पार्टी प्यालेसमा जानकीदेवी र मदनदासको पचासौँ विवाह महोत्सव भव्यताका साथ मनाइरहेको थियो । त्यस महोत्सवमा सहभागी हुन विदेशमा बस्ने छोराछोरी, ज्वाइँ, बुहारी, नाति, नातिना र उनीहरूका आफन्तहरू तथा साथीभाइ सबै भेला भई रमाइरहेका थिए ।
पेय पदार्थमा कोकाकोलादेखि लिएर विदेशी वाइन, ह्विस्की, जुस प्रशस्तै थिए । स्न्याक्स पनि शाकाहारी र मांसाहारी प्रशस्तै राखिएका थिए । सबै जना आआफ्ना तालले खुसी हुँदै आनन्दका साथ खाइपिइरहेका थिए ।
मदनदासका साथीभाइ र आफन्तहरूले ५० औँ विवाह महोत्सव भोज भव्य दिएका थिए । यस्तो भव्यता उनले छोराछोरीको विवाहमा पनि गरेको थिएनन् । मदनदासको अनुहारमा हर्ष र उल्लास देखियो । जानकीको मुहारमा पनि खुसीको लहर नै देखिएको थियो ।
भोजको भोलिपल्ट घरमा उनीहरूका छोराछोरीलगायत सबै जना धेरै वर्षपछि रमाइलो जमघट भइरहेको थियो । खुसी माहोल थियो । हाँसखेल, ख्यालठट्टा भइरहेको थियो । मदनदास पनि दङ्गदास थिए । मदनदास सायदै यस घरमा यति खुसी हुन्थे ।
अचानक जानकीले सबैको अगाडि भनिन्, “म एउटा कुरा भन्न चाहन्छु ।” जानकीका यी शब्द सुनेर सबै छक्क परे । कहिले पनि मुख नखोल्ने जानकीले भनेको यस्तो वाक्य सुनेर सबै जना कौतूहलपूर्वक जानकीलाई हेरे । जानकीले भनिन्, म मदनदाससँग पारपाचुके गर्न चाहन्छु । यो कुरा सुनेर सबै जना आश्चर्यचकित भई मुखामुख गर्न थाले । हँ पारपाचुके रे बुवासँग ? छोराले आमातिर हेरेर भन्यो । किन यो उमेरमा आएर लोग्नेस्वानी छुट्टिएर बस्ने, छोरीले सोधिन् । “सधैँभरि गुम्सिएर घरको पिँजडाभित्र थुनिएर बस्ने इच्छा मेरो पनि भएन, स्वतन्त्र चरा झैँ खुला नीलो आकाशमा उड्ने चाहना भयो ।” जानकीले भनिन् ।
के भनेको यस्तो जानकी, बौलाही त भइनौँ ? सबै जना कराउन थाले । हैन म बौलाही भएकी होइन । बल्ल म होसहवासमा बोल्दै अब म यो पारिवारिक बन्धनमा बस्न चाहन्न । मैले बुझिसकेँ पनि मान्छे नै हुँ, मेरा पनि इच्छा आकाङ्क्षा छन् । कहाँसम्म यी मेरा यी रहरलाई गुम्स्याएर राखुँ ? मैले यस परिवारका लागि मेरो यौवन, इच्छा, आकाङ्क्षा समर्पित गरेँ । जीवन नै यस घरमा बिनास्वार्थ बित्यो ।
आमा । तपाईंलाई यस बुढेसलकालमा पनि यस्तो भन्न लाजसरम लाग्दैन ? हाम्रो परिवारलाई समाजले के भन्ला ? हाम्रो बाउबाजेको इज्जत फाल्ने कुरा किन गर्नुहुन्छ ? तपाईं होसमा त हुनुहुन्छ ? फेरि मदनदासका भाइ र दिदीबहिनीले पनि थपे, “जानकी भाउजू तपाईंले हामीलाई आमाबुवाको माया दिनुभयो । हाम्रो स्याहार सुसार गर्नुभयो । आमाबुवा झैँ बिनास्वार्थ स्याहार्नुभयो । हामी तपाईंप्रति कृतज्ञ छौँ । साँचै भनुँ भने यो घर नै तपाईंको योगदानले यति सुन्दर अवस्था पुगेको हो ।
