वेदकालमा सन्तान अनिवार्य आवश्यकता मानिन्थ्यो । वेदका अनेकौँ ऋचामा सुसन्तानयुक्न हुन पाऊँ, सन्तानहीन घरमा रहन नपरोस् भन्ने खालका अभिव्यक्ति भेटिन्छन् ।
त्यस कालमा सन्तानका लागि नियोग प्रथाको समेत विकास भएको पाइन्छ । आफ्नो पतिबाट सन्तान नजन्माएकी विधवा भाउजूले देवरबाट गर्भधारण गर्न सक्ने चलन पनि रहेको देखिनुले त्यस समयमा सन्तान जन्माउनु अनिवार्य मानिन्थ्यो भन्ने तथ्यलाई बल पु¥याउँछ ।
ऋग्वेदको सातौँ मण्डलको पहिलो सूक्त अन्तर्गतको एघारौँ ऋचामा वशिष्ठ मैत्रावरुणी नामका ऋषिले अग्निदेवलाई सम्बोधन गर्दै “वीरता तथा पुत्रपौत्रादिरहित घरमा हामीले रहन नपरोस्, घरका हितैषी हे अग्निदेव ! पुत्रपौत्रादिले भरिएका घरमा हामी तिम्रो उपासना गर्दै निवास गरौँ,” भन्ने भाव व्यक्त गरेको देखिन्छ । ऋग्वेदको सातौँ मण्डलको पहिलो सूक्त अन्तर्गतको १२ औँ ऋचामा पनि मैत्रावरुणी ऋषिले, “अश्वमा आरूढ भएका पूजनीय अग्निदेवको उपासना जहाँ नित्य गरिन्छ त्यहाँ प्रजाले परिपूर्ण सुसन्तति बढाउने घर हामीलाई प्राप्त होस्,” भन्ने भाव व्यक्त गरेका छन् ।
ऋग्वेदको सातौँ मण्डलको पहिलो सूक्तको १९ औँ ऋचामा ऋषि वशिष्ठ मैत्रावरुणीले अग्निदेवलाई स्तुति गर्दै, “तिम्रो कृपाले हामी बुद्धिहीन नहोऔँ र हामीले भोकै बस्न नपरोस् । हामी कहिल्यै वस्त्र र सन्तानविहीन नरहौँ । हामी असुर शत्रुका फेला नपरौँ । हामीलाई घर वा जङ्गलमार्गमा मर्नु नपरोस्,” भन्ने भाव व्यक्त गरेका छन् । यस्तै ऋग्वेदको दोस्रो मण्डलको चौथो सूक्त अन्तर्गतको आठौं र नवौँ ऋचामा सोमाहुति भार्गव नामका ऋषिले अग्निदेवसमक्ष स्तुति गर्दै क्रमशः “हामीलाई तिमी असल धन र महान् कीर्तियुक्त सन्तान प्रदान गरे, गुफामा बसेका निरहङ्कारी स्तोता ऋषिलाई उत्तम सन्तान प्रदान गरेर तिमीले आफ्नो संरक्षण प्रदान ग¥यौ । उसैगरी हामीले ज्ञानपूर्वक गरेको स्तुतिबाट हामीलाई उत्तम धन दिँदै संरक्षण प्रदान गर,” भन्ने भाव व्यक्त गरेको देखिन्छ ।
ऋग्वेदको १० औँ मण्डलको २५ औँ सूक्त अन्तर्गतको ४२ औँ र ४३ औँ ऋचामा वर वधूलाई सम्बोधन गर्दै “आफ्नो गृहस्थ धर्म निर्वाह गर्दै पुत्रपौत्रादि सन्तानसँग आमोदप्रमोदपूर्वक जीवन निर्वाह गर । प्रजापति ब्रह्माले हामीलाई असल सन्तान प्रदान गरुन्” भन्ने खालको भाव व्यक्त गरेको देखिन्छ । ऋग्वेदको १० औँ मण्डलको १२० औँ सूक्तको तेस्रो ऋचामा आय वर्ण नामका ऋषिले इन्द्रदेवलाई स्तुति गर्दै, “विवाह गरेको यजमानलाई सन्तान, धन र गुणले सम्पन्न गराऊ अनि ती सन्तानबाट नाति, पनातिको मधुर स्नेहले सम्पन्न गराऊ,” भन्ने भाव व्यक्त गरेका छन् ।
