काठमाडौँ, भदौ १२ गते । नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित भएको छ ।
बिहीबार जितका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको साउथ अस्ट्रेलियाले १९.५ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
साउथ अस्ट्रेलियाका लागि विन्टरले सर्वाधिक ३६ रन बनाउनुभयो । यस्तै होगन बोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रन बनाउनुभयो ।
बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिनुभयो । नन्दन यादवले दुई तथा कप्तान रोहित पौडेलले एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४६ रन बनाएको थियो ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रन बनाउनुभयो । यस्तै दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २२, आरिफ शेखले २१ र सोमपाल कामीले अविजित १८ रन जोड्नुभयो ।
बलिङमा साउथ अस्ट्रेलियाका लागि थोम्पसन, ब्राउन र मेनेन्टीले दुई दुई तथा म्याकफाडेन र मेन्जिसले एक एक विकेट लिनुभयो ।
टप एन्ड टी–२० सिरिजका लागि अस्ट्रेलिया पुगेको नेपाल सिरिजको समूह चरणबाट बाहिरिएको थियो । सिरिजपछि नेपालले साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेलेको हो ।
नेपालले यसअघि स्थानीय क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध टी–२० अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको थियो ।