• १६ भदौ २०८२, सोमबार

छोराको अनुहार हेरेर मर्ने रहर

blog

द्वन्द्वपीडित वृद्ध ।

स्याङ्जा समाचारदाता 

स्याङ्जा, भदौ १५ गते । पुतलीबजार नगरपालिका पौवेगौँडेका ८५ वर्षीय बलबहादुर थापाले बुढेसकालमा छोराको अनुहार हेरेर मर्ने रहरमा बाँचिरहेको बताउनुभयो ।  नेपाल रेडक्रस सोसाइटी स्याङ्जाले अन्तर्राष्ट्रिय बेपत्ता दिवसमा शनिबार पुतलीबजार नगरपालिकामा आयोजना गरेको कार्यक्रममा थापाले सरकारको काम गर्ने क्रममा छोरा लोकबहादुर थापा २०६१ भदौ ८ गते सिन्धुपाल्चोकबाट हराएको बताउनुभयो । 

छोरासँग हराउनुभन्दा एक दिनपहिले सम्पर्क भए पनि त्यसपछि अत्तोपत्तो नभएको र अहिलेसम्म फेला नपरेको उहाँले पीडा पोख्नुभयो । छोराको खोजीमा बाँचिरहेको बताउँदै थापाले २१ वर्षदेखि हराएको छोरालाई खोजिदिन आग्रह गर्नुभएको छ ।

त्यसै गरी फेदीखोलाका ५५ वर्षीय गङ्गादेवी लामिछानेले देवरको खोजी गरिदिन सरकारसँग आग्रह गर्नुभयो । २०५६ साउन १६ गते पृथ्वीनारायण क्याम्पसमा पढ्ने क्रममा देवर हराएको बताउँदै सरकारले कि लास कि सास दिनुपर्ने उहाँको भनाइ थियो । देवर भएको भए राहतका ठाउँमा करोडौँ कमाउने बताउँदै लामिछानेले पैसाभन्दा ज्यान ठुलो भएको बताउनुभयो । छोरा हराएसँगै सासूको मानसिक चेतना हराएकाले धेरै दुःख गरेर औषधी गरेको र छ महिनापहिला छोराकै चिन्तामा सासूआमा बित्नुभएको उहाँले बताउनुभयो । यस्तै अर्जुनचौपारी–३ कि रेवती अधिकारीले श्रीमान् २०५९ सालमा हराएको र अहिलेसम्म केही राहतसम्म नपाएको गुनासो गर्नुभयो । 

चार छोरा र छोरी पाल्नसमेत समस्या भएको बताउँदै अधिकारीले आफू पनि रोगी रहेको र मजदुरी गरेर बाँचेको बताउनुभयो । लामिछाने, थापा र अधिकारी जस्तै आँधीखोला–२ की ७५ वर्षीय लक्ष्मी दमाईको व्यथा पनि उस्तै थियो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल, प्रहरी उपरीक्षक दधिराम न्यौपाने, पत्रकार महासङ्घका उपाध्यक्ष लक्ष्मी थापा, रेडक्रसका अध्यक्ष दिनेश अर्याललगायतले बेपत्ता परिवारलाई मलम लगाउन सबैले हरदम पहल गर्नुपर्ने बताउनुभयो । सशस्त्र द्वन्द्वका बेला स्याङ्जाबाट १७ जना बेपत्ता भएका थिए ।