• १२ भदौ २०८२, बिहिबार

रोकिँदै कर्णालीको कटान

blog

स्थानीयले गाउँमै पाइने सामग्री प्रयोग गरेर कटान रोकेको कर्णाली नदी । तस्बिर : ज्योति पन्थी

बबई समाचारदाता  

बबई (बर्दिया), भदौ १२ गते । बर्दिया र कैलालीको सीमा क्षेत्र हुँदै बग्ने कर्णाली नदीले कटान गर्न थालेपछि स्थानीय बासिन्दाले श्रमदानमार्फत जोखिममा रहेका बस्तीलाई जोगाएका छन् । राजापुर नगरपालिका–४ स्थित सङ्घर्षनगर, घुम्ना, दलैगाउँ, शिवपुर र अनन्तपुरलगायतका आधा दर्जन गाउँमा नदीले पुरानो तटबन्ध भत्काउन थालेपछि तीन सयभन्दा बढी स्थानीय एक सातादेखि श्रमदानमा जुटेका थिए । 

कर्णाली नदीको जलसतह बढेसँगै नदीले तत्कालीन कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेको तटबन्धको तल्लो भाग कटान गर्न थालेपछि करिब एक किलोमिटर तटीय क्षेत्रमा समस्या देखिएको थियो । कटान रोक्न स्थानीयले बालुवाको बोरा, झाडी र जङ्गलबाट काटिएका झारपात प्रयोग गरी अस्थायी तटबन्ध मजबुत बनाएका छन् । दलगाउँका बडघर गोपाल थारूले स्थानीयको निरन्तर श्रमदानका कारण यस वर्षका लागि कटान नियन्त्रणमा ल्याउन सफल भएको बताउनुभयो । सङ्घर्षनगरका जलवीर थारूले एक सातादेखि निरन्तर श्रमदानपछि तत्कालीन सङ्कट टरे पनि अझै ढुक्क हुने अवस्था नरहेको बताउनुभयो । 

राजापुर नगरपालिका–४ का वडाध्यक्ष विदुर पोख्रेलले नदीको बहाब बढ्ने समय अझै बाँकी भएकाले सतर्कता आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले यसै आर्थिक वर्षमा स्थायी संरचना निर्माण गरेर कटान रोकथाम गर्नुपर्ने हुन्छ, त्यसपछि मात्र दीर्घकालीन सुरक्षाको सुनिश्चित हुन्छ ।” 

नगरपालिकाको तथ्याङ्क अनुसार यदि दलैघाटबाट नदी गाउँ पसेमा करिब एक दर्जन गाउँ उच्च जोखिममा पर्ने छन् भने एक हजार दुई सयभन्दा बढी घरधुरी प्रभावित हुने अवस्था देखिएको छ । यस पटक तटबन्धको तल्लो भागमा आएको क्षति स्थानीयकै प्रयासमा नियन्त्रणमा आएको भए पनि स्थायी समाधानका लागि नदी व्यवस्थापन अपरिहार्य भएको सरोकारवालाको भनाइ छ । 

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरका प्रमुख सुदिन मोक्तानले गत वर्ष दलैघाट क्षेत्रमा नदी व्यवस्थापनका लागि मन्त्रालयमा स्रोत सहमतिको माग पठाए पनि स्वीकृति नआएपछि काम गर्न नसकिएको जानकारी दिनुभयो । “यस पटक तत्कालका लागि स्थानीयले श्रमदान गरेर बस्ती जोगाएका छन्,” उहाँले भन्नुभयो, “तर दीर्घकालीन रूपमा नदी व्यवस्थापन योजना तत्कालै कार्यान्वयनमा ल्याउन जरुरी छ ।”

स्थानीयले गरेको श्रमदान र सामूहिक प्रयासले कर्णाली नदीको तत्कालीन कटान रोकिएपछि यस वर्षका लागि बस्ती सुरक्षित भएका छन् तर तटबन्धलाई दीर्घकालीन रूपमा बलियो बनाउने र नदी व्यवस्थापन गर्ने काम नहुँदा आगामी वर्ष फेरि जोखिम दोहोरिने स्थानीयको आशङ्का छ ।