• १ जेठ २०८१, मङ्गलबार

स्थानीय तहले ल्याए बजेट

blog

मधेश प्रदेश ब्युरो

जनकपुर, असार ११ गते । मधेश प्रदेशभित्रका स्थानीय तहले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका छन् । प्रदेशमा महानगरपालिका एक, उपमहानगरपालिका तीन, नगरपालिका ७३ र गाउँपालिका ५१ गरी १३६ वटा स्थानीय तह रहेका छन् । 

जनकपुरधामको बजेट एक अर्ब ८० करोड ७१ लाख

धनुषा समाचारदाताका अनुसार, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले जनकपुरधाम उपमहानगरपालिको आठौँ नगर सभामा आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि एक अर्ब ८० करोड ७१ लाख ४५ हजार रुपियाँको अनुमानित बजेट प्रस्तुत गर्नुभएको छ । 

प्रस्तुत बजेटमध्ये चालूतर्फ एक अर्ब सात करोड ४१ लाख २७ हजार र पुँजीगततर्फ ७३ करोड ३० लाख १८ हजार रुपियाँ रहेको छ । नगरप्रमुख साहले आर्थिक वर्ष २०७९/०८० का लागि प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र बजेटमा नगरको फोहोरमैला व्यवस्थापनलाई प्राथमिकता दिनुभएको छ । त्यसैगरी पर्यटन तथा नगरक्षेत्रको सुन्दरता प्रवद्र्धन, शिक्षा, युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै प्रमुख साहले अबको पाँच वर्षमा जनकपुरधामको अनुहार फेरिने गरी काम हुने र त्यसमा सबै क्षेत्रको सहयोग आवश्यक भएको बताउनुभयो । 

राजविराजको एक अर्बको बजेट

राजविराज समाचारदाताका अनुसार, राजविराज नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि एक अर्ब ६२ लाख ८० हजार रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख भीमराज यादवले सार्वजनिक गर्नुभएको अनुमानित बजेटमा वित्तीय सामान्यीकरणतर्फ २२ करोड ९९ हजार, ससर्त अनुदानतर्फ ३५ करोड ७५ लाख, विशेष अनुदानतर्फ आठ करोड पाँच लाख, राजस्व बाँडफाँटतर्फ १३ करोड ११ लाख, ८० हजार, प्रदेश सरकारबाट तीन करोड, आन्तरिक स्रोतबाट तीन करोड, ९९ लाख र सरकारी, गैरसरकारी, सङ्घसंस्थातर्फ एक करोड ७५ लाख गरी जम्मा एक अर्ब ६२ लाख ८० हजारको बजेट सार्वजनिक गरिएको छ । वर्षौंदेखि उपेक्षित रहेको राजविराज नगरपालिकाले अब विकास मात्र देख्ने भन्दै राजविराज नगरपालिकालाई शैक्षिक, धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्नेगरी बजेट ल्याइएको बताउनुभयो । 

लालबन्दीको बजेट एक अर्ब २५ करोड 

सर्लाही समाचारदाताका अनुसार, सर्लाहीको लालबन्दी नगरपालिका नगरप्रमुख वासुदेव अधिकारीले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि एक अर्ब २५ करोड पाँच लाख ४४ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । प्रस्तुत बजेटमा ससर्ततर्फ ७३ करोड २२ लाख रुपियाँ र निसर्ततर्फ ५१ करोड ८३ लाख ४४ हजार रुपियाँ विनियोजन गरिएको छ । नगरपालिकाको कुल बजेटमध्ये अधिकांश बजेट सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने ससर्त अनुदानमा केन्द्रित रहेको छ । 

