• ११ भदौ २०८२, बुधबार

कोपरादेखि पाइखानासम्म

blog

आधुनिकता र सहरीकरणसँगै प्रायःले बिर्सिसकेको वस्तु हो ‘कोपरा’ । बृहत् नेपाली शब्द कोषमा कोपराको अर्थ केटाकेटी वा बिरामीलाई दिसापिसाब गराउन प्रयोग हुने पित्तल, तामचिन र आल्मुनियमलगायतको भाँडो अथ्र्याइएको छ ।

तर कोपरा भाँडोको अर्थ यतिमै सीमित छैन । यो भाँडो नेपालको परम्परागत पाइखाना (शौचालय ) भएको विश्वास गरिन्छ । केही वर्षपहिलेसम्म काठमाडौँ सहरमा पनि रातको समयमा दिसापिसाब लागेपछि कोपरा बस्ने चलन थियो । गाउँघरतिर शौचालयको विकास नहुन्जेलसम्म बिहान खोला, खोल्सा वा बाटो किनारामा र राति कोपरा प्रयोग हुने गरेको सम्झना ताजै छ । शौचालयको विकास भएपछि कोपरा लोप भएको काठमाडौँ महानगरपालिका सार्वजनिक निजी साझोदारी एकाइ प्रमुख नरेन्द्रवीर बज्राचार्यको बुझाइ छ ।

उनका अनुसार कोपराको विकसित रूप पाइखाना हो भने पाइखानाको आधुनिक स्वरूप शौचालय हो । जनजिब्रोबाट हराइसकेको यो भाँडो भेटाउन अस्पताल पुग्नु पर्छ । प्रायः अस्पतालले अशक्त बिरामीका लागि प्लास्टिक र पित्तलको कोपरा व्यवस्था गरेको हुन्छ ।

पाइखानाको विकास

नेपालमा पाइखानाको विकास कहिले भयो ? यस विषयमा भिन्न भिन्नै इतिहास पाइन्छ । प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणा युरोप भ्रमण गरी नेपाल फर्केपछि इँटा–माटो मिलाएर पाइखाना बनाउन लगाएको बुझिन्छ ।

युरोपका बेलायत र फ्रान्स जस्ता देशमा पाइखानाको व्यवस्था भएकाले जङ्गबहादुर राणाले त्यसैको सिको गरी दरबारभन्दा टाढा र एकान्त स्थानमा पाइखाना बनाउन लगाएका थिए । कोलकाताको प्रभावले नेपालमा पाइखाना बनाउने चलन बसेको भन्ने पनि गरिन्छ ।

कुनै बेला कोलकाता ब्रिटिस–इन्डिया कोलोनीको राजधानी रहेको थियो । वज्राचार्यका अनुसार काठमाडौँ सहरवासीले पाइखाना प्रयोग गर्न थालेको डेढ सय वर्ष लामो इतिहास छ । काठमाडौँमा पाइखाना स्थापनाको आधिकारिक प्रमाण नभेटिए पनि १९६८ सालको पहिलो जनगणनामा सार्वजनिक जग्गामा बनाइएका संरचना समेटिए । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सत्तल, पाटी, धर्मशाला, घर, गोठ र पाइखाना जस्ता शब्द समेटिएका थिए ।

तत्कालीन राजा र राणाहरूका दरबारभित्र पाइखाना नभेटिएकाले एकान्त एवं सार्वजनिक स्थानमा यी बनाएको देखिन्छ । नेवार समुदायमा ८/१० वटा घर परिवारको एउटै पाइखाना बनाउने चलन थियो ।

तर पछि परिवार सङ्ख्या बढ्दै जाँदा आफ्नै घरको भुइँतला (छिँडी) मा कम उचाइ भएको पाइखाना बनाउन सुरु गरेको पाइन्छ । काठमाडौँ सहर नगरपालिकामा रूपान्तरण भएपछि भने जात्रा लाग्ने र भीडभाड हुने स्थानमा पनि सार्वजनिक पाइखाना बनाइएका थिए ।

