा, ढिलासुस्ती होइन, दक्षता देखाउने प्रशासन, पक्षपात होइन निष्पक्ष व्यवहार प्रदर्शित गर्ने सेवक चाहिन्छ । जब सेवक नागरिकमैत्री बन्छन्, तब सुशासन केवल नारामा सीमित हुँदैन, यसले व्यवहारमा मूर्त रूप लिन्छ । जब राष्ट्रसेवकले नागरिकलाई आफ्नो परिवारकै सदस्य जस्तै मानेर व्यवहार गर्छन्, तब जनविश्वास उत्पन्न हुन्छ र राज्यप्रति नागरिकको आस्था बढ्छ । अनि त्यहाँ सुशासन कायम हुन्छ ।
आजको युग डिजिटल सुशासनको युग हो । नागरिकसँग प्रत्यक्ष पहुँच पु¥याउने इगभर्नेन्स, फेसलेस, पेपरलेस र क्यासलेस सेवा, वान डोर सेवा, घुम्ती सेवा, फिफोसँगै लिफो सेवा, नागरिक सहायता व्यवस्थापन सेवा आधुनिक निजामती सेवाका चिनारी हुन् । उच्च ओहदामा आसीन राष्ट्रसेवकले आफूलाई मात्र होइन, राष्ट्रलाई परिवर्तन गर्ने नेतृत्व दिनु पर्छ । निजामती सेवा जनताको भरोसा भएकाले नागरिकको आशा, सेवकको निष्ठा र राष्ट्रको आवश्यकता एउटै लक्ष्यमा एकाकार हुँदा मात्र यस सेवामार्फत राष्ट्रले खोजेको समावेशी, समृद्ध र सुशासित समाज निर्माण हुन्छ । त्यसै गरी समृद्ध नेपाल निर्माणको आधारभूत जिम्मेवारी पनि निजामती सेवाको साथमा रहेको छ । विकासका योजना त सरकारले बनाउँछ तर कार्यान्वयन गर्ने जिम्मेवारी निजामती सेवाकै हातमा रहेको छ । सुविधासम्पन्न सहर मात्र होइन ग्रामीण भेगसम्म पुग्ने प्रशासनिक सेवा सुविधाले दूरदराजको दैनिकीलाई सजिलो बनाउने जमर्को गर्दै छ । आजको दिनमा हामीले निजामती सेवाबाट निष्ठा, पारदर्शिता, दक्षता र जनमैत्री भावना अपेक्षा गरेका छौँ । उक्त अपेक्षा पूरा गर्न निजामती सेवाले यो २१ औँ दिवसदेखि नै प्रतिबद्धता जनाउनु पर्छ कि,
“जनविश्वास जित्ने सशक्त र क्रियाशील निजामती सेवा,
सुशासन र समृद्धिमा प¥याउँछ बृहत्तर अनुकरणीय टेवा ।”
नागरिकको आशा, राष्ट्रको अवश्यकता र सेवकको निष्ठा एकसाथ मिसिँदा मात्रै नेपालले खोजेको समावेशी, समृद्ध र सेवाग्राहीमैत्री सुशासन सम्भव हुन्छ । त्यसका लागि निजामती सेवामा निहित दिग्गज जनशक्तिको जमातबाट प्राप्त विज्ञतालाई राष्ट्र हितमा उपयोग गर्नु पर्छ । प्रतिस्पर्धामा अब्बल ठहरिएका, विगतको अनुभवले खारिएका र प्रणालीले पत्याएका व्यक्ति नै राष्ट्रसेवाका लागि निजामती सेवामा समर्पित रहेका छन् । असल शासन, कुशल प्रशासन र उच्च अनुशासन उनीहरूको मूल मन्त्र हो । मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमानदारी बोकेका कर्मशील राष्ट्रसेवक कर्मचारीबाट नै राष्ट्र निर्माण र आर्थिक–सामाजिक परिवर्तन सम्भव हुने भएकाले निजामती सेवाको गरिमा उनिहरूकै काँधमा रहेको छ । अनि समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पनि निजामती कर्मचारी नै अग्रपङ्क्तिमा उभिनु परेको छ । त्यसैले अबका दिनमा नतिजा, समृद्धि र सुशासन फगत नाराले होइन कर्मचारीको काम र व्यवहारले पछ्याउन आवश्यक छ ।
