• १२ भदौ २०८२, बिहिबार

घरबासको पर्खाइमा बिच्छ्या र कवाडीवासी

blog

बाजुरा समाचारदाता

बाजुरा, भदौ १२ गते । बाजुराको बिच्छ्या र कवाडीवासी यतिबेला घरबासको परर्खाइमा रहेका छन् । गत साउन २८ गते राति अविरल बर्सातसँगै आएको बाढीले उनीहरूको घरबास सबै बगाएपछि यति बेला उनीहरू घरबासको पर्खाइमा रहेका हुन् । हिमाली गाउँपालिका–१, बिच्छ्यामा आठ घर बगाएको र नौ घर पूर्ण जोखिममा परेका छन् भने यहाँको वडा नं.–५ कवाडीमा पनि १६ घर बगाएको र ३२ घरमा पूर्ण क्षति भएका छन् । अहिले यहाँका स्थानीय त्रिपालको सहारामा रात काटिरहेका छन् । 

घर बाढीले बगाएपछि अहिले खुला आकाशमा त्रिपालमुनीको बास गरिरहेको हिमाली गाउँपालिका–१, बिच्छ्यामा  सुवलाल थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “घरसँगै खानेकुरा पनि सबै बगायो । खानका लागि त गाउँपालिकाले चामल दिएको छ तर बस्ने घरको समस्या छ ।” जसरी स्थानीय सरकारले हामीलाई विपत्को बेला राहत सहयोग गर्दै आएको छ । त्यसै गरी घरको व्यवस्था गरिदिन पनि उहाँले आग्रह गर्नुभएको छ । 

बाढीपहिरोले यहाँ मानवीय क्षति नभए पनि यहाँ भौतिक पूर्वाधारमा भने ठुलो क्षति भएको छ । यहाँका स्थानीयका घर, छाना, जग्गा जमिन, पुल, सडक, विद्यालय र खानेपानीलगायतका थुप्रै भौतिक पूर्वाधार ध्वस्त पारेको हिमाली गाउँपालिकाले जनाएको छ । पालिकाले आफूले सक्ने जति राहत वितरण गरिसकेको छ । उनीहरूको बास, कपासका लागि अन्य स्थानीय प्रदेश र सङ्घीय सरकारसँग सहयोगको अपेक्षा गर्दै आएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो । पीडितका लागि  घरबासको व्यवस्थाका लागि गृह मन्त्रालयमा पत्राचार गरेको जिल्ला प्रशासन कार्यालय बाजुराका सूचना अधिकारी शीतलबहादुर रातलले बताउनुभयो ।