माटो, इँटा र काठले बनेको घरको सबैभन्दा मुनि एउटा पाइखाना र त्यसैको आडैमा पानी राख्ने सानो ट्याङ्की, माटो वा प्लास्टिकको भाडो प्रयोग गर्ने चलन थियो ।

शौचालयको इतिहास

शौचालयको सुरुवात इसापूर्व १२ सय वर्षपहिले इजिप्टबाट भएको पाइन्छ । त्यसपछि युरोपका विभिन्न देशमा व्यवस्थित शौचालयको विकास भएपछि फ्रान्स, बेलायत, चीन, जापान र भारत हुँदै यो नेपाल भित्रिएको देखिन्छ ।

शौचालय वा पाइखाना नबन्नुअघिसम्म गाउँघर मात्र होइन सहर बस्नेहरू शौच वा पिसाबका लागि झाडी, एकान्त स्थान, खोला खोल्सा, घरको कुनो वा पर्खाल, रुखको फेद, खेतबारी खोज्दै हिँड्थे ।

शौचालय आफैँमा शब्द मात्र नभई पाइखानाको विकसित स्वरूप भएकाले यसमा धेरै सुविधा हुने गरेको बुझाइ छ । सेफ्टी ट्याङ्कीदेखि पानी फ्लस गर्ने सुविधाका कारण शौचालय शब्द लोकप्रिय बन्यो ।

चलनचल्तीको भाषामा शौचालयलाई पाइखानाका अतिरिक्त चर्पी, टट्टीखाना, बाथरुम पनि भन्ने गरेको पाइन्छ । विशेष गरी आधुनिक जमानामा सिमेन्ट, बालुवा, गिट्टीको प्रयोगसँगै सेरामिकबाट बनाइएको आकर्षक प्यान वा कलात्मक कोमोड राखेर शौचालय तयार हुन्छ ।

शौचालयमा पानीको भाँडो वा धारा अत्यावश्यक मानिन्छ । नेपालमा यस्तो शौचालयको संस्थागत विकास भने २०५२ सालबाट सुरु भएको प्रदेश सहरी विकास तथा भवन कार्यालयको दस्ताबेजमा उल्लेख छ ।

तत्कालीन समयमा एक अन्तर्राष्ट्रिय दातृ संस्थाले सरकारी कार्यालयमा व्यवस्थित शौचालय निर्माण अनिवार्य आवश्यकता रहेको सुझाव र बजेट दिएको थियो । ‘एक घर एक शौचालय’ निर्माण कार्यमा सहयोग पुग्ने गरी सरकारसँगको सहकार्यमा सरसफाइसम्बन्धी नयाँ योजना लागु भयो ।

हैजा जस्ता महामारी रोग नियन्त्रण, गाउँबस्ती तथा सहर सफा राख्न शौचालय निर्माण अभियान अपरिहार्य जस्तै थियो । जुन सफल पनि भयो ।

२०५८ सालको जनगणनामा शौचालयको सङ्ख्या पनि गणना गरी २०६० सालपछि ‘एक घर एक शौचालय’ अभियान सञ्चालनमा आएको सो कार्यालयले जनाएको छ । कङ्व्रिmटबाट बन्ने घरको प्रत्येक तलामा शौचालय बनाउने गरिन्छ । शौचालय पनि महिला, पुरुष, अपाङ्ग वा बालमैत्री र तेस्रो लिङ्गीका लागि निर्माण हुने गरेका छन् ।

त्यस्तै सार्वजनिक स्थान (सडक बाटो, बसपार्क, खेलकुद मैदान, उद्यान, पोखरी, प्रतीक्षालयलगायत) भएका स्थानमा पनि शौचालय अनिवार्य गरिएको छ । महानगरपालिकाले विभिन्न निकायसँग सहकार्य गरी ५८ वटा सार्वजनिक र विभिन्न व्यावसायिक भवनको ३८ वटा गरी ९० वटा शौचालय सञ्चालनमा ल्याएको छ । 

–देवबहादुर कुँवर  

–युवामञ्च