सुर्खेत समाचारदाता
सुर्खेत, भदौ १२ गते । कर्णाली प्रदेशका अस्पताल तथा स्वास्थ्य संस्थामा फोहोर व्यवस्थापन निकै कमजोर रहेको पाइएको छ । धेरै जसो फोहोर जलाउने गरिएको छ । वातावरणीय दृष्टिले जलाउनु उपयुक्त नभए पनि उपकरणलगायत स्रोतसाधनको अभावमा जलाउने र गाडेर व्यवस्थापन गर्ने गरिएको छ ।
सुर्खेत, दैलेख, जाजरकोट र मुगु जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीको अध्ययन गर्ने क्रममा त्यहाँबाट उत्पादित फोहोरको व्यवस्थापन पक्ष कमजोर रहेको पाइएको हो । फोहोर व्यवस्थापनविज्ञ दीपेन्द्र उप्रेतीले अस्पताल तथा स्वास्थ्य संस्थाबाट उत्पादित फोहोरको व्यवस्थापन निकै संवेदनशील हुने भएकाले त्यसमा कर्णालीका स्वास्थ्य संस्था कमजोर देखिएको बताउनुभयो । उहाँले सुर्खेतस्थित प्रदेश अस्पतालको फोहोर व्यवस्थापन केही सुधारात्मक भए पनि त्यो अपर्याप्त भएको उल्लेख गर्नुभयो । पूर्वाधार तथा उपकरण अभावले यसमा सुधार आउन नसकेको र सरकारी तथा विकास साझेदार निकायले यसमा सहयोग गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । यता युनिसेफ, एन्फोलगायतका संस्थाको सहयोगमा रुकुमेली समाज विकास केन्द्रले गरेको अध्ययनमा स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन चार प्रतिशत मात्र देखिएको पाइएको जनाएको छ । केन्द्रका कार्यव्रmम संयोजक बमकुमार खड्काले सुरुमा यी स्वास्थ्य संस्थामा अध्ययन गर्ने क्रममा फोहोर व्यवस्थापन पक्ष कमजोर रहेको पाइएको बताउनुभयो ।
उहाँले आधारभूत खानेपानीको अवस्था ८१ प्रतिशत, सरसफाइको अवस्था २१ प्रतिशत, स्वच्छता ७१ प्रतिशत तथा वातावरणीय सफाइमा ०.२ प्रतिशत मात्रै देखिएको उल्लेख गर्नुभयो । यसैलाई ध्यानमा राख्दै अस्पतालबाट उत्पन्न हुने फोहोर व्यवस्थापन, खानेपानी, सरसफाइ तथा स्वच्छता सुधार, सङ्क्रमण नियन्त्रण, प्रयोगशाला तथा पानी र फोहोर पानीको गुणस्तर परीक्षण निगरानी, क्षमता अभिवृद्धिका लागि कर्णाली प्रदेशका चार वटा जिल्लाका नौ वटा स्वास्थ्य संस्था छनोट गरी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
सुर्खेतको प्रदेश अस्पताल र वीरेन्द्रनगर नगरपालिकाको नगर अस्पताल तथा दौलतपुर आधारभूत स्वास्थ्य केन्द्र, दैलेखको दैलेख जिल्ला अस्पताल र दुल्लुको नगर अस्पताल तथा कालभैरव स्वास्थ्य चौकी, जाजरकोटको जिल्ला अस्पताल र मुगुको जिल्ला अस्पताल तथा छायानाथ रारा नगरपालिकाको ढुङ्गेधारा स्वास्थ्य चौकीलाई यी कार्यक्रमका लागि छनोट गरिएको हो । यस कार्यक्रमबाट नवजात शिशु मृत्यु तथा बाल मृत्युदरमा कमी आउने, पानीको गुणस्तरमा वृद्धि हुने, सरसफाइमा सुधार आउने, स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापनमा सुधार आउनेलगायतका उपलब्धि हासिल गर्ने लक्ष्य राखिएको खड्काले बताउनुभयो । यो कार्यक्रम सन् २०२६ सम्म सञ्चालन हुने छ ।
सरसफाइविज्ञ सिद्धि श्रेष्ठले यस कार्यक्रमले कर्णालीका चार जिल्लाका पाँच स्थानीय तहसहित देशभरका ७० पालिकाको स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गरिने जानकारी दिनुभयो । उहाँले यस कार्यक्रमबाट स्वास्थ्य संस्थाको आधारभूत सेवामा सुधार ल्याउने उल्लेख गर्नुभयो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक तेजकुमार दर्लामीले कर्णालीको स्वास्थ्य क्षेत्रमा धेरै पक्षमा काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले जुन पक्षमा कमजोर छ, त्यहीमा लगानी र सहयोग गर्न विकास साझेदार पक्षलाई आग्रह गर्दै स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सँगै अगाडि बढ्न सुझाव दिनुभयो ।