माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), भदौ १२ गते । भारतले नेपाललाई उपहार दिएको मुर्रा जातका राँगामध्ये एक मरेको छ । राष्ट्रिय पशु प्रजनन् कार्यालय छिनेडाँडामा राखिएका ७ मुर्रा राँगामध्ये रोहित नामक राँगा गत साउन ३० गते मरेको कार्यालयका निमित्त प्रमुख विश्वनाथ गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिरामी भएको राँगा उपचारका क्रममै मरेको हो । गत साउन १७ गतेदेखि बिरामी परेको राँगालाई उपचारका सबै उपाय अपनाउँदा पनि बचाउन नसकिएको गौतमको भनाइ छ ।
गौतमका अनुसार घाँटी सुनिने, उच्च ज्वरो आउने र आँखामा रातोपन देखिएपछि उपचार गरिँदै आएकोे थियो । राँगामा भ्यागुते रोगको लक्षण देखिएपनि सोही रोगको कारण राँगा मरेको पुष्टि नभएको गौतमले बताउनुभयो ।
“कृषि तथा पशुपन्छि विकास मन्त्रालयबाट एउटा टिम आएर सबै रिपोर्ट लगेको छ,”उहाँले भन्नुभयो, “प्रारम्भिक आशङ्का भ्यागुते रोग भन्ने हो, तर, सबै रिपोर्टको विश्लेषण गरेपछि मन्त्रालय नै पुष्टि गर्नेछ ।” उहाँका अनुसार पाँच पटकसम्म ल्याबमा परीक्षणका लागि नमुना सङ्कलन गरी पठाएको उहाँले जानकारी दिनुभयो । अथक प्रयास गर्दा पनि रोहित राँगालाई बचाउन नसकिएको गौतमको भनाइ छ ।
पशु चिकित्सकहरूका अनुसार ‘पास्चुरेला मल्टोसिडा’ जीवाणुका कारण सर्ने भ्यागुते रोग अत्यन्त खतरनाक मानिन्छ । सङ्क्रमित राँगालाई छुट्टै राखेर उपचार गरिएको र अन्य राँगामा रोग सर्न नदिएको गौतमको भनाइ छ । गौतमका अनुसार रोहित राँगा वीर्य उत्पादनका लागि प्रयोग भइरहेको थियो ।
भारतले नेपाललाई १५ मुर्रा राँगा दिएको थियो । तीमध्ये सात पोखरा, पाँच लहान र तीन बाँके पठाइएका थिए । पोखरामा रहेका सातमध्ये दुईबाट गत वर्षदेखि वीर्य सङ्कलन सुरु गरिएको थियो, जसमध्ये एक ‘रोहित’को मरेको हो । बाँकी पाँच अहिले तालिम र अनुकूलन प्रक्रियामा रहेका छन् । विशेषज्ञहरूले यसलाई राष्ट्रिय स्तरको पशु प्रजनन योजनाका लागि क्षतिको रूपमा लिएको भए पनि सङ्कलित वीर्यले केही समय उत्पादन सहज हुने विश्वास गरिएको छ । वीर्य सङ्कलन र नश्ल सुधारको लागि राँगा ल्याइएको थियो । यहाँ भएका अन्य राँगाहरु स्वस्थ्य रहेको गौतमले बताउनुभयो ।