जानकी यस घरमा १३ वर्षको उमेरमा विवाह भएर भित्रिएकी हुन् । उनी मामाघरमा पालिएकी मदनदासका बुवाकी साथीकी छोरी हुन् । पाँच कक्षा पढ्दै गरेकी जानकीलाई १६ वर्षका मदनदाससँग विवाह गरिदिएका थिए किनभने मदनदासकी आमा सधैँ बिरामी भइरहन्थिन् । मदनदासलगायत अरू छोराछोरी सानै थिए । घरमा काम गर्ने कोही नभएर काम गर्नका लागि मदनदासलाई साथीकी ज्ञानी र असल छोरी जानकीलाई विवाह गरिदिएका थिए । नभन्दै जानकी आएको दिनदेखि कलिलो उमेरमा नै सासूको स्याहार, घरको कामकाज र घरमा सबै परिवारलाई स्याहारसुसार गरी घरलाई सुन्दर बनाउन सक्षम भइन् ।
त्यस बेला मदनदास एसएलसी पास गरी आइएससी पढिरहरहेका थिए । आइएससी पास भएपछि भारतमा इन्जिनियरिङका लागि छात्रवृत्तिमा पढ्न गए ।
यता जानकी घरको कामकाजमा भुलिरहिन् उनलाई आफ्नो कुरामा कुनै वास्ता नै भएन । आमाबुवा नभएकी टुहुरी जानकी सासूससुराको सेवा गर्न पाउँदा आफू धन्य ठान्थिन् । भाइबहिनी नभए पनि देवरनन्दहरूलाई गरेको निःस्वार्थ मायामा धेरै नै खुसी थिइन् । आफूलाई माया गर्ने सासूससुरा, नन्द, देवर पाएर आफूलाई भाग्यमानी ठान्थिन् ।
श्रीमान् मदनदासप्रति उनको केही गुनासो थिएन । बिदामा आउँथे, केही दिन बसेर जान्थे । ऊप्रति उनको कुनै भावना नै थिएन । साँच्चै भन्नु भने लोग्नेको सम्बन्ध के हो ? थाहा नै भएन । दिन बित्दै गयो जानकी यौवनावस्थामा पुगिन् । मदनदास पनि आफ्नो पढाइ पूरा गरी घर आए । अब जानकीलाई लोग्नेले दुई शब्द मायाले बोलून्, सँगै बसून् जस्तो हुन थाल्यो तर मदन भने जानकीसँग नजिक हुन नै आउँदैनथे । जानकी र मदनदास एउटै कोठामा बस्थे तर ओछ्यान दुई वटा । सासूले जानकीलाई सधैँ भन्थिन्, “अब त नातिनातिनाको मुख हेर्न मन लागिसक्यो । कहिले हुने खै ?” “मलाई के भन्नुहुन्छ तपाईंकै छोरालाई भन्नुहोस् न ।”
मदनदासलाई आमाले भनिन्, “बाबु जानकीको स्याहारसुसारले म अलि तङ्ग्रिएँ । मर्नुभन्दा अगाडि मेरो एउटा इच्छा पूरा गरिदेऊ । तिमीहरूको सन्तानको मुख हेर्न मन छ, मलाई हेर बाबु मेरो रोग निको हुने होइन । म आज हो कि भोलि । मेरो यो इच्छा पनि पूरा गरिदेऊ ।
मदनको व्यवहार जानकीप्रति फरक भयो । नभन्दै जानकी गर्भवती पनि भइन् । जुम्ल्याहा छोराछोरी एकैचोटि जन्माइन् । घरका सासूससुरा, देवर नन्दहरूको खुसीको सीमा नै रहेन । मदनको जागिर भएपछि धेरै जसो बाहिर नै सरुवा भयो । मदनको आफ्नो अफिसकी एउटी केटीसँग माया बसेको हल्ला उनीहरूको घरसम्म नै पुग्यो । सासूको कानमा यो कुरा सुन्नेबित्तिकै धेरै बिरामी भएर बितिन् पनि । जानकी दोहोरो मार प¥यो । घरको सम्पूर्ण भार उनैमाथि प¥यो । लोग्नेले गरेको अवहेलनाको चोट प¥यो ।
उनको जीवन छोराछोरीलाई स्याहार्दै घर धान्ने, देवरनन्दहरूको व्यवहार गर्दै आफ्नो बारेमा केही स्वार्थ नराखी कर्तव्य सम्हाल्दै बित्यो ।
