टोपलाल अर्याल
रेसुङ्गा, भदौ १२ गते । जुम्ली व्यापारीलाई तम्घासमा स्याउ बेच्ने चटारो परेको छ । तीजको बेला जुम्ली मिठो स्याउ बजारमा आएपछि दिदीबहिनीहरुले पनि पाहुरमा रुचाएर माइत समेत पुर्याए । जुम्लाका जगतबहादुर शाही र लक्ष्मीकान्त आचार्यसहितका चार जना व्यवसायी मिलेर ५० क्विन्टल स्याउ तम्घास बजारमा ल्याएका छन् । सटर र आफैँले बोकेर बजारका गल्ली र चोकहरु जुम्ली व्यापारीले स्याउ पुर्याउँदै आएका छन् ।
जुम्लाको अर्गानिक स्याउ खाँदा स्वादिष्ट भएकाले बजारमा उपभोक्तामा खोसाखोस छ । गत वर्ष जुम्लेली स्याउ ६० क्विन्टल बिक्री गरेका व्यवसायीले अहिले पनि ५० क्विन्टल ल्याएका छन् । जुम्लाको सिन्जा र तिला गाउँपालिकाका विभिन्न स्थानबाट टिपेर ल्याएका विषादीरहित स्याउ भएकाले उपभोक्ताहरुले निकै रुचाएको शाहीले बताउनुभयो ।
जगत बहादुर शाही, लक्ष्मीकान्त, मनिषचन्द्र र बिष्णु रुद्र आचार्य गरेर चार जना व्यवसायी मिलेर ५० क्विन्टल स्याउ तम्घासमा ल्याउनुभएको हो । अहिले बजारमा प्रति किलो दुईदेखि २५० रुपियाँमा स्याउ बिक्री भइरहेको छ । अहिले गत वर्षभन्दा ४५ रुपियाँ महङ्गोमा स्याउ आएको छ । उहाँहरुले तम्घास बजारमा सटर भाडामा लिएर स्याउन बिक्री गर्दै आउनुभएको छ । व्यवसायीहरुले व्यक्तिगत र किसानहरुसँग समन्वय गरेर स्याउको उत्पादन सङ्कलन तथा बजारीकरण गरिरहेका छन् ।
उनीहरुले मुख्य रुपमा बुटवल र पहाडी जिल्लाहरु गुल्मी तथा पाल्पामा स्याउ बिक्री गर्दै आएका छन् । तम्घास आइपुगेको स्याउ खाँदा जति मिठो छ ल्याउन सजिलो भने छैन । हिमाली गाउँबाट तम्घासम्म स्याउ ल्याउँदा ढुवानी खर्चनै धेरै हुने, जुम्लाको सडक राम्रो नभएका कारण गाडीमा स्याउमा चोट लाग्ने भएका पाँच-सात क्विन्टल बिग्रने गरेको शाहीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “जुम्लेली स्याउ ल्याउनै झ्याउ भयो नबिक्ने भन्ने कुरै छैन । दुई वर्षदेखि तम्घासमा राम्रो व्यापार गरेका छौँ ।’’ शाहीले सिमी फल्ने मौसममा कोहलपुरमा ५०-६० क्विन्टल जुम्ली सिमी पनि बिक्री गर्दै आउनुभएको छ ।
जुम्ला सिन्जाकै ६४ वर्षीय लक्ष्मीकान्त आचार्य १५÷१७ वर्षदेखि गुल्मीमा विभिन्न व्यवसाय गर्नुहुन्छ । रिडी मेलामा राडीपाखी लिएर आएपछि हावापानी र व्यवसाय राम्रो भएकाले तम्घासमा बस्दै आएको बताउने आचार्यले वर्षमा करिव तीन लाख रुपियाँसम्मको राडीपाखी बेच्नुहुन्छ । पछिल्लो दुई वर्ष जुम्लाको स्याउ तम्घास भित्र्याउनु भएका आचार्यले १५ दिन स्याउ सकिएपछि राडीपाखीकै व्यापार गर्ने गर्नुहुन्छ । बजारमा केही व्यापारीले र धेरै उपभोक्तालेनै किनेर स्याउ सकिने आचार्यले बताउनुभयो । उहाँले घरमै डेढ सय बोट स्याउ रोप्नु भएको छ । चैत-वैशाखमा धान मकै र स्याउको काम गर्न घर गएपछि आठ÷नौ महिना तम्घासमै राडीपाखी लिएर हिँड्ने गरेको आचार्यले बताउनुभयो ।
स्याउ बजारको जस्तो आकर्षक नभए पनि खान स्वादिष्ट भएकाले पैसासँग जुम्लाको स्याउको तुलना गर्न नहुने तम्घासमा व्यावसायी कृष्ण पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “बाहिरबाट बजारमा आएको स्याउ विभिन्न केमिकलले चिटक्क देखिन्छ । जुम्लाको स्याउन बोटबाटै बजारमा आउने भएकाले देख्दा नराम्रो भए पनि स्वादिष्ट र विषादीसहित छ ।”
गुल्मी उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ताराप्रसाद भुसालले समग्रमा नेपालकै उत्पादनलाई बजारमा बिक्री हुने कुरालाई स्थानीय व्यवसायीहरुले सहयोग गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै मात्रामा स्याउहरु भित्र्याएपछि स्थानीय व्यापारीहरुलाई स्वभाविक घाटा हुँदा पनि विरोध भएको छैन । यद्यपी टाढाबाट ल्याउँदा धेरै खर्च हुने र उत्पादनले बजारमा उचित मूल्य नपाउँदा जुम्ली व्यवसायी आफैँ समस्यामा छन् ।” राडीपाखी र च्यादरको सन्दर्भमा खासगरी जुम्लाकै उत्पादनहरू भन्दा चीनका सामानहरु जुम्लेलीहरुले बेच्ने गरेकाले विश्वास गुम्ने र उपभोक्ताहरु ठगिने सम्भावना रहेको भुसालले बताउनुभयो ।