जसरी जमिनको प्रतिफल कुत, पुँजीको प्रतिफल ब्याज, लगानीको प्रतिफल मुनाफा जस्तै श्रमको प्रतिफल तलब वा ज्याला हो । तलब कर्मचारीले सङ्गठनमा अर्पण गरेको श्रम, समय र सिपको प्रतिफल स्वरूप प्राप्त गर्ने क्षतिपूर्ति हो । निजामती कर्मचारी एउटा सजीव र चेतनशील प्राणी भएको हुनाले उसको मानवीय आवश्यकता र चाहनालाई सङ्गठनले नजरअन्दाज गर्नु हँदैन । तलबले निजामती कर्मचारीको आधारभूत आवश्यकतासँग सरोकार राख्ने भएकाले कर्मचारीको तलबमान वैज्ञानिक र सेवा सुविधा समसामयिक हुनु न्यायोचित हुन्छ । अनि मात्र कर्मचारी उत्प्रेरित हुन्छन् र उत्प्रेरित कर्मचारीबाट कामको नतिजा पनि राम्रो आउँछ । ग्रेगरको उत्प्रेरणासम्बन्धी वाई सिद्धान्तबमोजिम काममा रमाउने ऊर्जाशील कर्मचारीबाट मात्र अधिक काम लिन सकिन्छ न कि कामचोर एक्स सिद्धान्तबमोजिम । भोको पेट, रुग्ण पहिरन, अभावै अभाव, चौतर्फी दबाबबाट सृजित मानसिक तनावयुक्त कर्मचारीबाट अधिक कार्यसम्पादनको अपेक्षा गर्नु व्यर्थ छ । त्यसैले निजामती कर्मचारीको समयसापेक्ष तलब र सेवा सुविधामा अनुभूत गर्न सक्ने गरी समसामयिक पुनरवलोकन गर्न जरुरी छ ।
निजामती सेवालाई लोकतन्त्रको आदर्श अनुकूल सञ्चालन गरी जनसेवामा समर्पित राज्य संस्थाको चिनारी दिनु अहिलेको आवश्यकता हो । नागरिकको घरआँगनमा निजामती सेवाको सुखद अनुभूति दिलाउन अबको निजामती नेतृत्व आनाकानी गर्नु हुँदैन । पहिलेको निजामती सेवा शासक शैलीमा प्रस्तुत हुन्थ्यो र जनतालाई कार्यालयमै बोलाएर सीमित समयमा कठोरतापूर्वक सेवा प्रवाह गथ्र्यो । अहिलेको निजामती सेवा अलि फराकिलो समयका साथ जनताको घरआँगन मै पुगेर विनम्रतापूर्वक सेवा प्रवाह गर्छ । यसै त जनता दीनहीन छन्, त्यसमाथि पनि महँगीको मारमा छन् । प्रशासनिक सङ्घीयतामार्फत सरकार जनताको घरआँगनमा पुगेर उनीहरूको दुखेका घाउ र च्यातिएका मनहरूमा मलम लगाउनु छ । विगतमा राजनीतिज्ञ धर्मछाडा र कर्मचारी कर्मछाडा भएकै कारण जनताले अनगन्ति दुःख पाउनु परेको यथार्थ लुकाउन सकिँदैन । समाज जहाँ मर्यादाको पालना हुन्छ त्यहाँ कानुन नै नचाहिने र जहाँ मर्यादाको पालना हुन्न, त्यहाँ कानुन भए पनि लागु नहुने अवस्था विद्यमान छ तथापि विगतलाई बिर्सेर सुनौलो भविष्य सुरुवात गर्ने सिर्जनशील क्रियाकलापको भोको छ यो मुलुक । सरकारी सेवामा