• ११ भदौ २०८२, बुधबार

मुख्यमन्त्री बानियाँले चेपाङको घर बनाउने

blog

सुमनसिंह चेपाङ बस्दैआएको घर ।

शिवकुमार रिजाल (काशी)

मनहरी (मकवानपुर), भदौ ११ गते । पाखो खोरियाको डिलमा फरियाको छानो भएको छाप्रोमा जीवन बिताउँदै आइरहेका सुमनसिंह चेपाङ (प्रजा) को घर बन्ने भएको छ । 

राक्सिराङ गाउँपालिका –१ इन्द्रुङमा बस्दै आइरहेको सुमनसिंहको परिवारलाई खाद्यान्न सहयोग भएकोबारे गोरखापत्रसहितका सामाजिक सञ्जालहरुमा समाचार प्रकाशन भएको थियो । 

एक महिने श्रीमतीको र शिशुको लालनपालनसँगै घामपानी छेक्ने टहरो समेत गतिलो नहुँदा सुमनसिंह निकै तनावमा हुनुहुन्थ्यो । दशैँअघि नै बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले उहाँलाई व्यक्तिगत रुपमै घर बनाइदिने प्रतिवद्धता जनाउनु भएको छ । 

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, नेपाली काँग्रेस राक्सिराङका नेताहरुको समेत मौखिक आग्रहमा मुख्यमन्त्री बानियाले घर बनाइदिने घोषणा गर्नुभएको हो । 

सुमन सिंह मकवानपुर क्षेत्र २ को प्रदेशसभा (ख) अन्तर्गतका मतदाता हुनुहुन्छ । मुख्यमन्त्री बानियाँ पनि यसै क्षेत्रबाट निर्वाचन जितेर मुख्यमन्त्री हुनु भएको छ । राक्सिराङ गाउँपालिका अध्यक्ष मल्लले चेपाङको घर बनाउन दाताको खोजी भइरहेको बताउनुभएको थियो ।

अरु कसैले नबनाइदिए आफ्नै तलव भत्ताकै रकमबाट घर बनाइदिने बताएका मल्लले मुख्यमन्त्री बानियाँलाई यो कुरा जानकारी गराएपछि बानियाँले व्यक्तिगत खर्चमै घर बनाइदिने प्रतिवद्धता ब्यक्त गर्नु भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

‘दुई कोठा, एउटा भान्सासहित शौचालय र बाथरुम सहितको घर दशैँअघि नै निर्माण गर्नका लागि मुख्यमन्त्री बानियाँले निर्देशन दिनुभएको छ’, अध्यक्ष मल्लले भन्नुभयो, ‘अब धमाधम घर निर्माणमा लाग्नेछौं ।’ मुख्यमन्त्री बानियाँले केहीदिनअघि पनि मनहरी गाउँपालिका –९ कि विपन्न दलित एकल मिठुमाया सुनारको पनि घर निर्माण गरिदिने घोषणा गरी २ लाख रुपियाँको चेक हस्तान्तरण गरिसक्नु भएको छ ।