• १२ भदौ २०८२, बिहिबार

उपल्लो मुस्ताङको लोमान्थाङ अर्गानिक आलुको पकेट क्षेत्र

blog

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–३, थिंकर गाउँमा करिब एक सय रोपनी क्षेत्रफलमा लगाइएको सामूहिक आलु खेती । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा  
मुक्तिनाथ (मुस्ताङ), भदौ १२ गते  ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–३,थिंकर गाउँमा करिब १ सय रोपनी क्षेत्रफलमा सामूहिक आलु खेती गरिएको छ । समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको बस्तीका १५ जना कृषकले सामूहिक आलु खेती गरेका छन् । आलु उत्पादनका लागि अनुकुल माटो भएको थिंगरका कृषकले हरेक वर्ष सामुहिक र आफ्नो जमिनमा लगाएको आलु खेतबारीबाटै बिक्री गर्ने गरेका छन् । कुनै पनि रासायनिक मल प्रयोग नगरी फलाएको आलुका लागि स्थानीय गाउँपालिका, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आलु खेतीमा प्रोत्साहन गरेपछि स्थानीय कृषक आलु खेतीमा उत्साहित भएको वडा अध्यक्ष आङजेन गुरूङले बताउनुभयो ।

अध्यक्ष गुरूङ भन्नुहुन्छ, ‘‘यहाँका कृषकलाई आलु खेतीले धेरै सहज भएको छ, हरेक बर्ष बाँझो जमिनमा धमाधम आलु खेती विस्तार भइरहेको छ ।’’ गाउँमा आलुखेती गरिएको जग्गामध्ये केही व्यक्ति र केही जग्गा भाडामा लिइएको वडा अध्यक्ष गुरूङले बताउनुभयो । विगतमा खेतीपाती छोडेर बाँझो रहेको जमिनमा समेत अहिले प्राङ्गारिक मल वितरण गरी आलु खेती गरिएको छ । स्थानीय कृषक कर्मा छेन्डु गुरुङका अनुसार उत्पादित आलुको बजार अभाव नभएपछि हरेक बर्ष खेती विस्तार भइरहेको छ ।

‘‘वषौंदेखि स्थानीयले खेती नगरी बाँझो रहेको जग्गामा अहिले आलु खेती भइरहेको छ, बस्ती छोडेर गएकाहरू समेत फर्किएर आलु खेती गरेका छन् ।’’ अगुवा कृषक गुरुङले भन्नुभयो । चिसो हावापानीमा फलेको आलु निकै नै स्वादिलो हुने भएकाले आलुबारीमै ब्यापारीले बुकिङ गर्ने गरेका छन् । लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकाश खत्रीका अनुसार लोमान्थाङका खेतीयोग्य जमिनमा आलु खेती हुने बताउनुभयो ।

स्थानीय जातको बिउसँगै खायन आलु प्रर्बधन कार्यक्रम अन्तरगत समेत अनुदानमा आलुको बिउ लिएर रोप्ने गरिएको छ । लोमान्थाङ गाउँपालिका भित्र यो वर्ष ५० टनभन्दा बढी आलु फलेको अनुमान छ । आलु प्रतिकिलो ६० रुपियाँसम्म बिक्री हुने गरेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङले  लोमान्थाङ गाउँपालिका– ३ फुवा सम्देलिङ कृषक समूहमा ४० रोपनी क्षेत्रफलका लागि  प्राङ्गारिक मल वितरण कार्यक्रममा एक लाख २५ हजार रुपियाँ अनुदान, बिउ आलु सहयोग कार्यक्रममा एक लाख ६८ हजार ७५० रुपियाँ अनुदान दिएको सूचना अधिकारी शिव गणेश कुर्मी चौधरीले जानकारी दिनुभयो ।

त्यसैगरी, वडा नं ४ किम्लिङ कृषक समूह र वडा नं ५ मा रहेको लोमान्थाङ कृषि समुहलाई ३० रोपनीमा प्राङ्गारिक मल वितरण कार्यक्रममा प्राङ्गारिक मल वितरण कार्यक्रममा ९३ हजार ७१२ रुपियाँ अनुदान, बिउ आलु सहयोग कार्यक्रममा एक लाख २६ हजार ५६२ रुपियाँ अनुदान दिइएको चौधरीले जानकारी दिनुभयो । उपल्लो मुस्ताङमा पर्ने लो घेकर दामोदरकुण्ड गाउँपालिकाका किसान समेत धमाधम आलु खेतीमा आर्कषित भएका छन् ।  

मुस्ताङका पाँच स्थानीय तहमा चालु आर्थिक वर्षदेखि आलुको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) सञ्चालन गरिएको छ । परियोजनाको जोमसोमस्थित कार्यालयका प्रमुख भरतराज गौतमका अनुसार व्यावसायिक आलुखेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र बजारीकरणमा सघाउने उद्देश्यले गत आर्थिक वर्ष २०८१/०८२ सालमा आलु जोन कार्यक्रममा ७१ कृषि फार्म, समूह र सरकारी सूचीकृत भएका थिए । जिल्लाभर चार सय ५९ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको गत वर्ष ७ हजार ३२ मेट्रिक्टन उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । यस बर्ष तल्लो मुस्ताङमा धमाधम आलु खनिदैं छ भने उपल्लो क्षेत्रमा असोज महिनाको अन्तिम साता खनिन्छ ।

मुस्ताङमा उत्पादन भएको आलु छिमेकी जिल्ला म्याग्दी सहित  कास्की, काठमाडौँ, बुटवललगायत देशका विभिन्न जिल्लामा निर्यात हुन्छ । चिसो हावापानीमा फलेको आलु निकै नै स्वादिलो हुने भएकाले मुस्ताङ भ्रमणमा जाने पर्यटकले ‘समेत किनेर लैजाने गरेका छन् ।

समुद्री सतहदेखि ४ हजार ५० मिटर उचाइमा रहेको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–३,थिंकर गाउँमा गरिएको आलु खेती । लोमान्थाङको अर्गानिक आलुको माग उच्च रहेको छ ।