कालोबजारी र गुन्डागर्दीबाट नागरिकलाई सेवाको सुखद अनुभूति दिलाउन सकिँदैन । सरोकारवाला सेवाग्राहीको साथ, सहयोग र समर्थन लिएर सार्वजनिक कार्य सम्पादन गरियो भने समस्याको वास्तविक समाधान हुन्छ । नेपालको नवीन मौलिक सङ्घीयतामा चाहे त्यो नीति निर्माणमा होस् चाहे त्यसको कार्यान्वयन, अनुगमन र मूल्याङ्कनमै किन नहोस्, अर्थपूर्ण जनसहभागिता धेरै जरुरी छ ।
निजामती सेवा वा अन्य सरकारी सेवालाई बढीभन्दा बढी प्रभावकारी, प्रतिस्पर्धी र नतिजापरक तुल्याउन वा समयानुकूल गतिशील बनाउन छड्के प्रवेशको अवधारणा विकसित भएको हो । यसले सङ्गठनलाई नव रक्तसञ्चारको माध्यमद्वारा बढी खोजमूलक, अनुसन्धानमूलक र प्रविधिमूलक बनाएर जनविश्वास आर्जन गर्न मद्दत गर्छ । यस्तो छड्के प्रवेश निजामती सेवाको गहना हो । यो दुनियाँमा योग्यता, क्षमता र प्रतिस्पर्धाको जति पनि कुरा हुन्छ त्यो निजामती सेवाको योग्यता प्रणालीको सुन्दरताबाट पुष्टि हुन्छ । सेवामा उच्चतम योग्यता भएका उत्कृष्ट जनशक्ति भिœयाउन अझै पहल गर्नुपर्नेमा भइरहेको झिनो व्यवस्थालाई खारेज गर्न खोज्नु योग्यता प्रणालीविपरीत हो । विद्यमान अवस्थामा निजामती सेवाको उपसचिव र सहसचिव पदको छड्के प्रवेशमा १० प्रतिशत पद छुट्याइएको छ । त्यसैमा यस सेवाको आंशिक गौरव अडिएको छ । तसर्थ अलिकति पनि विवेक प्रयोग गरेर हेर्ने हो भने उक्त व्यवस्थालाई सके बढाउने नसके मौजुदा व्यवस्थालाई नै निरन्तरता दिएर अगाडि बढ्दा उपयुक्त देखिन्छ ।
अन्त्यमा निजामती सेवाको सुन्दरताबाट सुनौलो भविष्य निर्माणको अनन्त यात्रा पूरा गर्न मुलुकका सबै शासकीय सहयात्री उत्तिकै जिम्मेवार हुने हो भने अब्बल निजामती प्रशासन, सुदृढ सार्वजनिक सेवा प्रवाह र जनमैत्री विकास सम्भव छ । विगतको वंश विज्ञानमा हुर्केका राष्ट्रसेवकले राष्ट्रभन्दा पनि माथि रहेर काम गरेको गुनासो अबको विधि विज्ञान र विचार विज्ञानमा आधारित कर्मचारीतन्त्रमा दोहोरिनु हुँदैन । प्रतिस्पर्धामा उत्कृष्ट ठहरिएर आएका राष्ट्रसेवकद्वारा सार्वजनिक सेवा प्रवाहका सन्दर्भमा सेवग्राहीको मन जितेर मुलुकलाई नमुना नेपाल निर्माण गर्न सर्वोच्च पद मुख्य सचिवदेखि साधारण पद कार्यालय सहयोगीसम्मका झन्डै ८८ हजार कर्मचारी क्रियाशील रहन जरुरी छ । त्यसै गरी जिम्मेवार जनता, कानुन निर्माता संसद् र कार्यकारी सरकारको दिव्यदृष्टिसहितको प्रभावकारी प्रयत्न पनि निजामती सेवा सुधारका सन्दर्भमा उत्तिकै आवश्यक छ । तब मात्र निजामती सेवा दिवस मनाउनुको सार्थकता रहन गई नागरिकको अपेक्षाबमोजिमको सशक्त निजामती सेवा स्थापित हुने देखिन्छ ।