खडकले ल्यायो ८३ करोडको बजेट

सप्तरी समाचारदाताका अनुसार, खडक नगरपालिकाको शुक्रबार सम्पन्न ११ औँ नगर सभाले आर्थिक वर्ष २०७९/०८० को लागि ८३ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख जयप्रकाश चौधरीले आर्थिक वर्ष २०७९/०८० को कुुल बजेट ८३ करोड ५८ लाख, ४१ हजार रुपियाँ रहेको जानकारी दिनुभयो । नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट १५ करोड एक लाख, सर्सत अनुदानबाट २७ करोड ६२ लाख, राजस्व बाँडफाँडबाट ११ करोड ४८ लाख ८९ हजार, प्रदेश सरकारबाट वित्तीय समानीकरण ९१ लाख ६२ हजार र सवारीसाधन बाँडफाँडबाट ७० लाख, सङ्घीय सरकार विशेष अनुदानबाट एक करोड, सङ्घीय सरकार समपूरक अनुदानबाट २० लाख र अन्य आम्दानी गरी कुुल आम्दानी ८३ करोड ५८ लाख ४१ हजार रुपियाँको विषयगत क्षेत्र तथा कुुल आय र व्ययको अनुमानित विनियोजनसम्बन्धी विवरण प्रस्तुत गरिएको छ । 

जनकनन्दिनीको ४७ करोड

धनुषा समाचारदाताका अनुसार, धनुषाको जनकनन्दिनी गाउँपालिकाका उपाध्यक्ष कमला सहगलले आर्थिक वर्ष २०७९÷०८० को लागि ४७ करोड २९ लाख ९६ हजार रुपियाँको अनुमानित बजेट प्रस्तुत गर्नुभएको छ ।

लहानको बजेट एक अर्ब पच्चीस करोड

लहान समाचारदाताका अनुसार, सङ्घीय सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरीले लहान नगरपालिकाको २४ वटै वडामा ‘एक घर एक धारा’ कार्यक्रममार्फत शुद्ध खानेपानी पु¥याउने बताउनुभएको छ ।

 लहान नगरपालिकाको दशाँै नगर सभालाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । ‘हाम्रो लहान–सुन्दर, समुन्नत सभ्य लहान’ को नारा दिएर सुरु भएको नगर सभाबाट जनमुखी र विकासमुखी योजनाहरू आएको मन्त्री चौधरीले प्रशंसा गर्दै खानेपानी मन्त्रालयबाट लहान नगरपालिकाको उत्तरी भेगमा देखिएको खानेपानीको समस्या समाधान र ढल निकासको लागि आवश्यक बजेट दिएर सहयोग गरिने बताउनुभयो । 

मन्त्री चौधरीले भन्नुभयो, मधेश प्रदेशको आठवटै जिल्लाको उत्तरी भेगमा रहेको खानेपानीको समस्या समाधान गर्न लागि परेका छाँै । खानेपानीको समस्या समाधान गर्न प्रदेश सरकार र स्थानीय तहसँग समेत समन्वयको काम भइरहेको छ । 

नगर सभामा लहान नगरप्रमुख महेशप्रसाद चौधरीले आर्थिक वर्ष २०७९/८० को लागि एक अर्ब २६ करोड, ९१ लाख ३० हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभयो । व्ययतर्फ चालू खर्च ३४ करोड एक लाख पचास हजार, ससर्त चालू कार्यक्रमतर्फ ३५ करोड ८३ लाख र पुँजीगत खर्च ५७ करोड छ लाख ८० हजार रहेको छ । 

तिलाठी कोइलाडीको ४४ करोड ८२ लाख 

सप्तरी समाचारदाताका अनुसार, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको आव ०७९/०८० को कुल बजेट ४४ करोड ८२ लाख २० हजार चार सय रुपियाँ रहेको छ । कुल बजेटको चालूतर्फ २५ करोड ८५ लाख ११ हजार ६५० रुपियाँ र पूँजिगत तर्फ १८ करोड ९७ लाख आठ हजार ७५० रुपियाँ रहेको छ । तिलाठी कोइलाडी गाउँपालिकाको कुल आन्तरिक आम्दानी ६० लाख रुपियाँ प्रस्ताव गरिएको गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले बताउनुभयो । कुल बजेटमा सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फ १२ करोड ८२ लाख र ससर्त अनुदानतर्फ १७ करोड ७२ लाख, राजस्व बाँडफाँडबाट आठ करोड २३ लाख ३७ हजार, समपुरक अनुदान एक करोड रहेको छ ।

(धीरेन्द्रप्रसाद साह-जनकपुर, देवरामप्रसाद यादव-सप्तरी, जनार्जन खत्री÷सर्लाही, माला कर्ण-कल्याणपुर समाचारदाताको सहयोगमा )