बझाङका रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बेन्टमवेट च्याम्पियन बन्ने । भारतको नोयडामा गत साउन १७ गते सम्पन्न एमएफएनमा गत विजेता भारतीय चुनरेङ कोरेनलाई ढाँटले हराएका थिए ।
बझाङको बित्थडचिर गाउँपालिकाका उनी उक्त प्रतियोगिता जित्ने पहिलो नेपाली फाइटर हुन् । ढाँटले गरेको लगातारको प्रहारपछि कोरेन तेस्रो चरणबाटै अगाडि बढ्न सकेनन् । रेफ्रीले उक्त फाइट रोक्दै ढाँटलाई टेक्निकल नकआउट (टिकेओ) द्वारा विजेता घोषणा गरेका थिए । यस जितसँगै रवीन्द्रको व्यावसायिक कीर्तिमान ८–१ भएको छ ।
कोरेन ‘दी इन्डियन राइनो’ उपनामले परिचित छन् । उनी यस भिडन्तपहिले लगातार पाँच पटकका च्याम्पियन हुन् ।
ब्राजिललाई कोपा अमेरिका
ब्राजिलले महिला कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । यो ब्राजिलको कीर्तिमानी नवौँ उपाधि भएको छ । फाइनलमा कोलम्बियालाई ब्राजिलले पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको थियो ।
छ पटक विश्वको सर्वोत्कृष्ट खेलाडी घोषित भइसकेकी ३९ वर्षीय मार्टाले खेलमा दुई गोल गरिन् । उनले इन्जुरी समयको छैटौँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई निर्धारित ९० मिनेटमा ३–३ गोलको बराबरीमा ल्याएकी थिइन् ।
अतिरिक्त समयमा एक गोल जोड्दै उनले ब्राजिललाई पहिलो पटक अग्रता दिलाइन् तर कोलम्बियाकी लेइसी सान्टोसले बराबरी गोल गर्दै खेल ४–४ बनाइन् । पेनाल्टी सुटआउटमा ब्राजिलकी गोलकिपर लोरेना डा सिल्भाले दुई प्रहारमा गोल हुन नदिएर आफ्नो टिमलाई लगातार पाँचौँ तथा समग्रमा नवौँ पटक कोपा अमेरिका महिला फुटबलको उपाधि दिलाइन् ।
विश्वकपमा छ पटक र ओलम्पिकमा पनि छ पटक खेलेकी मार्टाले ब्राजिलका लागि २०६ खेलमा १२२ गोल गरेकी छन् ।
ब्राजिलकी अमान्डा गुटिएरेस प्रतियोगितामा कुल छ गोल गरेर पाराग्वेकी क्लाउडिया मार्टिनेजसँगै सर्वाधिक गोलकर्ता भइन् ।
उपाधिका लागि हुने भिडन्तमा ब्राजिल र कोलम्बिया चिरपरिचित प्रतिस्पर्धी हुन् । ब्राजिलले फाइनलमा चारै पटक कोलम्बियालाई हराएको छ । कोपा अमेरिका सन् १९९१ देखि खेल्न थालिएको हो । जसमा १० संस्करण भएका छन् । अर्जेन्टिनाले एक पटक उपाधि जितेको छ । बाँकी सबै ब्राजिलले जित्यो ।
....................
नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताबाट साढे दुई करोड रुपियाँ नाफा कमाएको सार्वजनिक गरिएको छ ।
पहिलो संस्करणको आयव्यय विवरण सार्वजनिक गर्दै क्यानले पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपियाँ गरेकामा सबै खर्च कटाएर साढे दुई करोड नाफा गरेको जानकारी दिएको छ ।
प्रतियोगितामा २० करोड १५ लाख ७३ हजार ५५९ रुपियाँ खर्च भयो । आयव्ययपछि कुल सात करोड ५३ लाख ९१ हजार २५९ रुपियाँ नाफा देखिएको थियो । त्यसमा आठ फ्रेन्चाइज टोलीलाई ५० प्रतिशत रकम बाँडफाँट गरियो । बाँडफाँटपछि क्यानको खुद आम्दानी दुई करोड ४६ लाख ५० हजार ७८९ रुपियाँ रहन गयो ।
गत वर्ष पुस ६ गते सो प्रतियोगिता सम्पन्न भएको थियो ।
महेशको कीर्तिमान
फिनल्यान्डका तीव्र गतिका बलर महेश ताम्बेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा पाँच विकेट आउट गर्ने कीर्तिमान बनाएका छन् । उनले इस्टोनियाविरुद्धको खेलमा आठ बलमै पाँच विकेट आउट गरेका थिए ।
यसअघि यो कीर्तिमान बहराइनका जुनैद अजिजको नाममा थियो । उनले जर्मनीविरुद्ध सन् २०२२ मा खेल्दा १० बलमा पाँच विकेट आउट गरेर कीर्तिमान राखेका थिए । ताम्बेले स्टेफन गुच, साहिल चौहान, मुहम्मद उस्मान, रूपम बरुआ र प्रणय गिवालालाई आउट गरे । साहिल ती खेलाडी हुन् जसले टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा कम २७ बलमा शतक बनाएर कीर्तिमान बनाएका छन् । उनले सो कीर्तिमान सन् २०२३ मा साइप्रसविरुद्ध बनाएका थिए ।
–युवामञ्च