नवीन सुवेदी
सुर्खेत, भदौ १९ गते । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले असमान पृष्ठभूमिबाट आएका विद्यार्थीलाई एउटै किसिमको प्रतिस्पर्धामा उतार्दा असमानता हुने भएकाले कर्णाली प्रदेशका विद्यार्थीलाई विशेष कार्यक्रममार्फत सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आयोगको हीरक जयन्ती वर्ष २०८२ को अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘विद्यार्थीमाझ लोक सेवा आयोग’ कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष रेग्मीले कर्णालीका विद्यार्थीलाई लोकसेवामा सफल बनाउन प्रदेश तथा स्थानीय सरकारले मार्गदर्शन, तालिम र आवश्यक सुविधा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
उहाँका अनुसार दैलेख, सुर्खेत, जाजरकोट, रुकुमलगायत जिल्लाका विद्यार्थीको उत्तीर्ण दर हाल सन्तोषजनक भए पनि अझै सुधार गर्न सकिने भएकाले सरकारले थप लगानी गर्नुपर्ने आवश्यकता छ । उहाँले युवालाई विदेशप्रति आकर्षित नभई स्वदेशमै रहेर सरकारी सेवामा योगदान दिन आग्रह गर्नुभयो । आयोगको तथ्यांकअनुसार दैलेख, सुर्खेत, जुम्ला, रुकुम पश्चिम, जाजरकोट, सल्यान लगायतका जिल्लाका युवाको लोक सेवा परीक्षामा सहभागिता उच्च देखिएको छ ।
नेपालको सबैभन्दा पुरानो संवैधानिक निकायका रूपमा लोक सेवा आयोगको विश्वसनीयता अझ बढाउनुपर्ने दायित्व रहेको अध्यक्ष रेग्मीले उल्लेख गर्नुभयो । सोही कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले विद्यार्थीलाई राष्ट्र सेवाको अवसर सदुपयोग गर्न प्रेरित गर्न आग्रह गर्नुभयो भने सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले निष्पक्षता र पारदर्शितामार्फत आयोगको साख जोगाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कर्णालीका विभिन्न जिल्लाका कक्षा ११, १२ तथा सोभन्दा माथिल्लो तहमा अध्ययनरत करिब एक सय विद्यार्थी सहभागी भएको सुर्खेत कार्यालयका सह–सचिव आनन्द पौडेलले जानकारी दिनुभयो ।