• २३ भदौ २०८२, सोमबार

राजविराजमा तेस्रो सप्तरी महोत्सव हुने

blog

सप्तरी महोत्सवबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा सहभागीहरु । तस्बिर : देवराम यादव

देवराम यादव
सप्तरी, भदौ २२ गते ।
सप्तरीको राजविराजमा आठ वर्षपछि तेस्रो सप्तरी महोत्सव २०८२ हुने भएको छ । सप्तरी उद्योग वाणिज्य संघले राजविराजमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो ।

सप्तरी उलेग वाणिज्य संघका अध्यक्ष लालूप्रसाद अग्रवालले आगामी असोज २२ देखि कात्तिक ६ गतेसम्म सप्तरी महोत्सव आयोजना गरिने बताउनुभयो  । स्थानीय उत्पादनलाई प्रचारप्रसार गरी बजारीकरण गर्दै उधद्येग व्यवसायीलाई प्रोत्साहन र प्रबर्धन गर्न महोत्सवको प्रमुख उद्देश्य रहेको अग्रवालले जानकारी दिनुभयो ।

महोत्सवमा स्थानीय विभिन्न बस्तु तथा सेवाहरुको एकै ठाउँमा प्रदर्शनी गरी ग्राहकहरुसँग प्रत्येक्ष अन्तरक्रिया, स्थानीय कलाकार तथा कलासंस्कृतिको प्रबर्धन गर्ने, पर्यटन, स्वास्थ्य शिक्षा क्षेत्रका अवसरको खोजी जस्ता गतिविधि गरिने  जनाएको छ ।

महोत्सवमा एक लाख ५० हजारभन्दा बढि अवलोकनकर्ता आउने आँकलन गरिएको छ भने कृषि उपज, थारु, मिथिला खाना, राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुति महोत्सवको मुख्य आकर्षण रहने अध्यक्ष अग्रवालले बताउनुभयो ।

उहाँले स्थानीय कलाकार भुपेन्द्र कुमार मण्डल (रामलाल) विनय सोनु, भारतीय चर्चित कलाकार माही मनिसा, नेपाली चर्चित कलाकार दुर्गेश थापासहित, विभिन्न जातजातिले  दैनिक आ–आफ्नो कला संस्कृति प्रस्तुत गर्ने बताउनुभयो  ।

महोत्सवमा आउनेहरुका लागि एक सय प्रवेश शुल्क राखिएको जानकारी दिँदै उहाँले  स्वयंसेवक तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाइएको बताउनुभयो  ।

सप्तरी उद्योग वाणिज्य संघका महासचिव अमृत संचेतीले स्थानीय उद्योग, पर्यटन विकासमा महोत्सव फलदायी हुने विश्वास व्यक्त गर्नु भयो । राजदेवी, भगवती पोखरी, छिन्नामस्ता, मन्दिर, कंकालिनी मन्दिर, शनि मन्दिर, शम्भुनाथ मन्दिर, अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ मा अवस्थित त्रिरत्न गुम्बालगायतका धार्मिक पर्यटकीय क्षेत्रको प्रसार–प्रसार र विकासमा महोत्सवले टेवा पुग्ने विश्वास राखिएको बताउनुभयो  ।

तेस्रो सप्तरी महोत्सव २०८२ को सह आयोजकमा जिल्लाका १८ वटै स्थानीय तहलाई राखिएको छ भने मिडिया पाट्र्नरमा नेपाल पत्रकार महासंघ सप्तरी शाखालाई राखिएको छ ।

स्थानीय उत्पादनका लागि निःशुल्क स्टल तथा एक सय ५० बढी स–शुल्क व्यापारीक स्टलको व्यवस्था गरिएको महोत्सवमा एक करोड ६८ लाखको कारोबार हुने अनुमान गरिएको महोत्सवको दैनिक गतिविधि पत्रकार सम्मेलनबाट सार्वजनिक गरिने आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

सप्तरी उद्योग वाणिाज्य संघले पहिलो पटक २०६८ साल र दोस्रो पटक २०७४ सालमा सप्तरी महोत्सव आयोजना गरेका थिए ।