यसैगरी अथर्ववेदको १२ औँ काण्डको नवौँ सूक्तको सातौँ ऋचामा “ब्रह्मगवीले ब्रह्मघातीलाई निवासरहित परतन्त्र र सन्तानहीन बनाइदिन्छ, त्यसो भएपछि त्यो ब्रह्मघाती सहायताविहीन भएर विनाशका मुखमा पर्दछ,” भन्ने भाव व्यक्त भएको छ । अथर्ववेदको १४ औँ काण्डको पहिलो सूक्तको २१ औँ ऋचामा नवविवाहित वधूलाई आशीर्वाद दिँदै, “पतिका घरमा सुसन्तानले युक्त हुँदै तिम्रो स्नेहको वृद्धि होस् भन्ने भाव,” व्यक्त भएको देखिन्छ ।
उल्लिखित भावहरूबाट सन्तान नभएको घर उपयुक्त नमानिने, हरेक मानिसले आफ्नो घरमा सन्तानको इच्छा गर्दथे, सुसन्तान प्राप्त गर्ने अपेक्षाले अग्निको उपासना गर्दथे, अग्नि देवसमक्ष सन्तानविहीन हुन नपरोस् भन्ने अनुनय गर्दै स्तुति गरेको देखिन्छ । यस तथ्यले वैदिक कालमा सन्तानको निकै महत्व रहेको जानकारी मिल्छ ।
वर वधूलाई सन्तान प्राप्त गर्नका लागि आशीर्वाद दिइएको र प्रजापति ब्रह्मासँग असल सन्तानका लागि स्तुति गरिएको देखिन्छ । वेदकालमा विवाह गरेका मानिस देवतासँग छोरा, नाति आदि सन्तानका लागि स्तुति गर्दथे । त्यस समयमा खराब काम गर्ने मानिसलाई दण्ड दिँदा सन्तानहीन बनाइने गरिन्थ्यो । नयाँ वधूलाई सुसन्तानयुक्त बन भन्ने आशीर्वाद दिएको तथ्य भेटिन्छ ।
वेदकालीन मानिस पशुपालन र प्रारम्भिक कृषि उत्पादन पद्धतिमा निर्भर थिए । त्यसबखत पशुपालन र कृषि उत्पादनलाई आधार बनाएर आर्थिक व्यवस्था सञ्चालन हुन्थ्यो । पशुधन तथा जमिनको स्वामित्व कविला तथा गणको अधीनमा रहन्थ्यो । पशुधनको बृहतीकरण हुँदै गएको थियो । पशुधनको बृहतीकरणका लागि जङ्गली एवं घाँसे मैदान क्षेत्रलाई आफ्नो समूहको अधीनमा विस्तार गर्ने होडबाजी नै चल्दथ्यो ।
यस क्रममा विभिन्न गण समूहबीचमा द्वन्द्व एवं सङ्घर्ष भइरहन्थ्यो । पशुधन सङ्ख्याले तत्कालीन समयमा समृद्धि प्रदर्शित गर्ने भएकाले त्यसबखत एकअर्को समूहसँग पशुलाई आफ्नो स्वामित्वमा पार्ने उद्देश्यले सङ्घर्ष चल्दथ्यो । पशुधनको बृहतीकरण कार्यमा पुरुष संलग्न रहने हुँदा युद्धमा सैनिकका रूपमा पुरुष नै भिड्ने गर्दथे । महिला घरको व्यवस्थापनमा रहन्थे । वेदकालीन समाज पहिले नै पितृवंशमा आधारित थियो । त्यसैले पशुधनको अधिकार छोरामा हस्तान्तरण हुन्थ्यो ।
