• १२ भदौ २०८२, बिहिबार

जिप दुर्घटनामा दुई जनाको मृत्यु

blog

पुष्कर भण्डारी
डडेल्धुरा, भदौ १२ गते ।
डडेल्धुराको दुर्गम क्षेत्र नवदुर्गा गाउँपालिका–५ को चौडमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रारम्भिक जानकारी अनुसार तीन–चार जनाको मृत्यु र तीन–चार जना यात्रु घाइते भएको अपुष्ट खबर स्थानीयबाट प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार बिहान करिब ८ बजे से १ज ७३८ नं. को जिप दुर्घटना भएको हो । ठाँटा बजारबाट जिल्ला सदरमुकाम आउँदै गरेका जिप सडकभन्दा करिब ५०० मिटर तल खसेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

जिल्ला सदरमुकामबाट करिब४० किलोमिटर टाढा बैतडीको सिगास गाउँपालिकासँग सीमा जोडिएको चौडको कच्ची सडकमा जिप दुर्घटना भएको हो । दुर्घटनाको खबर पाएपछि करिब ८ः३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरोको प्रहरी टोलीसहित एम्बुलेन्स घटनास्थलतर्फ गएको छ ।  

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थल पुग्न करिब दुई घण्टा लाग्ने छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ । दुर्घटना भएको जिप जङ्गलको बिच झाडीमा अडिएको उहाँले बताउनुभयो । प्रहरी घटनास्थल पुगेपछि विस्तृत जानकारी प्राप्त हुने उहाँको भनाइ छ ।