पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, २२ भदौ । पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी वडा नम्बर ७, शिवपुरगढीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडका कर्मचारीहरूले तलब तथा सेवा सुविधा नपाएको भन्दै आन्दोलन गरेका छन् । संस्थाका व्यवस्थापक सरिता शर्मा भट्टराईको नेतृत्वमा कार्यरत ८ जना कर्मचारीहरूले गत भदौ १७ गतेदेखि कार्यालयमा धर्ना दिँदै सेवा प्रवाह ठप्प पारेका हुन् ।
कर्मचारीहरूका अनुसार, उनीहरूले २०८२ साउन १ गतेदेखि नै तलब पाएका छैनन् । संस्थाका सञ्चालक समितिले आधिकारिक रूपमा कुनै जानकारी नदिई तलब रोकेको र हाजिरी गर्न समेत नदिएको उनीहरूको भनाइ छ । व्यवस्थापक भट्टराईका अनुसार, “हामीलाई किन तलब रोकियो भन्ने बारेमा समितिले कुनै जानकारी दिएन, उल्टै जागिरबाट निकाल्ने र सुविधा घटाउनेजस्ता हल्ला चलाएको छ । हामीले सेवा गरेबापतको पारिश्रमिक माग्दा पनि सुनुवाइ भएन, त्यसैले बाध्य भएर आन्दोलनमा उत्रिएका हौँ ।”
कर्मचारीहरूले कि त आधिकारिक जानकारी दिनुपर्ने कि त आफूहरूको पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग राखेका छन् । यस विषयमा संस्थाका अध्यक्ष सरस्वती बस्नेतका अनुसार, कर्मचारीहरूले नेपाल सरकारको लोकसेवा आयोगको कर्मचारीसहितको सुविधा पाउनुपर्ने माग गरेकाले त्यही कुरामा समिति र कर्मचारीबीच कुरा बाझिएको छ ।