यस खालको सामाजिक चरित्रले गर्दा नै वेदकालमा सन्तानको अनिवार्य आवश्यकता मानिन्थ्यो । त्यस समयको कविला तथा गणको निर्माण नै आफ्ना वंशजको आधारमा हुने गर्दथ्यो । आफ्नो समूहको प्रभुत्व देखाउन समूहको आकार ठूलो देखाउनुपर्ने हुन्थ्यो । त्यसका लागि पनि सन्तान उत्पादन प्रमुख आवश्यकताभित्र पर्दथ्यो । अर्कातर्फ जनसङ्ख्या तथा सैन्य स्रोतको प्रमुख माध्यम पनि सन्तान उत्पादन नै थियो । त्यस समयको समाजमा पितृसत्ता स्थापित भइसकेकाले बहुपत्नी विवाह सामान्य मानिन्थ्यो । हरेक पत्नीले आफ्नो अस्तित्व सन्तान उत्पादनसँग जोड्दथे । यी कारणले सन्तान उत्पादन गर्नु तत्कालीन समाजमा अनिवार्य ठानिन्थ्यो ।
त्यसबखत सन्तान जन्माउन कोही पछि नहटून् भन्नका लागि जीवनको सार्थकता पितृऋण तिर्नुसँग छ भन्ने मान्यता विकास गरिएको थियो । पितृऋण तिर्नलाई सन्तान, त्यसमा पनि पुत्र नै उत्पादन गर्नु पर्छ भन्ने मान्यताको विकास भयो । त्यसैले आफ्नो पतिबाट सन्तान नहुँदै उनको मृत्यु भएमा वा सन्तान उत्पादन हुन नसकेमा नियोग प्रक्रियाका माध्यमबाट समेत सन्तान जन्माउने अनुमति विधवा महिलालाई समेत थियो । यसरी वैदिककालमा सन्तान उत्पादनलाई अनिवार्य आवश्यकता मानिँदै गयो ।
तत्कालीन समाजमा समान रूपमा आउने पुत्र–पुत्रीमध्येमा पनि पुत्रको चाहना एवं महìव बढी रहन्थ्यो । आर्यजनहरू वैदिक सभ्यताभित्र प्रवेश गर्नुभन्दा पहिले नै उनीहरू पितृसत्तात्मक पारिवारिक पृष्ठभूमिमा आबद्ध भइसकेका थिए । जसले गर्दा पुत्रको महत्व, पुत्रवंशको स्थापना सहज हुँदै गयो । त्यससँगै वेदकालको प्रमुख आर्थिक चरित्र पशुधन एवं कृषियोग्य भूमि बृहतीकरण गर्नु थियो । त्यस कार्यमा पुरुष नै बढी संलग्न हुन्थे । यसले पितृसत्ता एवं पितृवंशलाई झन् दरिलो बनाउँदै लग्यो ।
अर्कातर्फ त्यस समयमा पशुधन र जमिन बृहतीकरण गर्न आर्य–अनार्य तथा आर्य–आर्यबीच विभिन्न गण तथा समूहबीच युद्ध तथा सङ्घर्ष हुने हुँदा पुत्र नै युद्धका सैन्य स्रोत थिए । जुन समूहमा पराक्रमी पुरुषको सङ्ख्या कम हुन्थ्यो त्यस्तो समूहले युद्ध हारेमा आफ्नो स्वामित्वको पशुधन एवं जमिन गुमाउन पुग्थ्यो । त्यति मात्र होइन युद्धमा जित्नेले हराउने समूहलाई दास बनाउथ्यो । त्यसले गर्दा वेदका थुप्रै ऋचामा देवताको स्तुति गर्दै ‘दश छोरा देऊ, वीर पराक्रमी, युद्ध विजयी पुत्र देऊ’ भन्ने अनुरोध गरेको देखिन्छ ।
त्यस कारण परिवार, कविला, गण तथा समूहमा पुत्रको विशेष महìव र आवश्यकता ठानिन्थ्यो । किनभने पुत्र तथा पराक्रमी पुत्र सङ्ख्याको कमीका कारण त्यस गणको अस्तित्व सङ्कटमा पर्दथ्यो । आफ्नो पशुधन एवं जमिनको सुरक्षा हुँदैनथ्यो । साथै अर्को समूहबाट पराजित भई उल्टै दास बनेर जीवनयापन गर्नुपर्ने स्थिति सिर्जना हुने भएकाले वेदका अनेक ऋचामा पुत्रको चर्चा देखिन्छ ।
