• १२ भदौ २०८२, बिहिबार

अब ठूलो पर्दामा ‘हरिबहादुर’

blog

काठमाडौँ, भदौ १२  गते ।  नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ । उहाँले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गर्नुभएको उक्त पात्रले समाजका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गर्दै दर्शकको मन जितेको थियो । यो पात्र धेरैका लागि बाल्यकालको अभिन्न हिस्सा बनेको छ । लामो समयदेखि सानो पर्दा र रङ्गमञ्चमा हराइरहेका ‘हरिबहादुर’ नामक पात्रलाई अब दर्शकले ठूलो पर्दा अर्थात् चलचित्रमा देख्न पाउनेछन् ।  

गएको वैशाखमा प्रदर्शन भएको चलचित्र ‘भूठान’ मा गम्भीर पात्रमा देखिनुभएका अभिनेता आचार्यले आगामी चलचित्र ‘हरिबहादुरको जुत्ता’ मार्फत दर्शकलाई हँसाउन र मनोरञ्जन प्रदान गर्न ‘हरिबहादुर’ बनेर प्रस्तुत हुनुभएको छ । बुधबार चलचित्रको श्रव्यदृश्य ९टिजर० सार्वजनिक गर्नुहुँदै उहाँले समसामयिक विषयमा रमाइलो चलचित्र तयार भएको बताउनुभयो । आचार्यले भन्नुभयो, “भूठान चलचित्रमा काम गरेपछि त्यस्तै किसिमको भूमिका मात्र गर्छ कि भन्ने पनि रहेछ, तर म सबै किसिमको पात्रमा काम गर्न चाहन्छु । ‘हरिबहादुरको जुत्ता’ मा मलाई रमाइलो पात्र निर्वाह गर्दै गरेको देख्न सक्नुहुनेछ ।”

अभिनेता आचार्यले नै पटकथा तथा संवाद लेख्नुभएको चलचित्रको ‘कन्सेप्ट’ का विषयमा चर्चा भएपछि चलचित्रको स्वरूप लिएको रहेछ । “मैले सरोज भाइ (गायक सरोज ओली) लाई चलचित्रको विषय सुनाएको थिएँ, उहाँ नै निर्माणमा अग्रसर भएपछि चलचित्र तयार भएको छ । यसले पर्दामा देखिने पात्रसँग दर्शकलाई जोड्छ भन्नेमा विश्वत छु”, उहाँले भन्नुभयो । 

अभिनेता आचार्यले उक्त चलचित्र आउँदो दसैँलाई लक्षित गर्दै असोज १३ गते प्रदर्शन हुने जानकारी दिनुभयो । 

निर्देशक दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको यस चलचित्रमा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, सीता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारले अभिनय गर्नुभएको छ । 

गायकद्वय सरोज ओली र मोहितवंश आचार्यले निर्माण गर्नुभएको चलचित्रमा कृष्णबहादुर थापाले छायाङ्कन, नकुल खड्काले सम्पादन, वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतले सङगीत सिर्जना गर्नुभएको छ । रासस