अमरराज नहर्की
तनहुँ, भदौ १२ गते । तनहुँ जिल्लामा जापानिज इन्सेफलाइटिस (जे.ई) को सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–२ का ८० वर्षीय एक पुरुषमा सो रोग देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार बिरामीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । त्यहाँ गरिएको परीक्षणपछि जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि भएसँगै प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले रोग नियन्त्रण तथा सचेतना कार्यक्रम सुरु गरेको छ । कार्यालय प्रमुख अमर दवाडीको नेतृत्वमा खटिएको टोलीले प्रभावित क्षेत्रमा सम्पर्क परीक्षण (कन्ट्याक्ट ट्रेसिङ) गर्दै सरसफाइ, लामखुट्टे नियन्त्रण र रोगबारे सचेतनामूलक सन्देश प्रवाह गरेको जनाएको छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने रोग हो, जसले मस्तिष्कमा सङ्क्रमण गरी स्नायु प्रणालीलाई गम्भीर असर पु¥याउन सक्छ । समयमै उपचार नभए बिरामीको ज्यानसमेत गुम्न सक्ने भएकाले सतर्कता आवश्यक हुन्छ । क्युलेक्स प्रजातिको लामखुट्टेले पानी जम्ने ठाउँमा अण्डा दिने भएकाले अहिले सङ्क्रमणको जोखिम उच्च रहेको कार्यालयले जानकारी दिएको छ ।
यस रोग सुँगुर वा हाँसलाई टोकेर लामखुट्टेमा भाइरस प्रवेश गर्ने र त्यसपछि मानिसलाई टोकेर सङ्क्रमण फैलाउने बताइन्छ । तर यो रोग मान्छेबाट मान्छेमा भने सर्दैन। लामखुट्टेले टोकेपछि ६ देखि १६ दिनभित्र लक्षण देखापर्ने हुन्छ । टाउको बेस्सरी दुख्ने, उच्च ज्वरो आउने, घाँटी कडिने र पक्षघात हुने यस रोगका मुख्य लक्षण हुन् । कार्यालयका अनुसार जापानिज इन्सेफलाइटिसबाट बच्न झुल टाँगेर सुत्ने, सुँगुर, हाँस र कुखुरा घरदेखि टाढा पाल्ने, खेतबारीमा काम गर्दा लामो कपडा लगाउने र घर वरिपरिका खाल्डाखुल्डीमा पानी जम्न नदिने जस्ता सावधानी अपनाउनुपर्छ ।