यसो भनिरहँदा पुत्रीप्रति अपमान तथा तिरस्कार थियो त ? भन्ने प्रश्न उठ्न सक्दछ तर तत्कालीन समाजमा पुत्रीको अपमान र तिरस्कार भएको भेटिँदैन तर पुत्रका तुलनामा पुत्रीको महत्व र चर्चा कम पाइन्छ । हुन त स्त्री वा पुत्रीको अभावमा पुत्रको उत्पादन कसरी पो सम्भव छ र ? तैपनि पितृसत्तात्मक पद्धतिले पुत्रको महìव मनोवैज्ञानिक तथा सामाजिक रूपमा रह्यो नै । वेदकालीन समयमा छोरीलाई पनि सम्मान र आदर गरिन्थ्यो । छोरीको महत्व यस कारण पनि थियो, यदि कारणवश पुत्र नभएमा छोरीको विवाह गराई उसबाट जन्मेको छोरालाई नै छोरा मानेर सम्पत्तिको अधिकार हस्तान्तरण हुन्थ्यो । वर्तमानमा जस्तो आफ्ना छोरा नभए दाजुभाइका छोरालाई तथा आफ्नै छोरीलाई सम्पत्तिको अधिकार प्रदान गर्ने प्रचलन भने तत्कालीन समयमा कहीँ उल्लेख भएको देखिँदैन ।
ऋग्वेदमा सन्तान जन्माउने संस्कारका बारेमा प्रस्ट उल्लेख गरिएको देखिँदैन, सङ्केत मात्र पाइन्छ तर अथर्ववेदमा पुंसवन सूक्तको नाम नै दिएर पुंसवनसँग सम्बन्धित ऋचाहरूको निर्माण भएको छ । पशुधन तथा कृषि भूमिको विस्तारीकरणसँगै बलियो बन्दै गएको पितृसत्ताले पुत्रको महìव दर्शाउँदै गर्भमा रहेको सन्तान पुत्र नै भएर जन्मियोस् भन्ने अपेक्षासाथ पुंसवन संस्कारको निर्माण गरेको विश्लेषण गर्न सकिन्छ ।
अर्कातर्फ वेदकालमा विकास गरिएका विभिन्न संस्कारजन्य कार्यमा संलग्न हुने तथा भूमिका निर्वाह गर्ने कार्यमा पनि पुरुष केन्द्रित देखिन्छ । ऋग्वेदमा ‘छोरो हुनेले पैतृक कर्म सम्पन्न गर्दछ तथा छोरी हुनेले सम्मान र शोभाधारण गरेको हुन्छ’ भन्ने भावले त्यस समयमा बावुआमाको मृत्यु संस्कारको जिम्मेवारी छोरामा नै निहित हुन्थ्यो भन्ने बुझिन्छ ।
यसको अर्थ छोरालाई वंशको उत्तराधिकार र सम्पत्तिको अधिकार प्राप्त थियो । अर्कातर्फ विवाहपछि छोरीलाई पितृकुलबाट हटाइने भएकाले छोरीमा यो दायित्व नरहेको हुन सक्दछ तर अविवाहित छोरीका हकमा के थियो प्रस्ट तथ्य देखिँदैन । अविवाहित छोरीको पालनपोषणको जिम्मा भने बावु एवं दाजुभाइकै हुने गर्दथ्यो तर अविवाहित अवस्थामा नै बावुको मृत्युमा संस्कारजन्य कार्यमा छोरीको भूमिका के हुन्थ्यो प्रस्ट छैन ।
वेदकालमा सन्तान तथा गर्भको सन्तानको संरक्षण गर्न विभिन्न खालका याज्ञिक अनुष्ठान भएको पनि देखिन्छ । त्यसै गरी सन्तान प्राप्तिका लागि समेत विभिन्न किसिमको दाम्पत्य सम्बन्ध रहने गरेको सन्दर्भ पनि उल्लेख गरिएको छ ।
–युवामञ्च