• १३ साउन २०८१, आइतबार

धान रोप्न छाडेर मल माग्दै किसानहरु सडकमा

blog

रासायनिक मलको सहज आपूर्तिको माग गर्दै किसानहरु सडकमा प्रदर्शन गर्दै । तस्विर : जीबछ यादव

जीबछ यादव

लहान, असार १२ गते । धान रोपाइँको समयमा रासायनिक मलको अभाव भएपछि सिरहाका किसानहरु सहज रुपमा मलखादको आपूर्तिको माग गर्दै सडक प्रदर्शनमा उत्रेका छन् । गहुँ र चैते धानको समयमा रासायनिक मलको आपूर्ति हुन नसक्दा मार खाएका किसानलाई धान रोपाइँको समयमा पनि रासायनिक मलको अभाव भएपछि सम्बन्धित निकाय र सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिनुपरेको अखिल नेपाल किसान महासंघका सिरहा इन्चार्ज रामकुमार साहले बताउनुभयो । 

किसान परिचयपत्र लागु, किसानलाई पेनसनको व्यवस्था, शीत भण्डारको व्यवस्था, कृषि उत्पादनको खरिद बिक्रीमा बिचौलियाको अन्त्य र कृषि सिँचाई विद्युत महसुल निःशुल्क गर्नुपर्ने मागहरु राखेर किसान सडक आन्दोलनमा आएका छन् । सरकारले किसानको माग  सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने उहाँहरुको चेतावनी छ । 

धान रोपाइँका समयमा ३५ सय मेट्रिक टन डिएपी रासायनिक मल आइपुग्नु पर्नेमा छ सय मेट्रिक टन मात्रै आएको कृषि सामग्री कम्पनि लिमिटेड शाखा कार्यालय लहानका प्रबन्धक दिपराज पौडेलले जानकारी दिनुभयो । 

सिरहाको ११९ किसान सहकारी संस्थाको माधयमबाट सिरहामा किसानलाई मल वितरण हुँदैआएकोमा आवश्यक्ताअनुसार मल पूर्ति नभएको उहाँले बताउनुभयो । सहकारीलाई एक बोरा मल चाहिने किसानलाई दस किलोको दरले मल वितरण गर्दा समस्या भएको इश्वर कृषि सहकारी सखुवानन्कारकटि –३ का अध्यक्ष रामनारायण यादवले पीडा पोख्नुभयो । 

यस वर्ष सबेरै मनसुन सक्रिय भएकाले धान रोपाइँकोबेला मलको लागि चारैतिर भौतारिदा पनि मल नपाउँदा किसानको हालत पानी विनाको माछाजस्तै भएको लहान–१३ का कृषक रघुबीर यादवले दुखेसो पोख्नुभयो ।