कालीकोट, समाचारदाता
कालीकोट, भदौ १२ गते । कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारभित्र सवारीसाधनको अव्यवस्थित पार्किङका कारण दैनिक जीवन अस्तव्यस्त बन्न पुगेको छ । सडक छेउछाउ जथाभाबी पार्किङका कारण पैदलयात्री, विद्यार्थी तथा यात्रुलाई आवतजावतमा कठिनाइ भइरहेको स्थानीयवासीले गुनासो गरेका छन् ।
बजारको मुख्य सडकदेखि गल्लीसम्मै जाम हुने अवस्था आउँदा दुर्घटना हुने जोखिम बढेको छ । व्यवस्थित पार्किङस्थल नहुँदा चालकले बाध्य भएर सडकछेउमै गाडी रोकेपछि समस्या थप बढ्दै हो । स्थानीय लक्ष्मण खत्रीले जिरो प्वाइन्टमा सबैभन्दा अव्यवस्थित पार्किङ गर्ने गरिएको बताउनुभयो । उहाँले अव्यवस्थित पार्किङले आफ्नो व्यवसाय नै जोखिममा परेको उल्लेख गर्नुभयो ।
“बजार आउनासाथ पार्किङ गर्ने ठाउँ पाउन मुस्किल भएकाले सडकमै गाडी रोक्नु पर्छ,” मेडिकल सञ्चालक खत्रीले भन्नुभयो । यसले गर्दा पैदल यात्रु र सर्वसाधारण सबैलाई असुविधा पु¥याइरहेको छ । स्थानीयवासी र व्यापारीले तत्काल मान्म बजारलाई व्यवस्थित पार्किङसहित ट्राफिक व्यवस्थापन गर्न माग गरे पनि अहिलेसम्म खासै सुनुवाइ भएको छैन । जिल्ला प्रशासन कार्यालय कालीकोटका खरिदार लक्ष्मीप्रसाद पाण्डेले ताडीमा बसपार्क निर्माण भए पनि चालकले त्यहाँ पार्किङ नगर्दा समस्या वढ्दै गएको बताउनुभयो ।
स्थानीयले भने अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई कारबाही गर्नुपर्ने बताउँदै आएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कालीकोटले समस्या समाधानका लागि धेरै पटक प्रक्रिया थालेको छ । केही दिन बजारको पार्किङ हटे पनि अझ उस्तै हुने हुँदा ट्राफिक प्रहरी पनि हैरानीमा छ । कर्णाली राजमार्गमै गरिने पार्किङले लामो दुरीका सवारीसाधन र रारा क्षेत्रमा जाने पर्यटकका सवारीसाधनले निकै दुःख पाउने गरेका छन् ।