डडेल्धुरा, भदौ १३ गते । सुदूरपश्चिमको मौलिक पर्व गौराको शुक्रबार दोस्रो दिन गंगा गौराको रुपमा न्वालको गौराको पूजाआजा गरी मनाइँदै छ । यसलाई नानी अर्थात् सानी गौरा पनि भनिन्छ । गौरापर्वको दोस्रो दिन ब्रतालु महिलाहरूले नजिकको न्वाला, धारा, कुवा तथा पानी पँधेरोमा ‘बिरुडा’लाई धोएर मनाउँने गरेका छन । बिरुडा धोएकै ठाउँमा गौरा (माता पार्वती) को प्रतिमा बनाएर पूजा गरिन्छ ।
गौरा पर्वको पहिलो दिन महिलाले निराहार रही आआफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँच प्रकारका अन्न भिजाएर बिरुडा राखी गौरा पर्वको शुभारम्भ गरेका थिए । भाद्र द्वादशमीका दिन मनाइने गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्रमुख मौलिक लोकपर्व मानिन्छ । गौराको पहिलो दिन विरुडा पञ्चमी पर्दछ । यो दिन नारीहरू व्रत बसेर गौरा घर वा पधेरामा बिरुडा (केराउ, गहत, गुरास, गहूँ र मास) मिसाएर बनाइएको पञ्चअन्न भिजाउँछन् । यी पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ ।
अघिल्लो दिन भिजाइएका बिरुडालाई नजिकका न्वाला, धारा, कुवा तथा पानी पधेरोमा लगेर धुने चलन छ । व्रतालु महिलाहरूले बिहानै नुवाइधुवाई गरेर नजिकको न्वाला, धारा, कुवा तथा पानी पँधेरोमा गएर गौरादेवीको पूजाआजा गर्ने पनि गरिन्छ ।
हिमालयपुत्री पार्वतीको नाम गौरी पनि हो, पौराणिक कालमा शिवजीलाई पाउन गौरी अथवा पार्वती देवीले निराहार व्रत उपासना तथा आराधना गरेको विश्वासका आधारमा विवाहित महिलाले महेश्वर गौरीको नित्य पूजा गरी उपासना गर्ने पर्वको रुपमा सुदूरपश्चिममा मनाइने साँस्कृतिक परम्पराको दोस्रो दिन नजिकैको जलाशयमा बिरुडा भिजाउँदै गंगा गौरा पूजन गरिन्ने परम्परा रहिआएको पण्डित लोकराज भट्टले बताउनुभयो ।
गाउँका महिलाहरू सामूहिक रुपमा प्राचिन धारा नाउला तथा जलाशयमा गएर धान, बल साउँ पहेँलो गुबो र तिलको बिरुवालाई एकिकृत गरी माता पार्वतीको प्रतीक बनाइ शुद्ध पहिरन, व्रत बसी निष्ठाका साथ पूजा गरिन्छ भने पञ्चमीको दिन विधिवत राखिएको गहत गुराँस, सानो केराउ, कलाउँ र चना मिश्रण गरिने पञ्च दलहन गेडागुडीको बिरुडालाई धोइपखाली शुभ सगुन फाग गाउँदै गौराप्रसादलाई घर ल्याउने प्रचलन रही आएको पण्डित भट्ट बताउनुहुन्छ ।
गंगागौराका दिन सूर्य र बत्तीलाई अर्घ दिँदै गणेश कलशको पूजा गरी गौरा प्रतिमालाई महिलाहरूले भक्तिभावका साथ पूजेर द्वादशमीकाका दिन गौरापर्वको मुख्य पूजाको आह्वान गरी मुक्ताभरण सप्तमीका दिन मूल गौरा भित्र्याउने चलन रहेको उहाँले जानकारी दिनुभयो ।
विशेष गरी महिलाहरूका लागि अति महत्त्वपूर्ण पर्व गौरामा अटल शौभाग्य, सुखशान्ति र एकता तथा सदभाव कायमका लागि नारी मात्र नभइ पुरुषले पनि चैत, धुमारी र देउडा खेलेर भव्य रूपमा मनाउने गरेका छन् ।