मदनदास कहिलेकाहीँ घरमा आउँथे धेरै बाहिर जिल्लातिर नै सरुवा हुन्थे । देवरनन्द पनि विवाह भएर आआफ्ना घरमा सुखीसँग बस्न थाले । उनीसँग साधारण कुराबाहके सल्लाहसाउती हुँदैनथ्यो । केटाकेटी पनि ठुला भए । उनीहरूको पनि विवाह भयो र छोरा छोरी विदेशतिर बसे । देवरनन्दको पनि विवाह भएर आआफ्ना घरमा खुसीसँग बस्न थाले ।
यसैबिच ससुराको पनि देहान्त भयो । पचास वर्ष नाघेपछि उनी एक्ली भइन् । अब उनी घरको व्यवहारबाट मुक्त भइन् । धार्मिक, साहित्य कार्यमा उनी व्यस्त भएर त्यसैमा रमाउन थालिन् । कसैसँग केही गुनासो छैन । आफ्नो तालमा स्वतन्त्रतापूर्वक रमाइरहिन् ।
अचानक मदनदासलाई प्रोस्टेड क्यान्सरले गाँज्यो रे भनेर खबर आयो । उनलाई हेरचाह गर्ने कोही भएन । त्यसैले घरमा ल्याउनुप¥यो रे ।
जानकी झस्किन् । त्यत्रो वर्षसम्म न आफ्नो कमाइ घरमा दियो, न घरको व्यवहार समाल्यो । आफ्नो कमाइ जीवन सबै अरूलाई अर्पित ग¥यो । ती आज अरू कहाँ गए भनेर सोध्यो उनी उनको श्रीमती होइन रे । यौनसाथी मात्र रे । उनको आफ्नो संसार छ रे । जानकी त उनकी श्रीमती रे । श्रीमान्लाई हेरचाह गर्ने कर्तव्य रे । श्रीमान्को सम्पत्ति खाने, घरको वंश धानिदिने उनी नै रे । त्यसैले श्रीमान्लाई स्याहार गर्ने उनको धर्म रे । हुन पनि हो, त्यो घर जानकीको होइन, उसको लोग्ने मदनदासको हो । त्यस घरका आमाबुवा, भाइबहिनी पनि उसकै हो । जानकीले जन्माएका छोराछोरी पनि उसैका हुन् किनभने सम्पूर्ण सन्तानप्रतिको अधिकार बाबुकै हुन्छ आमाको होइन । जानकीले मनमनै सोचिन्, म त यो घरको संरक्षक घरपालुवा दासी मात्र हुँ ।
जानकी धर्मसङ्कटमा परिन् । मदनदासलाई एक्लै छाडेर जान पनि उनको धर्मले दिएन अनि उनले रोगी एउटा अशक्त, कमजोरको मद्दत गरेन भने पाप लाग्छ भन्ने सोचिन् । त्यस घरका सबै जनालाई उनको निःस्वार्थ सेवा गरिन् । सेवा गर्न एउटा बाँकी मदनदास थिए । अब जानकीले उनलाई एउटा लोग्नेको नाताले होइन निर्बल, अस्वस्थ, कमजोर मान्छेलाई सेवा
गर्ने निधो गरिन् ।
पाँच वर्षपछि मदनको रोग जानकीको राम्रो हेरचाहले पूर्ण रूपमा निर्मूल भयो । रोग निको भएको खुसियालीमा ५० औँ वर्षगाँठको अवसरमा पारी यस भव्य कार्यव्रmमको आयोजना गरिएको थियो । सबै परिवारजन आफन्त साथीभाइहरू मिली हर्ष उल्लासका साथ कार्यव्रmम मनाइयो ।
सबै जना चुपचाप भई असमञ्जस्यमा परे । त्यही बेला मौनतालाई तोडी जानकीले भनिन्, “मलाई केही पनि चाहिँदैन । यो घरका लागि मैले जति त्यो निःस्वार्थ सेवा मात्र हो । मेरो स्वार्थ भनेको यस घरका सबैलाई अपनत्व दिनु हो । मैले यस घरको संरक्षण पाउनु नै मेरो स्वार्थपूर्ति हो । अब म यो मेरो अपनत्वलाई त्याग गर्छु । मलाई यस घरबाट छुटकारा देऊ, मलाई मात्र यस घरको सदस्यलाई स्याहारसुसार गरेको, घरको संरक्षण गरेको र वंश चल सन्तान दिएबापत उचित ज्याला मात्र दिए पुग्छ । मधुपर्क