चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ १२ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ कालीखोलास्थित पर्यटकीय गन्तव्य तिम्बुङ पोखरीको प्रवर्धन र विकास गर्न ‘तिम्बुङ पोखरी ट्रेल रन’ प्रतियोगिता आयोजना गरिने भएको छ । पाँचथर र ताप्लेजुङको सिमानामा रहेको तिम्बुङ पोखरी क्षेत्रको प्रचार–प्रसारसँगै प्रवर्धन गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
सिदिङ्वा गाउँपालिकाको आर्थिक सहयोगमा आगामी भदौ २६ गते तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता गर्ने गरी तयारी सुरु गरिएको तिम्बुङ पोखरी संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ । समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको तिम्बुङ पोखरी पूर्वकै आकर्षक र स्थापित धार्मिक पर्यटकीय गन्तव्य हो ।
पर्यटकीय गन्तव्य तिम्बुङ पोखरीमा अधिक पर्यकट भित्र्याउने र थप प्रवर्धन र विकास गर्ने उद्देश्य राखेर प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक अमिर राईले जानकारी दिनुभयो । राईका अनुसार गत आर्थिक वर्षमा सम्पन्न गरिएको प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सवका अवसरमा आयोजित खुला म्याराथनको निरन्तरतास्वरुप तिम्बुङ पोखरी ट्रेल रन आयोजना गर्न लागिएको छ ।
तिम्बुङ पोखरी ट्रेल रनका विजेताले खुलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै ट्रेल रन (दौड) प्रतियोगितामा महिलातर्फ र स्थानीय विजेतालाई छुट्टै पुरस्कारको व्यवस्था गरिने समितिले जनाएको छ । तिम्बुङ पोखरी क्षेत्रअन्तर्गत नै पर्ने तीन हजार ५१५ मिटर उचाइ रहेको पर्यटकीय गन्तव्य सिदिङ्वाधाममा गत जेठ दोस्रो साता पर्यटन महोत्सव आयोजना गरिएको थियो ।
सिदिङ्वा गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी, सिदिङ्वाधाम, ढङ्ढङ्गे झरना, चमेरे गुफा, हात्ती ढुङ्गा लगायतका स्थलको थप प्रचारप्रसार र प्रवर्धन गर्ने उद्देश्यले महोत्सव तथा प्रतियोगिताहरु गर्न सुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँदै पर्यटन प्रवर्धन र विकास गर्न कार्यक्रमहरुलाई निरन्तरता दिने पनि गाउँपालिकाले जनाएको छ ।